सम्झनामा सम्हालेर राखिएको अम्बर

शान्ति ठटाल


आधुनिक नेपाली सङ्गीत प्रणेता अम्बर गुरुङ अस्तहीन नाम हुन् । श्रीशारदा माताका आशीर्वाद–स्नेहका परिणाम हुन्, आफ्नै नीति–निर्धारणका सफल उद्यम हुन् । नेपाली सङ्गीत–बारीमा भनेजस्तो मलपानी नपुगेको अवस्थाबाट सङ्गीत–यात्राका सङ्घर्ष गर्दै अम्बर उदाएका थिए । युगले खोजेको सिर्जनाका लागि आँसु–पसिना–रगत अर्पेर नितान्त नौला–नौला प्रयोगात्मक कलाको निर्माण गर्दै सङ्गीतप्रेमी हृदयमा बास पाउन सफल पूजनीय प्रतिभा हुन् अम्बर ।

२०७२ जेठ २५ । बिहान २ बजेर ३५ मिनेटमा अम्बरको जीवनयात्रा टुङ्गिएको असह्य दु:खद सन्देश फैलियो— व्यक्ति–व्यक्ति, घर–घर, गाउँबस्ती, सहरभरि अनि अम्बर व्याप्त अनन्त अम्बरभरि । एकक्षण सबै स्तब्ध भए, कति जनाले त ‘साँच्चै हो के ?’ भन्ने प्रश्न पनि उठाए । कुरा साँचो थियो, ईश्वरले आफ्ना बहुमूल्य रत्न आफ्ना काखमा उठाए ।
घटनाको दोस्रो बिहान टोरेन्टोबाट फोनबाट प्रश्न आउन थाले, ‘तपाईंले उहाँका कनु–कुन गीत गाउनुभयो ?’

त्यसरी नै स्थानीय च्यानल र पत्रकारहरूले धेरै प्रश्नहरू उठाइरहे, सोधनीको क्रम केही दिनसम्म चलिरह्यो । उत्तरमा मैले जानेजति कुरा सबैलाई भन्दै गएँ ।

गत पाँच दशकदेखिभन्दा बढी नेपाल भूमिलाई आफ्नो ठानेर अम्बर त्यहीं बाँचे, त्यहींको माटो सुहाउँदिला गीत रचना गरे, गाए, सिकाए, बाटो देखाए, हुँदाहुँदा त्यहींको राष्ट्रिय गीतको धून पनि बनाए, राष्ट्रियता चिनाए अनि राष्ट्रिय सम्मानसित शवयात्राको सहभागी भए ।

नेपाल राष्ट्रका अनमोल धन भएर पनि उनका यात्रान्तमा दार्जीलिङ किन रोयो ? किन घाइते भयो ? गाउँ–गाउँ, बस्ती, चियाबारी, समाज, सङ्घ, संस्थानले शोकसभाको आयोजना किन गरे ? उनी हृदयले नेपाली थिए, विवेकले जातिभक्त थिए । जता बसे पनि जातिका सोचनीय अवस्थामा उनी रोए, संसारभरिका नेपाली सन्तानका भक्त थिए । यसैले यसो भन्दा हुन्छ, ‘गायक, शब्दकार, सङ्गीतकार अम्बर गुरुङ हिजोसम्म नेपालभित्र थिए, आज प्रत्येक नेपालीको हृदयभित्र छन् ।’

नेपाली सङ्गीतको जन्म चालीसको दशकदेखि नै भएको हुनाले सङ्गीत–संसारका अग्रजहरूका महत्त्वपूर्ण मार्गनिर्देशनकै परिणामस्वरूप पछिका पुस्ताहरूलाई ठूलो उपलब्धि भयो । अनि, हामी पछि आउनेका लागि उनीहरू साँच्चै सम्माननीय छन्, रहनेछन् ।

भाग्सु, देहरादून, नेपाल, दार्जीलिङका त्यस समयका गीतहरू आकाशवाणी दिल्ली, रेडियो नेपाल आदिबाट गुञ्जायमान नभएका होइनन् । यिनै प्राप्तिकै फलस्वरूप हामीलाई नेपाली गीत गाउने रहर जाग्यो र गाउन थालियो । त्यसरी नै अनेपाली भाषामा सुनिने गीतहरू पनि हाम्रा प्रेरणाका स्रोत थिए ।

तर, हाम्रा गीत र गायनमा मौलिकताको अभाव अनुभव गरियो । यस्तै क्रममा सन् १९५७ तिर कवि अगमसिंह गिरीले अरूका पीडा आफ्नै सम्झेर असह्य हुँदै हिँडिरहेका बेलामा नै विशेष गरेर ‘नौ लाख तारा उदाए…’ नामक गीतको जन्म भयो ।

कवि गिरीका सहकर्मी, सहपाठी, शुभचिन्तक उनैका कर्मथलो भानुभक्त बुनियादी पाठशाला (दार्जीलिङ) भेला हुने गर्थे । गलबन्दी पहिरिएर भेलाकक्षमा प्रवेश गरेका कवि गिरीले गोजीबाट एउटा सशक्त भाव पक्षले सुुसज्जित एउटा पन्ना दिए गायक–सङ्गीतकार अम्बर गुरुङलाई । यसलाई संसारैभरिका नेपाली जनजीवनको क्रन्दनमाथि गीतकारका सशक्त भावनाले सजिएको अत्यन्त शक्तिशाली गीत मात्र नमानेर पहिलो नेपाली मौलिक गीत मानिन्छ ।

यसो भन्दा हुन्छ— ‘नौ लाख तारा उदाए…’ नै गायक–सङ्गीतकार अम्बरका परिश्रम–प्रतिभाको प्रथम सफल निर्माण हो । यो गीतले गायक, सङ्गीतकार अनि गीतकारलाई अमर बनाएको कुरा पनि सत्य मान्नुपर्छ । साङ्गीतिक यात्राको पहिलो सफल रचना अनि गायनको गाम्भीर्य यसै गीतबाट भयो । यति ठूलो उपलब्धिपछि गायक–सङ्गीतकारले कुनै पनि परिस्थितिमा पछि फर्केर हेरेनन्, बरु अझै उचाइ खोज्दै गए, जातीय अस्तित्वसित सम्बन्धित यस गीतबारे धेरै जना विद्वान्–विचारकले आ–आफ्ना मत प्रकट गरेका छन् ।

‘ए कान्छा मलाई सुनको तारा खसाई देऊ न…’ पनि यस्तै अर्को नेपाली भाकाको मौलिक गीत दार्जीलिङे गीत हो । गायिका अरुणा लामा अनि गायक रुद्र गुरुङले खुबै मिठास भरेर गाएका छन् ।

***

दार्जीलिङमा पश्चिमबङ्गाल सरकारले लोक मनोरञ्जन शाखा नामक सांस्कृतिक विभागको स्थापना गर्दा म पनि गायिकाका रूपमा मनोनीत भएर अम्बरकै मार्गनिर्दशनमा काम गर्न थालें ।

उनले लोकलयमा आधारित गीत अनि लोकनृत्य लिएर विभिन्न चियाबारी बस्तीमा सङ्घर्षरत जीवन बिताइरहेका जनजीवनलाई मनोरञ्जन दिन कार्यक्रम प्रस्तुत गरिन्थ्यो, चियाबारी–बस्तीका मानिसहरू साँच्चै रमाइलो मान्थे । अनि, ‘नौ लाख तारा उदाए…’ गीत गाउने कलाकार को होलान् (?) भनेर हेर्नकै लागि पनि बूढाबूढीहरू लौरो टेकेर आउँथे ।

हो, सङ्गीतको सीमा छैन तर एउटा मान्छेले आफ्नो सारा जीवन सङ्गीत सेवामा लागेर माया गरे । त्यो एउटा पराकाष्ठा नै हो । उनी सङ्गीतका लागि जन्मे, त्यसैमा बाँचे अनि सङ्गीतसितै बिलाए । प्रत्येक क्षण सङ्गीतकै लागि समर्पण गरे ।

नेपाल नरेश मविवि शाह आफैं एक जना सशक्त कवि, गीतकार र सङ्गीतप्रेमी हुनाले दार्जीलिङ भ्रमणमा आउँदा ऐतिहासिक महत्त्व भरिएको ‘नौ लाख तारा…’ सुन्नुभयो ।

यस्तो स्तरीय गीतमाथि सरकारी प्रतिबन्ध लाग्दा दार्जीलिङ इलाकालगायत नेपालका सङ्गीतप्रेमीलाई पनि आघात पुग्यो र नेपाल नरेशलाई पनि छोयो । उहाँकै निम्तो मनमा उनेर सङ्गीतकार गुरुङ भारत त्यागेर काठमाडौं लागे, सदाको निम्ति ।

लोक मनोरञ्जन शाखामा कार्यरत अवधिमा मैले पनि धेरै गीतसङ्गीत सुन्दै गएँ, गाउने सुयोग पनि पाएँ । अनि ‘सम्हालेर राख नामक…’ अत्यन्त सफल गीत गाउने भाग्य जुट्यो । आज पनि यस गीतको लाकेप्रियता यथावत् रहेको छ, सचेत वर्गलगायत युवा गायकगायिका पनि यो गीत मन पराउँछन्, गाउँछन् ।

सन् २०१२ मा आयोजित ‘पलेंटी उत्सव’ (नेपाल) चार दिनसम्म सञ्चालित कार्यक्रममा पहिलो दिन नै सङ्गीतकार अम्बर गुरुङको एकल गायनमा पुराना कालजयी गीतहरू सुन्ने मौका पर्‍यो । गायनमा उनको मिठास त्यत्तिकै थियो । यस्तै स्थितिमा उनले भने, ‘सम्हालेर राख लोकप्रिय बनाइदिनुभएकोमा म सुश्री शान्ति ठटाललाई आन्तरिक हृदयबाट धन्यबाद टक्र्याउँछु ।’

यसो भन्नु आवश्यकजस्तो लागेन, मलाई । तैपनि धन्यवाद पाउँदा खुसी नै लाग्यो । अम्बरका गीतहरूमा कल्पना अनुभूति, सशक्त भावनालगायत अनेक रस पाइन्छन् ।

प्रत्येक गीतले प्रभाव पार्न सक्ने भाव–भावना, मिलनविछोड, आशानिराशा, विसङ्गीत र विशेषगरी जातीय भावना आदिले भरिएका, सरलता, माधुर्य आदि गुण छँदैछन् । दार्जीलिङमा रचिएका गीतहरू साँच्चै अद्वितीय छन्, मार्मिक छन्, अविस्मरणीय छन् ।

पहाड सुक्यो जस्तो लाग्छ 
बस्ती डुब्यो जस्तो लाग्छ 
०००
लड्दछन् पाइलाहरू आँखामा थुरिएर 
सुक्दछन् प्यालाहरू ओठमा रित्तिएर 
००० 
फेरि कली फुलेर 
अतीत सँगाली ल्यायो
शब्द र सङ्गीत बेजोड छन् यी गीतमा । यी माथिका यस्ता उपलब्धिलगायत जातीय प्रेममाथि आधारित गीतलाई क्यान्टेटाको रूप दिने पहिलो नेपाली सङ्गीतकार अम्बर गुरुङ ऐतिहासिक घटनाका सफल व्यक्ति हुन् ।

***

‘सम्हालेर राख…’ को रचना टिङलिङ चियाबारीमा भएको हो । ‘आकाश झुक्यो धरती उठ्यो’ गीत सोरेङमा सुनें, सिक्ने गाउने काम पनि त्यसै गाउँमा हुनाले भन्न सकिन्छ । प्रतिभाशाली कलाकारलाई कलाका लागि विशेष ठाउँ चाहिन्न ।

सन् १९६५ मा कवि मविवि शाहको जन्मदिन मनाउँदा सङ्गीतकार शरण प्रधान, गायिका अरुणा लामा, आइजक, म काठमाडौं जाँदा रेडियोमा ‘सम्हालेर राख…’, ‘मेरो दु:खी मन’ आदि गाएकी थिएँ ।

तर, ‘सम्हालेर राख’ सबै तहका श्रोताले मन पराए, बुद्धिजीवीले रुचाए, साहित्यकार पारिजात पनि खुसी भइन् । गीतकार बैरागी काइँलाको गीत (मेरो दु:खी मन) सङ्गीतकार अम्बर गुरुङको सुन्दर सङ्गीतले सजिएको छ । मध्यलयमा बाँधिएको यस गीतको शब्द–सुरमा ठहराउँछ ।

गाउन सक्नेलाई यो गीत गीतै छ र शब्दका भावमा धुनले न्याय गरेको छ, उनका उत्कृष्ट गीतहरूमध्ये यो एउटा गीत हो । सन् १९६४ तिरको उनको अर्का गीत—
जहिले तिमी आउ बिरानीले सोध्छ
बिरानीमा फुल्ने फूल तिमीलाई खोज्छ
यो गीतको पहिलो पंक्तिका शब्दहरू र धुनले मनलाई छुन्छन् र जसले यो गीत मन पराएर सुन्छन्, उनीहरूले यस्तै अनुभव गर्छन् ।

यसमा कर्ड–प्रोगेसनको प्रयोग पाइन्छ । त्यसै साल आयोजित सङ्गीत प्रतियोगितामा यो गीत प्रस्तुत गर्दा रञ्जित गजमेरले तबला बजाएका थिए । गीत समाप्त हुनेबित्तिकै प्रतियोगिताका लागि संलग्न निर्णायकगण, अतिथिगण अनि कवि अगमसिंह गिरी पनि जुरुक्क उठेर यो गीत फेरि गाउन अनुरोध गरे ।

दोस्रोचोटि गाउँदा सङ्गीतकार गोपाल योञ्जनले तबला बजाएका थिए । यस गीतको धुन पश्चिमी परिपाटीमा ढालिएको छ, विभिन्न कर्डहरूको प्रयोग गरिएको छ, बेजोड मेलोडी छ ।

अत्यन्त भावुक र संवेदनशील सङ्गीतकार अम्बर गुरुङको अन्तरात्माबाट प्रस्फुटित यस्ता अनेक गीतहरू छन्, श्रोताको मन सजिलै छुन्छन्, मनैमा गीतहरू गुन्जिरहन्छन् ।

साठीको दशकतिर सङ्गीतकारद्वय कर्म–गोपाल योञ्जनसित एउटा सांस्कृतिक कार्यक्रममा चमर्ची (भोटाङ) जाँदा उच्च ओहोदामा बसेका गुरुङ परिवारसित भेट भएपछि हामीलाई साम्सी (भोटाङ) लगे ।

सङ्गीतकार लुइस् ब्याङ्क पनि पुगेका रहेछन् । गीत गाउने क्रममा मैले ‘जहिले तिमी आऊ…’ गाएपछि सबैले सराहना गरे । पश्चिमा सङ्गीतका ज्ञाता लुइस् ब्याङ्कले भने, ‘यति मेलोडियस नेपाली गीत मैले पहिले कहिल्यै सुनेको थिइनँ ।’

टर्नबुल उच्च विद्यालयमा अध्ययनरत छात्र गुरुङलाई विद्यालयमा बाइबलबाट टिपिएका प्रार्थना, भजनादिमा सुनिने पाश्चात्य धुनबाट पनि केही प्रभाव ग्रहण गरेर गीतसङ्गीतमा संलग्न तेजी कलाकारका रूपमा देखा परे ।

अनि कालन्तरमा पाश्चात्य सङ्गीतकार केही यसै सत्यको आधारमा कति सचेत व्यक्तिले भनेका छन्— सङ्गीतकार अम्बर गुरुङका सङ्गीत रचनामा पाश्चात्य प्रभाव पाइन्छ ।

यति भन्दाभन्दै एउटा निर्विवाद सत्य स्वीकार गर्नुपर्छ— सङ्गीतकार गुरुङले पाश्चात्य प्रभाव प्रयोग गरेका भए तापनि मौलिकता (नेपालीपन) को अभाव भने छैन ।

यति प्रतिभाशाली व्यक्तिलाई प्रधानाध्यपक महेन्द्र प्रधानले प्रोत्साहन दिनुहुँदै त्यसै विद्यालयको एउटा कोठामा सङ्गीतशिक्षकको भार सुम्पिएको थियो भने कालान्तरमा नेपाल नरेशले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा सङ्गीतनिर्देशकको भार सुम्पनुभयो ।

निबन्धकार शङ्कर लामिछाने, कवि भूपि शेरचन आदि अभिन्न मित्र भए । उनका गीत, सङ्गीत र गायनविरुद्व एक शब्द पनि सुन्न नचाहने कवि विचन्द्र प्रधानले यसो भनेका छन्, ‘अम्बरका गीत, सङ्गीत र गायनमा के भन्नेहरू पनि छन् ।

म भन्छु, अम्बरका गीत, सङ्गीत र गायनमा एउटा छुट्टै मात छ । त्यो मातले दिन बितेको थाहा हुन्न, रात बितेको पत्तो हुँदैन ।’

उनीसित आत्मीय सम्बन्धले बाँधिएका वरिष्ठ साहित्य निर्माता डा. इन्द्रबहादुर राईले १६ जुन २०१९ मा स्थानीय च्यानलबाट गायक, शब्दकार, सङ्गीतकार गुरुङलाई हलुका गीतहरूदेखि माथि उठ्ने प्रेरणा दिनुभएको रहेछ ।

‘म लडी–लडी उठें/म उठी–उठी लडें’ सुन्नुभएपछि यस्तो हलुका होइन, गहकिला गीतसङ्गीत निर्माण गर्ने सुझाउ दिनुभयो तर यस गीतका शब्दहरूले छर्लंग पारेको छ— गीतकारको अन्तरव्यथा ।

लोकलय आधारित होस् वा राग आधारित होस्, उनका पाश्चात्य शैलीको प्रयोग होस्् शब्द, धुन र स्वरको सफल र सशक्त सन्तुलन पाइन्छ । कवि गिरीबाट जातीय भावनाका प्रभाव–प्रेरणा ग्रहण गरेर सङ्गीतकार गुरुङले धेरै गीत रचेका छन् भन्ने कुरा डा. जगत छेत्रीले अम्बरका गीतसंग्रह ‘सम्हालेर राख’ मा अभिव्यक्त गरेका छन् ।

अर्का पक्ष भीडभित्र आफूलाई एक्लो पाउने गरेका कुरा यसरी प्रकट गरेका छन् : वेदना विरह पोखेका छन् । अर्को पक्ष– भीडभित्र आफूलाई सधैँ एक्लो पाउने गरेका कुरा यसरी प्रकट गरेका छन्, वेदना–विरह पोखेका छन्—
कहाँ जानु मैले बाटो कहीं छैन
एक्लो बिरानोमा साथी कोही छैन

आडम्बर, गरिबी, जातिप्रेम, बाध्यता, विवशता आदि पनि सफलतापूर्वक शब्द, सङ्गीत दिने प्रवृत्ति केलाउँदा उनी कतै बिरलै प्रकृतिका कलाकार प्रतीत हुन्छन् । तल टिपिएका गीतांश यस्ता छन् :
पहाड सुक्यो जस्तो लाग्छ 
बस्ती डुब्यो जस्तो लाग्छ 
सम्झिनेले बिर्स्यो बिर्स्यो
एकदमै बिर्स्यो जस्तो लाग्छ
०००
गीतकार अम्बर गुरुङका शब्दमा सायदै कसैले सङ्गीत भरेका होलान्, मैले सुनेकी छैन । होला कतै, थाहा छैन । तर, मैले उनका गीतमा सङ्गीत भर्ने भाग्य पाएकी छु ।

सन् १९६५ को सुरुमा स्व. शेखर दीक्षित, इन्द्रकुमार गजमेर अनि म गीतसङ्गीतकै कुरामा संलग्न हुँदा गीतकार अम्बर गुरुङले एउटा गीतमा धुन भर्ने मौका दिए, गीत हेरें, आँट आएन ।

तैपनि घरमा यसो धुन मिलाउने कोसिसको परिणाम मीठो धुन तयार भयो, दार्जीलिङको क्यापिटल हलमा आयोजित एक कार्यक्रम (सन् १९६५) मा यो प्रस्तुत गर्न पाएँ । त्यो गीत हो—
म अचानक नै अढें
फूल पनि तर्सिदियो
पछि हेरें भूल थियो
भूल पनि झर्किदियो
पछि अम्बर नेपाल प्रवेश गरेपछि दैनिक जीवनमा देखापरेका, सहनुपरेका, रुनुपरेका स्थितिहरू होलान् । जन्मथलो दार्जीलिङ छोड्नुपरेको दु:खले होला अति मार्मिक गीत तयार गरेका छन्—
म दूर भएर के भो
अभिशाप छाएर के भो
यति खोज्छु सम्झनालाई
कि बिर्सिसकेर के भो
नेपाली सङ्गीत कलाको विकास अनि विस्तारका लागि आफ्नो जीवन नै अर्पण गर्ने शब्दकार, सङ्गीतकार स्वरका धनी अम्बर गुरुङले निरन्तरता दिइरहे–दिई नै रहे ।

उनका निरन्तर सङ्गीत रचनाले नेपाली सङ्गीतको गरिमा, महिमा, मूल्य, विकास र विस्तारका लागि पुर्‍याइएका योगदानप्रति शब्दद्वारा न्यायोचित मूल्याङ्कन गर्न सकिँदैन ।

सङ्गीत अथाह जलनिधिजस्तै अनन्त संसार हो, सागरको नापतौल गर्न नसकेझैं सङ्गीतकलामा कुनै सङ्गीतकार पारंगत भएको सायदै पाइँदैन । संसारका कुनै त्यस्ता कलाकार होलान् तर सायदै होलान् ।

यति विशाल–विस्तृत क्षेत्रमा हाम्रा गायक, शब्दकार, सङ्गीतकार अम्बर गुरुङले आफ्ना कलात्मक प्रयोग–प्रेम–प्रस्तुतिद्वारा जे जति जस्ता थरीका योगदान दिए, दिएर गए, शरीरबाट गएर नेपाली हृदयमा बसे, तिनका लागि मात्र होइन, नेपाली सङ्गीतका अलङ्कार–अस्तित्वको परिचय अन्तर्राष्ट्रिय जगत्मा विस्तार गर्न सफल भए ।

यसैले भारत, नेपाल अनि विदेशमा पनि सम्मान पाए । व्यक्तिगत सम्मानद्वारा नेपाली सङ्गीत संसार नै सम्मानित गराए, नेपाली कलाकार सबैलाई सम्मानित गराएर गौरवशाली इतिहास सुनौलो अक्षरमा लेखाए ।

नेपाली हृदय, नेपाली सङ्गीत र नेपाली माटोले कहिल्यै नभुल्ने अम्बर भए, अमर भए ।


कान्तिपुर, कोसेली-बाट साभार

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares