पहाड़का मुस्लिम समुदायलाई गोजमुमोले सुरक्षा दिनेछ : विनय तामाङ

दार्जीलिङ, 11 जून।


दार्जीलिङ पहाड़का मुस्लिम समुदायलाई गोजमुमो साथै जीटीए अध्यक्ष विनय तामाङले आफूहरू रहेसम्म ढुक्कसित बस्ने आह्वान गरेका छन्। यसका साथै उनले देशका अन्य स्थानले साम्प्रदायिक सद्भावना दार्जीलिङबाट सिक्नुपर्ने पनि बताए।

हिजो साँझ यहाँको अञ्जुमन इस्लामियामा आयोजित इफ्तार पार्टीमा भेला भएका सम्पूर्णलाई सम्बोधन गर्ने क्रममानै तामाङले यसो भनेका थिए। ‘दार्जीलिङ पहाड़मा जबसम्म हामी छौं, तबसम्म यहाँका मुस्लिम समुदाय ढुक्कसितले बस्नुपर्छ। यसै पनि दार्जीलिङ पहाड़मा कहिले पनि साम्प्रदायिक दङ्गा भएको सुनिएको पनि छैन अनि देखिएको पनि छैन,’ तामाङले भने, ‘देशका अन्य स्थानहरूमा धर्म र जातिको नाममा दङ्गा भएको धेरै सुनिन्छ साथै देखिन्छ। तर दार्जीलिङ पहाड़मा यस्तो कहिले भएको छैन अनि हुने पनि छैन। यसैले दार्जीलिङ पहाड़का मुस्लिम समुदायलाई गोर्खा जनमुक्ति मोर्चाले आफ्नो अभिभावक बनेर सुरक्षा दिनेछ।’

यसका साथै उनले दार्जीलिङ पहाड़मा साम्प्रदायिक सद्भावनाको सही अर्थ पाउऩ सकिन्छ भन्ने पनि बताए। हिजो यहाँको अञ्जुमन इस्लामियामा अञ्जुमनका सदस्यवर्ग, जीटीए उपाध्यक्ष अनित थापा साथै अन्य विशिष्ट व्यक्तिहरूको उपस्थितिमा आयोजना भएको यस कार्यक्रमलाई सम्बोधन गर्दै तामाङले आफू पहाड़मा मुस्लिमहरूको अपमान हुँदा बोलिदिएको पनि बताए।

‘गत केही सप्ताहअघि कालेबुङमा कलकत्ताबाट आएका मुस्लिम समुदायलाई अपमान गर्ने कार्य भएको थियो। कतिले नबुझेर हो वा सोसियल मीडिया एक्टिव भएर हो, उनीहरूलाई अपमान गरियो,’ उनले भने, ‘यस विरूद्ध मैले स्पष्टीकरण दिँदा पनि नहुँदा अन्तमा म स्वयं कालेबुङको मस्जिदमा जान परेको थियो। त्यसपछि कलकत्ताबाट आएका मुस्लिमहरूले पनि सुरक्षित अनुभव गरेका थिए। तर समग्रमा दार्जीलिङ पहाड़मा यसप्रकारको कुनै साम्प्रदायिक सद्भावना बिग्रिने कार्य भएको छैन।’

यसका साथै उनले दार्जीलिङ पहाड़मा गोर्खा र मुस्लिम समुदायसँगै अन्य सम्पूर्ण समुदायहरू वर्षौंदेखि नङ्ग र मासु जस्तो भएर बसिरहेको बताउँदै देशको संविधानमा उल्लेखित साम्प्रदायिक सद्भावनाको सही अर्थ दार्जीलिङ पहाड़मा पाइने बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares