स्थापना दिवसमा अकादमी पुरस्कार प्रापक साहित्यकारहरू सम्मानित

खरसाङ , १० जून


भारतीय नेपाली गोर्खाहरुको सबैभन्दा पुरानो सामाजिक र साहित्यिक संस्था खरसाङको गोर्खा जनपुस्ताकालयको स्थापना दिवसको अवसरमा साहित्य अकादमी पुरस्कार प्रापक साहित्यकारहरूलाई सम्मान गरिएको छ। गोर्खा जनपुस्ताकालय खरसाङको आयोजनामा आइतबार पुस्तकालयको पारसमणि प्रधान प्रेक्षागृहमा सम्मान अनि सम्बर्द्धना कार्यक्रम सम्पन्न भयो।

पुस्तकालयको सभापति रबीनकुमार प्रधानको अध्यक्षता र खरसाङका विधायक डा० रोहित शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वर्ष २०१६, २०१७ मा मुख्य विधा लगायत युवा ,बाल र अनुवाद साहित्यमा साहित्य अकादमी पुरस्कार प्रापक साहित्यकारहरु लगायत सामाजिक कार्यकर्ता र पुस्तकालयको आजीवन सदस्य, ५० वर्ष र २५ वर्ष पुगेका सदस्यहरुलाई पनि सम्मानित गरिएको छ।

पुस्तकालयको सचिव प्रकाश प्रधानद्वारा स्वागत सम्भाषण राखिएको कार्यक्रमलाई सह सचिव एंव कवि बिनोद रसाइलीले सञ्चालन गरेका थिए। यस सम्मान र सम्बर्द्धना कार्यक्रममा २०१६ को साहित्य अकादमी पुरस्कार मूल विधामा असमकी डा० गीता उपाध्याय, २०१७ को साहित्य अकादमी पुरस्कार प्रापक दार्जीलिङकी डा० वीणा हाङ्खिम, अनुवादमा २०१६ को पुरस्कार प्रापक असमको ज्ञान बहादुर छेत्री, २०१७ को चन्द्र मणि उपाध्याय, २०१६ को बाल साहित्य अकादमी पुरस्कार प्रापक सिक्किमको शंकर देव ढकाल, २०१७ को सिक्किमकी डा० शान्ति छेत्री, २०१६ को युवा साहित्य अकादमी पुरस्कार प्रापक सिटोङ निवासी सञ्जीव छेत्री र २०१७ को युवा साहित्य अकादमी पुरस्कार प्रापक मङ्ग्पुका शरण मुस्कान लगायत सामाजिक क्षेत्रमा लागिपरेका सामाजिक कार्यकर्ता एवं पूर्व अतिरिक्त आयकर आयुक्त मिलन रुचाललाई सम्मान गरिएको छ।

यसबाहेक पनि खरसाङको गोर्खा जनपुस्ताकालयको आजीवन सदस्यहरु, ५० वर्ष , २५ वर्ष सदस्यता पुगिसकेका सदस्यहरुलाई पनि सम्मानित गरिएको छ। यस अन्तर्गत वरिष्ठ साहित्यकार लक्ष्मण श्रीमललाई ५० वर्ष सदस्यता पुगेको अवसरमा सम्मानित गरिएको छ भने २५ वर्ष पुगेका ६ जना सदस्यहरुलाई पनि सम्मानित गरिएको छ। कार्यक्रममा पुस्तकालयको पूर्व सभापति तिलक शर्माले पुस्तकालयको गतिविधि र कार्यक्रम आयोजना गरिनुको औचित्यमाथि प्रकाश पारेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा खरसाङ नगरपालिकाको भाइस चेयरम्यान ब्रिगेन गुरुङ, वरिष्ठ साहित्यकार लक्ष्मण श्रीमल, बलराम राई, मिलन रुचाल लगायत अन्य उपस्थित थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares