दार्जीलिङका बिल्डिङ बाहिर लुगा सुकाउन निषेध

दार्जीलिङ, 12 जून।


दार्जीलिङ नगरपालिका अध्यक्ष प्रतिभा तामाङले हिजो शहर वरिपरिका मैला ढ्वाङहरूमा बिहान 6.30 बजीपछि मैला फ्याँक्न नदिने घोषणा गरेकी थिइन् अनि निर्धारित 11 वटा मैला ढ्वाङहरूअघि नगरपार्षदहरूनै तैनाथ रहने पनि जनाएकी थिइन्, जसको असर आज देखा पऱ्यो। किन भने आज दार्जीलिङ शहर वरिपरिका मैला फ्याँक्ने ढ्वाङहरूमा मैला देखिएन।

‘यदि दार्जीलिङका जनताले दार्जीलिङलाई स्वच्छ र सफा राख्नको लागि यस्तै सहयोग गरिरहे पहाड़की रानीको गौरव फर्किन धेरै समय लाग्नेछैन,’  दार्जीलिङ नगरपालिका अध्यक्ष प्रतिभा तामाङले आज भनिन्। मैला फ्याँक्ने ढ्वाङहरूलाई आज सफा राख्नको लागि नगरपालिका अध्यक्ष प्रतिभा तामाङसँगै अन्य नगरपार्षदहरू पनि मैदानमा ओर्लिएका थिए।

शहरका अधिकांश वा नगरपालिकाले तोकेका मैला ढ्वाङहरूमा मैलाको थाक देखिएन। जसमा यहाँको भानुभक्त प्राथमिक पाठशालाअघि, जिल्ला अस्पतालमुनि,  चौरास्ताबाट आलुबारी जाने टीएन रोड, होटल साम्बालाअघिका मैला ढ्वाङहरू सामेल छन्।

जुन मैला ढ्वाङहरूको अवस्था हिजोको तुलनामा ठीक विपरीत थियो। ‘आज हामी सबै नगरपार्षदहरू बिहानदेखि लगभग 1 बजीसम्मनै मैला ढ्वाङहरूअघि तैनाथ रहेका थियौं। त्यस समय कतिपय मैला ढ्वाङमा शहरका मानिसहरू मैला फ्याँक्न आएका पनि थिए, तर उनीहरूलाई हामीले सम्झाई-बुझाई गरेर फर्काइदियौं,’ तामाङले भनिन्,  ‘ताकि उनीहरूले बिहान साढे 6 बजीअघि र साँझ 7 बजीपछि मात्रै मैला फ्याँकिदियोस्। जसलाई नगरपालिकाका गाड़ीहरूले बिहान 6.30 बजीसम्म सफा गरिसकेको हुनेछ।’

आज उनले मैला ढ्वाङमा ड्युटी बस्दाका अनुभव पनि सुनाइन्। ‘एउटा मैला ढ्वाङमा एकजना आएर फ्यात्तै मैला फ्याँकिराखे, जसलाई पुनः बोलाएर त्यो मैला उठाउन पनि लगायौं। दार्जीलिङ हाम्रो हो भनेर मात्रै हुँदैन, यसलाई साँचो मनले माया गर्नुपर्छ। दार्जीलिङलाई सफा राख्न सकिँदैन। भने मैला पार्ने अधिकार पनि छैन’, उनले भनिन्।

यता फेरि उनले आज दार्जीलिङ शहरका बिल्डिङहरू बाहिर लुगाहरू सुकाउन बन्द गर्ने जनतासमक्ष अपील गरेकी छन्। ‘शहरलाई सफा देखाउनु हो भने यहाँका बिल्डिङहरू बाहिर विभिन्न प्रकारका लुगाहरू सुकाउन पनि बन्द गर्नुपर्छ,’ भनिन्, ‘यी लुगाहरूले गर्दा दार्जीलिङ शहरको सुन्दरतानै बिग्रिन्छ। यसैले जनताले यसमाथि पनि विशेष ध्यान दिउन्।’

स्मरण रहोस्, दार्जीलिङ नगरपालिकाले दार्जीलिङ शहरी क्षेत्रका 11 वटा मैला ढ्वाङमा बिहान 6.30 बजीदेखि उता मैला फ्याँक्न नपाउने घोषणा गरेको थियो साथै यी 11 वटै मैला ढ्वाङअघि दार्जीलिङ नगरपालिकाका 2-2 जना नगरपार्षदहरू तैनाथ रहने पनि बताएको थियो। यी मैला ढ्वाङहरूमा क्रमैले टेलिफोन एक्सचेञ्ज माथि, युथ होस्टल, होटल साम्बालाअघि, राजभवनअघि, भानुभक्त प्राथमिक पाठशालाअघि, रेलवे स्टेशन, मोटर स्ट्याण्ड, निलम ग्यास एजेन्सीदेखि केही उता, चौरास्ताको टीएन रोड, होटल सेभेन सेभेन्टिनअघि र मधु व्याङ्कका मैला ढ्वाङ सामेल छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares