म्याराथनमा प्रताप

पर्वत पोर्तेल 


दार्जीलिङ सुकेपोखरीमा जन्मिए, प्रताप सुब्बा । ७२ वर्षमा पनि सक्रियता उस्तै छ । यो बुढ्यौली उमेरमा पनि यिनी अथक छन् । प्रेमपूर्वक काम गर्दा कहिल्यै थकान मान्दैनन् । बरु काम गर्न नपाउँदाचाहिँ बिरामी भइहाल्छन् ।

बालसखाहरूसँग कहिलेकाहीं भेट हुन्छ यिनको । भन्दारहेछन्, ‘सानोमा तेरो रुचि जे थियो, जे खेल्थिस् त्यस्तै भइस् है ।’ खाटमुनिको अध्यारोमा फिल्मको टुक्रा देखाउने, टिकट काट्ने, आमाको सलको सेतो पर्दा बनाएर बत्ती बालेर फिल्म देखाउनेजस्ता काम गरे । जसलाई समाजले ‘उट्पट्याङ’ ठान्यो । बाबुआमाको हप्कीदप्की खेप्नुपर्‍यो । तर, कालान्तरमा त्यो उट्पटयाङ केटो नेपाली फिल्मी दुनियाँमा यसरी उदायो कि सबै चकित भए ।

सुब्बा स्कुले कालमा थोरबहुत गीत पनि गुन्गुनाउँथे । डीबी परियारले ‘सत्य हरिश्चन्द्र’ बनाउने बेलामा यिनले गायकको रूपमा अडिसन दिएका थिए दार्जीलिङको एउटा होटलमा । तर, स्वर कापेर बेसुरा भएर रिजेक्ट भए । सम्झन्छन्, ‘त्यो बेला रिजेक्ट नभएको भए आज म फिल्म निर्देशक होइन, गायक हुन्थें सायद ।’

त्यो असफलतापछि यिनको बाटो मोडियो । गायक बन्ने सपनालाई गोली मारेर यिनी नाटक क्षेत्रमा घुसे । नाटकमा पनि कलाकारको रूपमा कहाँ हो र ! मञ्च व्यवस्थापनमा पो । त्यो समय दार्जीलिङमा प्रशस्तै नाटक हुन्थ्यो । मञ्च बनाउँदाबनाउँदै नाटक पनि खेल्न थाले । पछि फिल्मतिर छिरे । फिल्ममा कसरी आए भन्नेबारे यिनी आफैं अनभिज्ञ छन् । यति मात्रै भन्छन्, ‘सायद खप्परमै फिल्म लेखेको थिएछ ।’

करिब पाँच दशकदेखि यिनी निरन्तर फिल्म क्षेत्रमा जमेर बसेका छन्, हिमालको हिउँझैं । फिल्म क्षेत्रमा आमाबाट सहयोग पाए । डकुमेन्ट्री फिल्मका लागि कोलकाता गए । बंगाली भाषा सिके अनि फर्किए ।

यिनका आमा दुइटी । एउटी जन्म दिने, अर्की कर्म दिने । जन्म दिने आमासँग बस्दा धेरै लाडिएछन् । त्यसैले छोरो बेकामे पो बन्ने हो कि भन्ने त्रासले ठूलीआमाले सुकेपोखरीबाट पढाउन पुर्‍याइन् दार्जीलिङ ।

यिनका बुबा ब्रिटिसकालमै भूमिसुधार विभागका इन्स्पेक्टर थिए । साह्रै कडा अनुशासन थियो बुबाको । बुबाले छोरालाई सरकारी जागिरे बनाउने धेरै प्रयत्न गरे । तर, खेर गयो । किनकि प्रतापलाई सरकारी जागिरप्रति दिलचश्पी नै थिएन । उनको सोच, विचार भिन्न थियो । भगीरथ प्रयत्न गर्दा पनि छोरालाई जागिरे बनाउन नसकेपछि वाक्क भएर बुबाले भनेछन्, ‘जे गर्छस् आफ्नो खुसीले गर ।’

सानैदेखि फिल्म बनाउने यिनको सपनालाई बुबाले ‘ग्रिन सिग्नल’ दिए । त्यसपछि प्रतापले फिल्मी समुद्रमा झ्वाम्मै हाम फाले । ‘म अझै पनि समुद्रमै पौडिरहेको छु,’ उनी भन्छन्, ‘पार हुन अझै कति समय लाग्छ मलाई थाहा छैन ।’

सन् १९७८ मा ‘परालको आगो’ बनाए । त्यो बेला भाषा, संस्कृतिप्रति दार्जिलिङे समाज एक ढिक्का थियो रे । ‘ऊर्जा मिल्थ्यो काम गर्न, गर्नुस् भाइ हामी सघाउँछौं भन्थे,’ प्रताप सम्झन्छन्, ‘अहिले त खै कस्तो जमाना आयो हौ, जसले जेसुकै गरोस् मतलब नै छैन ।’ उनलाई यतिबेला लागेको छ, दुुनियाँ साह्रै मतलबी बन्दै गएको छ ।

परालकै आगोले प्रताप सुब्बा बनायो । पछि ‘बाँच्न चाहनेहरू’ बनाए । तर, खास चलेन । जति परालको आगो चल्यो । दार्जीलिङबाट बन्यो परालको आगो । गुरुप्रसाद मैनालीको कथा स्कुलदेखि नै मन परेको थियो प्रतापलाई । फिल्म बनाउने भित्री इच्छा थियो ।

चामे, गौथली । कलाकार टङ्क शर्मालाई देख्दा चामे दाजु यही हुनुपर्छ भनेर जिस्क्याउँथे । नभन्दै भविष्यमा उनैलाई चामे बनाए । सत्य हरिश्चन्द्र पहिलो नेपाली फिल्म मानिन्छ । तर, प्रताप सुब्बा त्यो मान्न तयार छैनन् । पहिलो नेपाली फिल्म ‘परालको आगो’ हो भन्ने प्रतापको दाबी छ । ‘इन्डियन सिनेमा हिस्ट्री’ नामक पुस्तकमा नेपाली भाषाको फिल्म ‘परालको आगो’ भनेर उल्लेख गरिएको छ । त्यो समय नेपाली भाषा बुझ्ने, बोल्नेहरू २ प्रतिशत मात्रै थिए भारतमा । त्यसकारण नेपाली फिल्म कम बन्थ्यो, दर्शक कम थिए । सत्य हरिश्चन्द्रचाहिँ हिन्दी फिल्मको ‘डबिङ’ मात्रै हो भन्छन् प्रताप ।
***

प्रतापको जीवनमा एउटा यस्तो समय आइलाग्यो, जतिबेला उनी मेची तरेर नेपालतिर हान्निए । दार्जीलिङका धेरै स्रष्टा, सर्जकले यसअघि नै दार्जीलिङलाई माया मारिसकेका थिए । तर, उनलाई चाहिँ दार्जीलिङ छाड्ने मन नै थिएन । तर, बाध्यताले नेपाल पसे ।

यिनी जुन बेला नेपाल पसे त्यो बेला दार्जीलिङमा सुवास घिसिङहरूले अलग राज्य गोर्खाल्यान्डको आगो बलिरहेको थियो । त्यही समय अथात सन् ८० को दशकमा यिनले ‘कहीं अँध्यारो कहीं उज्यालो’ नामक फिचर फिल्म बनाएका थिए । आन्दोलनका कारण दार्जीलिङमा रिलिज हुन पाएन । कम्युनिस्टको फिल्म भनेर प्रतिबन्ध लगाइयो ।
पश्चिम बङ्गालमा वामपन्थीको सरकार थियो । मुख्यमन्त्री थिए, ज्योति बसु । उनले नेपाली फिल्मको उन्नयनका लागि भनेर डेढ लाख रुपैयाँ अनुदान दिएका थिए । यसैलाई विपक्षीहरूले ठूलो मुद्दा बनाएर कम्युनिस्टको फिल्म भन्ने आरोप लगाए ।

उनले काठमाडौं पुगेपछि पहिलो पटक नीर शाहसँग भेटे । नीर त्यो समय नेपाल टेलिभिजनका जीएम थिए । नीरसँग उनको पुरानै चिनजान थियो । प्रतापले फिल्मी करियरकै पहिलो डकुमेन्ट्री फिल्म ‘पोनी ब्वाय अफ दार्जीलिङ’ मा नीरलाई ब्रेक दिएका थिए । त्यो पुरानो चिनजानले प्रतापलाई काठमाडौं बस्न सहज भयो । नीरले प्रतापलाई नेपालमै बसेर कलात्मक फिल्म बनाउन अनुरोध गरे । नीरले केही टेलिफिल्म निर्देशनमा प्रतापलाई संलग्न गराए । एउटा एपिसोडको ११ हजार तलब दिएका थिए ।

चलचित्र संस्थानका डीबी थापाले यिनलाई साह्रै माया गरे । त्यही हौसलाले काठमाडौंमा यिनलाई टिकायो । जसका कारण दिदी, चट्याङ, भीष्म प्रतिज्ञा, वचन, दोबाटोजस्ता फिल्म बनाए । डाइमन्ड फिल्म इन्स्टिच्युट सञ्चालन गरे ।

अन्तत: गोर्खाल्यान्ड आन्दोलनको समयमा घर छाडेर हिँडेका प्रताप १५ वर्षपछि दार्जीलिङ फर्किए । उनी फर्किंदा आन्दोलन तुहिसकेको थियो । अहिले यिनले आफ्नो थातथलो दार्जीलिङ छाडेका छैनन् । सानोतिनो फिल्महरू गरिरहेका छन् । केही नगरी बस्नै सक्दैनन् । यिनले भर्खरै ‘याद तिम्रो आयो’ भन्ने लभ स्टोरी फिल्म बनाए ।

पहिलाभन्दा अहिले नेपाली धेरै कुराले अब्बल बन्न थालेको छ । पेट्रन चेन्ज भएको छ । अभिनय पनि राम्रो छ । लुट, कवड्डी, पशुपति प्रसाद, जात्राजस्ता पछिल्लो समयका फिल्मले आशा जगाएको ठान्छन् यिनी । दयाहाङ राईको अभिनय अब्बल लाग्छ प्रतापलाई ।

केही समयअघि एटीएम, चपली हाइटजस्ता फिल्मले नेपाली फिल्म क्षेत्रलाई झन्डै ध्वस्त पारेको सम्झना छ यिनलाई । ‘यस्ता फिल्महरू बमजस्तै हुन् क्षणभरमै ध्वस्त पार्ने,’ प्रताप आक्रोश पोख्छन्, ‘नेपाली समाजका बग्रेल्ती विषयहरू छन्, हिन्दीको कपी गरियो भने हाम्रो फिल्मले मौलिकता गुमाउँछ ।’

५ दशकभन्दा बढी समयदेखि फिल्मी दुनियाँमा रमाएका यिनले फिल्मबाट कति कमाए होलान् ? जिज्ञासा लाग्नु स्वाभाविक नै हो । भन्छन्, ‘सम्मान र इज्जत पाएँ, पैसा त कमाउन सकिनँ । नेपाली फिल्म जगत्मा जुन सम्मान प्राप्त भएको छ, त्यो सबभन्दा ठूलो कमाइ मेरा लागि केही पनि होइन । ’

***

सुब्बालाई लाग्छ, गोर्खाल्यान्ड आन्दोलनले भाषा, संस्कृति, एकता सबै खत्तम पारेको छ । २०, २१ वर्षको लक्का तन्नेरीको फिल्ममा हिरो बन्ने इच्छा पूरा हुन पाएको छैन । ‘हिरो बन्छु भन्दाभन्दै बाबुको रोल पनि नपाएको अवस्था छ,’ सुब्बा गम्भीर बन्छन्, ‘बाजेको रोल पाउँला कि भनेर बस्नेहरू फटाफट मर्दै छन् ।’

नेपालतिर पो गयो भने केही होला कि भन्ने सोच धेरैको रहेको सुब्बाले सुनाए । सिक्किमतिर पो होला कि भनेर उता पनि पस्दै छन् । यिनलाई लाग्छ, नेपालमा सङ्घर्ष गर्न गाह्रो छ । सिक्किमले त्यही माया गर्दैन ।

कलाकारिताको माध्यमबाट सुब्बाले नेपाल–भारत सम्बन्धको साँघु बनाए । कलाकारितालाई भौगोलिक सिमानाले छेक्दैन भन्छन् । पहिलो फिल्म ‘परालको आगो’ मा गौंथलीका लागि नेपालबाट बसुन्धरा भुसाल झिकाएर ल्याए । नेपालबाट कलाकार ल्याएको भनेर यिनको खेदो पनि खनियो ।

पछि ‘मसाल’ मा सुशीला रायमाझीलाई पनि ल्याए ।
प्रताप फिल्म बनाउन छाडेका छैनन् । म्याराथनमा दौडिरहेका छन् । नयाँ पुस्तालाई पछ्याइरहेका छन् । भलै भेट्न नसके पनि निरन्तर दौडिरहेका छन् । सुब्बाको अन्तिम इच्छा छ, अग्र्यानिक स्वादको नेपाली फिल्म बनाएर मात्रै मर्ने । अधुरै छुजस्तो लाग्छ यिनलाई । ‘भित्री मनले अधुरै छस् भन्छ,’ उनी टुंग्यौनीमा पुग्छन्, ‘अग्र्यानिक फिल्म बनाएर मर्न पाउँदा बल्ल आनन्द मिल्छ होला ।’


कान्तिपुर, कोसेली-बाट साभार

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares