किन जहिल्यै बामे सरिबस्छ आन्दोलन?

मनोज बोगटी


‘गोर्खाल्याण्ड हुन्छ?,’ बङ्गाली पत्रकार मनोज पण्डितले सुबास घिसिङलाई सोधे।

‘हुन्छै हुन्छ। भएपछि गोर्खाल्याण्ड सरकारले सबैभन्दा पहिला ठूलो जेल बनाउनेछ, जो जो गोर्खाल्याण्डको विरोध गरिरहेका छन्, उनीहरूलाई त्यहाँ हालिनेछ’, घिसिङको उत्तर थियो।

घिसिङको डेटलाइन थियो, 1987। विमल गुरूङको 2010 जस्तो।

घिसिङले ‘सन्डे अब्जर्भर’-लाई भनेका थिए, ‘1987 मा गोर्खाल्याण्ड भएन भने म आफ्नो टाउको छिनाउनेछु।’

विमलले भनेका थिए, ‘2010 मा गोर्खाल्याण्ड भएन भने म आफैलाई गोली ठोक्छु।’

यी दुवै शक्तिशाली नेताहरूका एकएकवटा नमूना महाझुट मात्र हुन्। न गोर्खाल्याण्ड भयो, न घिसिङले टाउको छिनाए न विमलले गोली ठोके। उनीहरूका महाझुटले जन्माएका पुस्ता हुन्-विनय तामाङहरूको पुस्ता। जो अहिले जनसपना बेचिरहेका छन्।

जतिखेर घिसिङ र विमलका पक्षमा सारा जनता आन्दोलित थिए, उनीहरूलाई लाग्थ्यो, ‘अब राज्य र केन्द्र हल्लिनेछ।’ उनीहरू सँधै के बिर्सिन्थे भने, जुन सारा जनता आन्दोलित भइरहेको ठाउँ छ, त्यो केवल एउटा ‘जिल्ला’ मात्र हो। भारतजस्तो विशाल देशमा त यस्ता आन्दोलित जिल्लाहरू हजारौं छन्। हज्जारौं घिसिङ र विमलहरू छन्।

त्यहीँमाथि माकपाजस्तो ‘कम्युन’ दर्शनलाई खसी पारेर ‘चौकी, पैसा र सत्ता’-निर्माणको सपना देख्ने र तृणमूलजस्तो दर्शन र सिद्धान्तहीन ‘आवेग’-को राजनीति गर्ने पश्चिम बङ्गाल सरकारहरूको ‘रौं’ घिसिङको ‘टल्किएको सिरुपाते खुकुरी’ र विमल गुरूङको ‘आर्मी ड्रेस’ –ले हल्लाउने कुरै भएन।

राम्ररी इतिहास पढ्ने र केलाउनेलाई थाहा छ, पहाडको सारा आन्दोलित जनता अपर्याप्त ‘शक्ति’ हो। सारा जनता एउटै पार्टीको छातामुनि आएर आन्दोलित भइराख्नुको कुनै अर्थ छैन, जबसम्म नेतृत्वले बलिया रणनीति तयार गर्दैन। क्रामाकपा सधैँ भन्छ, ‘हामीलाई जनताले मौका दिएन।’ तर उ भन्दैन, ‘मौका दिन लायक र भरोसायोग्य हामीले रणनीति दिएनौं।’

जनफ्लोरमा उत्तरहीन एउटा प्रश्न दशकौंदेखि मडारिरहेको छ, ‘सारा जनता एक हुँदा र आन्दोलित हुँदा पनि किन जहिल्यै आन्दोलन असफल हुन्छ र घरि दागोपाप र घरि जिटिए थाप्नुपर्ने स्थिति हुन्छ?’

डा. महेन्द्र पी. लामाले यो प्रश्नको उत्तर कहिल्यै खोजेनन्। सीके श्रेष्ठले पनि खोजेनन्। आरबी राईको कुनै पनि किताबमा यी प्रश्नहरूलाई सम्बोधन गरिएको छैन। उनलाई उत्तर थाहा हुने कुरै आएन।  प्रताप खातीले खोज्न सक्ने कुरै आएन। अनमोल प्रसादसित यसको उत्तर खोज्ने फुर्सद छैन। सुखमन मोक्तानलाई जनफ्लोरमा यस्तो प्रश्न मडारिरहेको छ भन्ने कुरा नै थाहा छैन। अर्थात जनताले जसलाई बुद्धिजीवी मानिरहेका छन्, उनीहरूलाई नै बुद्धिजीवीको उपमा बोक्नै नसक्ने सिङ भयो। यद्धपि त्यही सिङ देखाएर समाजमा आफूलाई जिउँदो राख्नु पनि उपलब्धी नै हो-दार्जीलिङे समाजको।

सुबास घिसिङ, विमल गुरूङ, हर्कबहादुर छेत्री, विनय तामाङहरूलाई त यसको उत्तर थाहा थियो, र छ। किन भने उनीहरूलाई थाहा थियो र छ, उनीहरू सक्षम नेतृत्व होइनन्।

सुबास घिसिङले 40 दिनको बन्दसम्म पुग्दा छुट्टै राज्य नहुने सम्भावनाहरू बटुलिसकेका थिए। किनभने ‘चिन्हारीको मुद्दा’ मात्र देखाएर केन्द्रलाई ‘कन्भिन्स’ गर्नलाई ‘जनान्दोलन’ मात्र पर्याप्त होइन। आन्दोलन गर्न अघि छुट्टै राज्य ‘गोर्खाल्याण्ड हुनै पर्ने’ कारणलाई बलियो पार्ने रणनीति पुगेन। एउटा जिल्लाका केही लाख जनता कतिदिन रणनीति नपुगेको आन्दोलनमा सक्रिय भइराख्न सक्छन् त? जनान्दोलन केवल ‘होप’ मा सङ्कुचित बन्यो, कारण थियो रणनैतिक कौशलताको अभाव।

न त घिसिङसित इतिहास केलाउँदै जाने र इतिहासको बाटो भएर छुट्टै राज्यसम्म पुग्नको लागि बाटो खन्ने इतिहासविद्हरू थिए, न त दार्जीलिङ जिल्लाका सबै संसाधनहरूबाट राज्य सञ्चालनको लागि पुग्ने आर्थिक स्रोत खोतल्ने अर्थशास्त्रीहरू। न त अद्यौगिक एजेण्डा थियो, न त मानव संशाधन निर्माणका रुपरेखा नै।

अन्तराष्ट्रीय सिमाका संवेदनशिलता र संवेदनशीलताका आयाम खुट्याउने नेतृत्व थियो न अन्तराष्ट्रीय व्यापारका सम्भावना केलाउनेहरूको स्रोत। न त नेपाल- भारत, भारत-चीन, भारत-भूटान, भारत-बङ्गलादेशबीचका जम्मै सुरक्षाका सवालहरू केलाउने कुनै जर्नेल थिए।

सुबास घिसिङको जोशिला भाषणहरूमा त्यति ताकत थिएन जसले संसदमा बहस तयार पारोस्। जो राष्ट्रीय मिडियाको मसला बनोस्। यद्धपि त्यो गर्जनलाई नेतृत्व कौशल मान्ने ठेकेदार सचेतहरूको भीड उस्तै छ अझसम्म।  सारा जनताको आवाजले जब सिलगढी काट्न सक्दैन, तब कलकत्ता र दिल्लीलाई बहिरा भन्नु मुर्खता होइन त?

समाजले ‘चोर लगाउन अघि आफ्नै थैलो बलियो राख्नु’ भन्ने उखानलाई अझसम्म बुझेको छैन।

‘छुट्टै राज्य हुनैपर्छ’ भन्ने केवल पागलपन र आवेगलाई केन्द्र र राज्यले सम्बोधन गर्ने सङ्घीय चरित्र यो देशमा छैन। निश्चितरूपमा भारतका गोर्खाहरूलाई चिह्नारीको सङ्कट छ, तर मूलधारलाई केवल ‘गोर्खाहरूलाई मात्र छैन’ भन्ने पनि त थाहा छ।

जतिखेर ‘बङ्गाल हाम्रो चिहान हो, बङ्गालमा हामी बस्दैनौं’ भन्ने नारा बनियो, त्यसले त मूलधारालाई ‘समस्या बङ्गाल राज्यभित्रको हो’ भन्ने सन्देश पनि त दियो। अल्पसंख्यकहरूको मुद्दा धेरै संवेदनशील मुद्दा हो, तर त्यसलाई संवेदनशील गरिमा प्रदान गर्न चुकियो भने ‘नेतृत्व अक्षमता’ सार्वजनिक हुन्छ।

त्यसै कारण कुनै पनि आन्दोलनको शक्ति नेतृत्वको बहुआयामिक रणनीति र त्यसको प्रतिबद्ध सपना पनि हो। यी दुवै दुर्वल बन्यो भने जनाकांक्षा बोटैमा मर्छ।

गोर्खाल्याण्ड छोडेर सुबास घिसिङ दागोपापमा झर्नु उनको रणनीति होइन, नेतृत्वस्तरको असक्षमता हो। किन भने कुनै पनि एउटा ‘हिरो’-ले सामाधानमा पुऱ्याउन सक्ने मुद्दा होइन गोर्खाल्याण्ड। घिसिङसित सिमित रणनीति थियो। उनमा दार्जीलिङ जिल्लाका जनतालाई एकबद्ध राख्ने र आन्दोलित गराइराख्ने क्षमता निसन्देह थियो तर त्यतिमात्र आन्दोलनले मागेको नेतृत्व क्षमता होइन। एक्लैले गोरू पालेर, एक्लैले हलो जोतेर, एक्लैले धान रोपेर, एक्लैले दाईं गरेर, एक्लैले पकाएर, एक्लैले सबैलाई थालथालमा खाना पस्किनु कमसेकम छुट्टै राज्यको सवालमा सम्भव कुरै होइन।

घिसिङ, विमल, हर्कदेखि अहिलेका विनयसम्म नै किन ‘राज्यसित मिल्ने’ मिलनसार आइडियोलजी लिएर जनतामा जान्छन् त? किन भने न त उनीहरू आन्दोलनको लागि चाहिने संसाधनहरूको खोजीमा चासो राख्छन् न त छुट्टै राज्यसम्म पुग्ने रणनीति निर्माण गर्न सक्छन्।

घिसिङले आफ्नै असक्षमताको कारण दागोपाप थापे। विमलले आफ्नै असक्षमताको कारण जिटिए थापे। हर्कबहादुर छेत्रीले आफ्नै असक्षमताबारे बुझाउन कालेबुङ जिल्लाको मुद्दाको बाहानामा राज्यसित मिलेर विकासको राजनीति गर्ने आइडियोलजी तयार पारे र अहिले विनय तामाङहरूले पनि त्यही असक्षम नेतत्वको परम्परालाई पछ्याए अनि सारा जनताका आकांक्षालाई बेचिदिए।

यहाँनेर विपक्ष पेन्डुलम हो। आन्दोलनको हावा चल्दा हल्लिन्छ, हावा चल्न छोड्यो ठप्प।

आन्दोलन असफलताका कारण आन्दोलन गर्न नसकेर होइन, आन्दोलनको आयाम तयार पार्न नसकेर हो। जोसित रणनीति छैन, उसलाई ‘त्रिपक्षीय बैठकहरू’-ले दिने भनेकै दागोपाप र जिटिए हो। यति सानो दार्जीलिङ जिल्लाको आन्दोलनलाई केन्द्र र राज्यले बुझ्ने भनेकै विकासका असमानताका कारण उत्पन्न क्रोध हो। आन्दोलनका चरित्र र त्यसको पहुँच ठिम्याउने केन्द्र र राज्यले आन्दोलनलाई गरेका जम्मै ‘सम्बोधनहरू’-मा कुटनीति नदेख्नु नेतृत्वको अर्को असक्षमता बन्यो।

मदन तामाङ बारम्बार यही भन्थे, ‘यिनीहरू चढेको गधाले पुऱ्याने ठाउँ चौकी नै हो।’

त्यो चौकी आन्दोलित नेतृत्वलाई सुलभ बन्छ, गोर्खाल्याण्ड आन्दोलन-को बार्गेनिङबाट। भर्खरैको आन्दोलनको 104 दिनको बन्दबाट मात्र राज्यलाई पाँच सय पचास करोड नोक्सान भयो। पर्यटन नष्ट। शिक्षा र जनजीवन ठप्प। अनि ममता व्यानर्जीले भनिन्, ‘पहाड शान्ति राख, म करोडौंको विकास गर्नेछु।’

त्यसपछि विनय तामाङहरू चौकीमा छन्। गोर्खाल्याण्ड आन्दोलनको प्रयोगलाई चौकी र पैसामा सङ्कुचित गर्ने परम्परा घिसिङबाट नै शुरु भएको हो।

यहाँनेर आएर ‘गोर्खाल्याण्ड मिथ’-को निर्माताहरूको नियतबारे धेरै घोरिन अनिवार्य बन्छ। गोर्खाल्याण्ड शब्द आफैमा जातिवादी शब्द त हो नै। यसको ‘निर्माण’-मा भारतीय गोर्खाहरूमा रहेको ‘जातिप्रेम’-को सबैभन्दा ठूलो ‘लगानी’ छ। जातिप्रेम (कुनै कुनै अवसरमा भावुकताको पागलपन) लाई सधैँ जिउँदो राख्न घिसिङले गोर्खाल्याण्ड शब्दको खोज गरे। यही शब्द जातिनामलाई लिएर गर्ने राजनीतिको ‘मूल’ पनि हो। यो नाम जसले काड्यो बर्चस्व उसकै। जसले यो नामलाई काड्दैन उसको हरिविजोग।

जनतामा यस नामले जुन भावुकता पैदा गर्छ, त्यसैले आन्दोलनको आयु तयार पारेको छ। गोर्खाल्याण्ड भन्ने वित्तिकै भारतीय गोर्खाहरूको खुन उम्लिन्छ। उम्लिएको ‘खुन’-को जहिल्यै नेतृत्वले ‘व्यापार’ गरेको छ। आन्दोलनको समाजशास्त्र, इतिहास र असफलता त्यही ‘खुन’-ले तय गरेको छ।

अहिलेसम्मको आन्दोलनको अभ्यास ‘गोर्खाल्याण्ड मिथ’-कै वरिपरि घुमेको छ। यही मिथ प्रयोग गरेर नेतृत्वले रोटी सेकेका छन् र बारम्बार असफलतातिरको यात्रा तय भइसकेको छ। अब यो ‘शब्द’-का जम्मै आयाम केलाउने समय भइसक्यो। भन्दा धेरैको खुन उम्लिन सक्छ, तर यही शब्दको दुरुपयोगले राजनैतिक, सामाजिक, सांस्कृतिक, अर्थनैतिक मूल्य नष्ट गरेको छ र समाजमा अनेकौं चरित्रका अन्तरविरोध छरेको छ।

कुर्सीसम्म पुग्न निर्माण गरिएको मिथ त होइन गोर्खाल्याण्ड? यो प्रश्नले पनि व्यापक बहस मागिरहेको हो कि?

तर यही शब्दले समग्र गोर्खाहरूलाई एकत्रित गर्ने मूल भूमिका पनि निर्वाह गरेको छ। कि त नेतृत्वले यो शव्दको दुरुपयोग बन्द गर्नु पऱ्यो, कि त आन्दोलनका अरू आयामहरू खोज्नु पऱ्यो। यद्धपि यी जम्मै अन्तरविरोध रणनीतिको अभावले नै जन्माएको छ।

यही अभावको कारण केन्द्र र राज्यको आन्दोलनमाथिको ‘बुझाई’ निर्माण भएको छ। जम्मै विकास एजेन्सी ( दागोपाप, जिटिए) यही ‘बुझाई’-ले सम्बोधन गरेका परिणतिहरू हुन्। यसै कारण यतिका दशकसम्म आन्दोलन केवल बामे मात्र सरिरहेको छ।

आन्दोलनमा ‘विचौलिया सिस्टम’ पनि यसैले निर्माण गरेको हो। जसले पुस्तौंसम्म उठ्नै नसक्ने गरी पारेको आर्थिक डाम समाजको आङमा छ। चेतनाको स्तरमा हरेक असफलताले निरिहताको विजारोपन गरेको छ। डर, त्रास र अत्याचारहरूका नयाँ नयाँ शैलीहरू जन्माएको छ। यी जम्मै अन्तरविरोधले यस्तो सामाजिक मनोविज्ञान तयार पारेको छ, जसको जगमा अब कुनै पनि आन्दोलनको सम्भाव्यता जिउँदो छैन।

मुख्यगरी सांस्कृतिक र राजनैतिक कर्मीहरूले अब यी जम्मै अन्तरविरोधका चरित्रहरू केलाएनन् भने, बौद्धिक, बुद्धिजीवी, लेखक र सचेतहरूले यी अन्तरविरोधहरूलाई बहसमा ल्याउन सकेनन् भने समाजमा सङ्कट अजम्बरी बन्ने छ। विचारहरू दास बन्नेछन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares