पर्चापट्टाको फारमले भोली हामीलाई ‘धोबी का कुत्ता घर का ना घाट का’ बनाउँनेछ,  यसै कारण फारम नभर्नुहोस्-गोरामुमो

पानीघट्टा, 10 जून


‘हामी १८१६ को सुगौली सन्धीले काटेको भू-भागसँगै भारतमा आफ्नो जमिन आफैसँग लिएर आएका हौं। आज हामी जुन माटोमा छौं, जुन जमिनमा छौं, त्यो माटो, जमिन हाम्रो आफ्नो हो। हामी यो भूभागको मालिक आफै हौं,’ गोरामुमो केन्द्रिय कमिटीका सदस्य साथै गोरामुमो मिडिया सेलका सदस्य सचित गहतराजले संवाद माध्यमसित आज भने, ‘आज बङ्गाल सरकार र जीटीएले षड्यन्त्र गरेर हामीलाई बर्बाद पार्नको लागि दिएको पाँच डेसिमलको सुकुमबासी पर्जा-पट्टा थापेर अर्थात रिफ्युजी विभागद्वारा काँडेतार छिरेर आएको बङ्गलादेशी भूमिहीन शरणार्थीहरुलाई प्रदान गरिने पाँच डेसिमल जमिनको ल्याण्ड युजर सर्टिफिकेट थापेर हामीले आफूले आफूलाई १९५० को धारा साते बनाउँनु हुँदैन।’

पत्रकारहरूसित कुराकानी गर्दै उनले सरकार र जीटीएले पहाडको सिधा साधा जनतालाई लट्याएर पर्जा पट्टाको नाम गरेर जुन फारम भर्न लगाइरहेछ, त्यसलाई  लिजमा दिइने ल्याण्ड युजर सर्टिफिकेट मात्र रहेको उनले किटान गरे।

‘यदि यो पर्जा पट्टा हो भने खै त यसमा जमिनको खतियान नम्बर ?,’ उनले भने,  ‘पाँच डेसिमल सुकुमबासी पर्जाले भोलीको दिनमा मेचीको बगर रुङ्गने बनाउनेछ। यसैले हतारमा पर्जा पट्टाको फर्म नभर्नुहोला। अलिकति समय लागोस् सबै कुराहरु बुझौं पहिले।’

पाँच डेसिमल जमिनको सुकुमबासी पर्जा पट्टा दिएर पहाडबासीको बाँकी जमिन के गर्छ, त्यसबारे कसैले नसोचेको पनि उनले बताए।  ‘भोलीको दिनमा ‘आ बैल मुझे मार’ भन्ने एनओसी सरकार र जीटीएलाई आजै हात काटेर नदिउँ। नत्र बस्ने जमिनको त कुरै छोडौं, भोलीको दिनमा पाइखाना गर्ने जमिन धरि नपाइएला,’ गहतराजले भने,  ‘यो सुकुमबासी पर्जापट्टाद्वारा बङ्गाल सरकार र जीटीएले ठूलो षड्यन्त्र गर्दैछ। भोलि हामीलाई ‘धोबी का कुत्ता घर का ना घाट का’ बनाउँनेछ।  यसै कारण फारम नभर्नुहोस्। हामी अध्ययन गर्दैछौं। विशेषज्ञहरुबाट परामर्श लिँदैछौं।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares