17 जुन शहिदको नाममा दियो बाल्ने विमल गुरूङको अपिल : भने- ‘म माटो र आमा विरोधीको कलङ्क लिएर मर्न चाहन्न’

कालेबुङ, 12 जुन


गोर्खा जनमुक्ति मोर्चाका भूमिगत अध्यक्ष विमल गुरूङले एउटा विज्ञप्ति जारी गरेर 17 जुनको दिन जनआन्दोलनमा आफ्नो बहुमूल्य उत्सर्ग दिने सहिदहरूको नाउँमा सबैले आ-आफ्नो घरमा दियो बालिदिने अपिल गरेका छन्।

उनले जन्म पछि मृत्यु निश्चित रहेको तर  ती सहिदहरूले भने माटो र जातिको निम्ति बलिदान दिएको कुरा कसैले भुल्न नहुने बताएका छन्।  उनले सहिदहरूको स्मरण गर्दै भनेका छन्, ‘हामीले पनि हाम्रो अस्तित्वलाई कालान्तरसम्म बचाउन, हाम्रो भाषा, संस्कृतिलाई बचाउन सङ्घर्ष निरन्तर हुन अनिवार्य छ। मलाई  मेरो जातिको सुरक्षा  र मातृभूमिप्रतिको आफ्नो कर्तव्य राम्ररी थाहा छ।’

उनले माटो र जातिको रक्षा गर्दै युगौंदेखिको बङ्गालको दासत्वबाट जातिलाई मुक्ति दिलाउन नै आफू सङ्घर्षरत रहेको पनि बताएका छन्।

‘म माटो र आमा विरोधीको कलङ्क लिएर मर्न चाहन्न,’ उनले भनेका छन्, ‘ कुनै दिन त मैले पनि संसार छोडेर जानु छ तर जबसम्म म बाँचेको हुन्छु, मेरो जाति,माटो अनि राष्ट्रको निम्ति बाँचेको हुनेछु।’

उनले आफूलाई विभिन्न कलङ्क लगाउनु, कलङ्क लगाउनेको मानसिकता रहेको भन्दै भनेका छन्, ‘म कसैलाई नराम्रो देख्दिन, कसै प्रति कुविचार राख्दिन। यति हो मैले जानी नजानी भएता पनि मेरो जातिको भलो कसरी हुन्छ, कसरी हाम्रो भावीपिढीको भविष्य सुरक्षित अनि सुन्दर हुन्छ त्यति मात्र सोंचेको छु। त्यसैले नै काम गर्दैछु। हाल अनेकौं बिघ्नबाधाहरू, षड्यन्त्रकारीहरूको षडयन्त्र झेल्दै भएता पनि म मेरो जातिको जन्मसिद्ध अधिकारको निम्ति लडिरहेको छु। जबसम्म मेरो शरिरमा प्राण रहन्छ तबसम्म म आफ्नो ज्यान लगाएर लड्नेछु।’

उनले यो उन्मुक्तिको लडाईको लागि सबैलाई एकजुट भएर बसिदिने निवेदन गर्दै भनेका छन्,  ‘समय आएपछि हाम्रो जातिको आङमा न्यानो घाम अवश्यै लाग्नेछ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares