रोनाल्डोको काँधमा पोर्तुगेली दायित्व

 शैलेन्द्र छेत्री


रोनाल्डो निश्चित रूपले विश्वकै सबैभन्दा राम्रो खेलाड़ी, पेले केही अहंकारी, केही छुच्चा तर गोलकै पछि लागिपर्ने रोनाल्डो भनेकै अहिलेको पोर्तुगेली टीम हो। रोनाल्डो अर्थात् पोर्तुगल। टीमका लागि प्रशिक्षक फर्नान्डो स्यान्टोसको ब्रह्माशास्त्र। अन्य खेलाड़ीका लागि प्रेरणा। भनौं टीमको अभिभावक। पछिल्ला केही वर्षयता रोनाल्डोले अच्चाकाली राम्रो फुटबल खेलिरहेका छन्।

धेरै अवसरमा भाग्यमानी पनि प्रमाणित भएका छन्। भाग्यको कुरालाई एकाध अवसरमा रोनाल्डोले समेत स्वीकारेका छन्। एउटा भनाइ छ, ‘मिहिनेतीलाई नै भाग्यले पनि साथ दिन्छ। अल्छेहरू त आफ्नै निधारलाई दोष्याउँदै बस्छन्।’ तपाईंले रोनाल्डो खेलिरहेको नजिकबाट हेर्नुभए, यी 6 फुट 1 इन्च उँचाइ भएका खेलाड़ीले कति मिहिनेत गर्छन् गोल गर्नका लागि, त्यो थाहा पाउनुहुनेछ।

चाहे त्यो मिहिनेतमा आफैले मात्र गोल गर्न खोजिबस्ने ‘सेल्फिसनेस’ नै किन नदेखियोस्। 33 वर्ष पुगिसकेका रोनाल्डोको सम्भवतः यो अन्तिम विश्वकप हो। अर्को विश्वकप आइपुग्दा उनी 37 वर्षका हुनेछन्, जुन उमेर प्रतिस्पर्धी फुटबलका ठीक जँच्ने उमेर होइन। ‘नाम र काम’-लाई हेरेर आउँदो विश्वकपमा स्थान पाइहाले तापनि खेलको अधिकांश समय मैदानबाहिर बेन्चमा बस्नुपर्ने निश्चित छ।

त्यसैले रोनाल्डोले जे गर्नुछ, यो विश्वकपमै गर्नुपर्छ। आफ्नो श्रेष्ठता प्रमाणित गर्नहेतु यी खँदिला खेलाड़ीका लागि यो अन्तिम मौका हो, यसमा दुईमत छैन। यदि रोनाल्डोले पोर्तुगललाई विश्वकप दिलाए, उनी प्रशंसकहरूका लागि ‘भगवान्’ हुनेछन्। ‘अहंकार’ र ‘सेल्फिसनेस’-को अर्थ लाग्नेछ, तर जिताउन नसके… रोनाल्डो आफ्ना लागि आफै अभागी बन्नेछन्।

मेस्सीभन्दा बढ़ी यी सुपरस्टारको फ्यान एन्ड फलोअर्स छन्। पोर्तुगलवासीको पीड़ा देशले अहिलेसम्म विश्वकप जित्ननसक्नु हो। पोर्तुगल अहिलेसम्म विश्वकपको फाइनलसम्म पनि पुग्नसकेको छैन। दुईपटक अन्तिम चारमै अल्झेको छ। यसैले पनि सबैको आँखा अहिले रोनाल्डोमाथि गाड़िएको छ। सबैको आशा-भरोसा रोनाल्डोमाथि अड़ेको छ।

स्यान्टोसले टीममा पाको र युवा खेलाड़ीको राम्रो संयोजन मिलाएका छन्। पेपे (35), ब्रुनो अल्भेस (36), रिकार्डो क्वारेस्मा (34), जोस फोन्टे (34), आदिका लागि यो निश्चित रूपले अन्तिम विश्वकप हो। रोनाल्डो बुझ्छन्, ‘विश्वकप जित्नु भनेको आफूसँगै आफ्ना यी साथी खेलाड़ीहरूका लागि करिअरकै स्वर्णिम विदाई हो।’ असम्भव भन्ने कुरा केही छैन।

पोर्तुगलले विषम परिस्थितिबीच युरो कप जितिसकेको छ। टीमले राम्रो खेलिरहेको छ। बलियो फ्रान्सलाई उसकै मैदानमा पराजित गरी पछिल्लो युरो कपको उपाधि पोर्तुगलले उचाल्न अघि कसैले सोचेका थिएनन्, ‘पोर्तुगल युरो च्याम्पियन बन्नेछ।’ यसबाट पनि प्रमाणित हुन्छ, कागजमा मात्र टीम बलियो भएर हुँदैन। मैदानमा जसले श्रेष्ठ प्रदर्शन गर्छ, म्याच त्यो टीमले नै जित्नेछ।

“रोनाल्डोले गोल गरिरहेको हेर्नु राम्रो लाग्छ। उनी हेडले पनि दर्शनीय गोल गर्छन्”, केही वर्ष अघि रोनाल्डो र मेस्सीबारे सोधिएको प्रश्नमा रोनाल्डोको सन्दर्भमा पेलेले भनेका हुन्, यो वाक्य। दुवै खुट्टा समान चलाउन सक्ने रोनाल्डोले हेडले पनि दर्शनीय गोल गर्छन्। वर्तमान समयमा हेडले दर्शनीय गोल गर्ने उनी सबैभन्दा माथिका खेलाड़ी हुन्। बललाई लिएर द्रूत गतिमा दौड़िन्छन् उनी। बललाई नचाउने र विपक्षी खेलाड़ीहरूलाई छक्काएर पास दिने अद्भूत कला छ रोनाल्डोसँग। त्यस्तै राम्रो फ्रीकिक् हिर्काउँछन्।

चानचुनै खेलेर पाँचपटक विश्वका सर्वोत्कृष्ट खेलाड़ी भएका होइनन्, रोनाल्डो। रियलले लगातार तीनपटक च्याम्पियन लीगको उपाधि उचाल्दा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने यी जब्बर खेलाड़ीको आत्मविश्वास अहिले उच्च छ। मेस्सीझैं रोनाल्डोले पनि आफ्नो श्रेष्ठता प्रमाणित गर्ने आवश्यकता छैन, तर उनले आफ्नो देशलाई विश्वकप दिलाउन नसके यो श्रेष्ठता कहीं कतै अधुरै रहनेछ।

यो कुरा रोनाल्डोबाहेक कसले पो राम्रो गरी बुझेका छन्। पोर्तुगलसँग अहिले युसेबियो छैनन्, जसले आफ्नो बलबुतामा पोर्तुगललाई सन् 1966-को विश्वकपमा सेमिफाइनलसम्म पुर्‍याएका थिए। न त आफ्नो कौशलले ख्याती कमाएका लुइस फिगो र पाउलेटा नै छन्। अहिले छन् त केवल रोनाल्डो। जे गर्नुछ, उनैले आफ्ना साथी खेलाड़ीहरूलाई आफूसँगै लिएर गर्नुछ।

खुल्ला आँखाले देखेको ‘सपना’ एकदिन पुग्छ, उनलाई थाहा छ। युरो रोनाल्डोहरूले खुल्ला आँखाले देखेको सपना थियो, पुग्यो। विश्वकपको उपाधि पनि स्यान्टोस, रोनाल्डो, पेपे र पेट्रेसियोहरूले खुल्ला आँखाले देखेको सपना हो, अब यसलाई पूरा गर्नका लागि सामूहिक रूपले मिहिनेत गर्नुपर्छ। यो मिहिनेतमा रोनाल्डोको भागीदारी अरूभन्दा निश्चिय बढ़ी हुनुहुन्छ, किनभने उनी ठूला खेलाड़ी हुन्।

ठूला खेलाड़ीले ठूलै दायित्व निर्वाह गर्नुपर्छ। रोनाल्डोको आँखा अघि 2006-को जर्मनी विश्वकपको सेमिफाइनलको दृश्य आज पनि नाच्दो हो, झल्झली। पीड़ाको भक्कानो र रोनाल्डोको आँखाबाट बगेको आँसुको धारा अहिले पनि फुटबलप्रेमीहरूले बिर्सेका छैनन्। जे भयो त्यो विगत थियो, वर्तमान र भविष्य त रूस विश्वकप हो।

विगतलाई सम्झेर रोइरहनेहरूमा रोनाल्डो अवश्यै पर्दैनन्। रोनाल्डोलाई हेरेर वर्तमान म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जो मोरिन्होले भनेका छन्, ‘पोर्तुगलका लागि सबै सम्भव छ।’ यो भनाइ र भनाइमा निहीत आशा-भरोसा केवल मोरिन्होको मात्र होइन, उनलाई मन पराउने र पोर्तुगललाई चीयर्स गर्ने ती करोड़ौं प्रशंसकको हो, जसले रोनाल्डोको हातमा विश्वकपको उपाधि देख्न चाहन्छन्।

यो त्यतिबेला सम्भव छ, जतिबेला रोनाल्डोले साँच्चै आफ्नो ख्यातीअनुरूप सर्वश्रेष्ठ प्रदर्शन गर्नेछन्। ‘गोल स्कोरिङ रेट’-लाई अझ जिउँदो र तीव्र पार्नेछन्। आखिर विश्वका करोड़ौं प्रशंसक चाहन्छन्, ‘रोनाल्डोहरूले विश्वकप जिऊन्।’

नाम : क्रिस्टियानो रोनाल्डो

जन्ममिति: 5 फरवरी 1985

जन्मस्थान: मेडिरा पोर्तुगल

उँचाइ: 6 फुट 1 इन्च

खेल्ने पोजिशन:विङ्गर/स्ट्राइकर

वर्तमान क्लब : रियल म्याड्रिड जर्सी

सङ्ख्या: 7

कुल क्लब म्याच: 761

कुल क्लब गोल: 573

अन्तरराष्ट्रिय म्याच: 149

कुल गोल सङ्ख्या: 81

विश्वकपमा उपस्थिति: चारपटक (रूस विश्वकपसहित)

विश्वका कुल म्याच: 13

विश्वकपमा गोल सङ्ख्या: 3

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares