‘किन हुँदैछ सिक्किममा शेर्पा मास्ने षडयन्त्र?’

 गान्तोक, 13 जुन।


भोटिया, लेप्चा समुदायलाई जस्तै शेर्पालाई पनि रेभेन्यू अर्डर नम्बर वान अन्तर्गत माटोको सुरक्षा दिनुपर्ने मागमा डेन्जोङ शेर्पा एसोसिएशन एक सूत पनि पछि नहट्ने भएको छ। एसोसिएशनका अध्यक्ष ला छिरिङ शेर्पा र हाई पावर कमिटीका प्रमुख संरक्षक साङ्गे शेर्पाको उपस्थितिमा प्रवक्ता पासाङ शेर्पाले यस प्रकारको माग उठाएका हुन्।

उनले मुख्यमन्त्री पवन चामलिङले शेर्पाहरूलाई अलग्गै प्रकारले जमीनको सुरक्षाको कानुन दिने घोषणा गरेपछि र शेर्पाको अधिकार भोटिया लेप्चासित नमिल्ने बयान दिएपछि त्यसैको विरूद्धमा प्रतिवाद गर्दै भने, ‘25 वर्ष मुख्यमन्त्री बनेको पवन चामलिङले शेर्पाको इतिहास नबुझ्नु सिक्किमको दोमाङ, कुरान, बाइलबल गीता जस्तो ग्याजेटर अफ सिक्किमको इतिहासलाई अवहेलना गर्नु हो। जसरी कम्पनीस एक्ट 1961 पुरानो कानुन हुँदाहुँदै पनि आफ्नो फाइदाको निम्ति सरकारले दुई पल्ट 1989 र 2007 मा संशोधन गऱ्यो भने रेभेन्यू अर्डर नम्बर वान किन संशोधन हुन सक्दैन, त्यसको जवाफ दिनुपर्छ। कुन शक्तिले मुख्यमन्त्रीलाई यो निर्णय लिनुबाट बाधा पुऱ्याउॅंदैछ त्यसको खुलासा गर्नुपर्छ।

अर्कोतिर, मुख्यमन्त्रीले अप्पर बुर्तुकको जनतासित सम्पर्कको समय हिजो सोमबार खेलगाउॅंमा आफ्नो कुरा राख्दै रेभेन्यू अर्डर नम्बर वानभित्र केवल भोटिया, लेप्चा मात्र लेखिएको तर शेर्पा मिन्दु भन्ने वकालती गर्नु शेर्पाहरूको निम्ति खतराको घण्टी सरह रहेको उनले बताए।

‘मिन्दु’ भन्ने शब्दले ‘शेर्पा भाषामा छैन’ मात्र होइन ‘शून्य’ पनि बुझाउॅंछ, यस कारण एसडीएफ सरकारले सिक्किमको शेर्पाहरूलाई समाप्त गर्ने निर्णय गरिसकेको हुनाले अब हामी आफ्नो अधिकारको निम्ति उचित समयमा जवाफ दिन तत्पर भएका छौ, प्रवक्ता पासाङले भने, ‘मुख्यमन्त्रीले रेभेन्यू अर्डर नम्बर वानभित्र शेर्पा नभएको भन्ने मन्तव्य दिँदैछन्। शेर्पा नभनेर भोटिया भनिएको छ। जुन भोटियाको परिभाषाभित्र पर्ने जाति हो शेर्पा। यही कुरा किन बुझ्दैनन्? यसभित्र परिभाषित नभएका अन्य समुदायले सुरक्षा पाएको छ कि छैन? त्यसको जवाफ मुख्यमन्त्रीले दिन सक्नुपर्छ।’

उनले  अझ भने,  ‘भोटिया लेप्चा मात्र लेखिएको छ भने लाचुङ्गपा, लाचेनपा, खाङ्गसर्पा, काजी, टिबेटन र अरूले भने कसरी आफ्नो अधिकार पाइरहेका छन्? अनि कसरी शेर्पाले मात्र पाएको छैन? त्यसको जवाफ मुख्यमन्त्रीले दिनुपर्छ। यदि होइन भने शेर्पाले जस्तै यी थर भएकाहरूलाई पनि जमीन किनबेच गर्न दिनु हुँदैन।’

भोटिया र शेर्पा एकै हुन् भन्ने कुरा केन्द्र सरकारले धर्म, भाषा, संस्कृति, लिपि, रिति रिवाज र इतिहास एकै भएकोले त्यसभित्र समावेश गरिएको भए पनि अहिले राजनैतिक रोटी सेक्ने नेताहरूले भोटियाको परिभाषाभित्र परेकाहरूलाई विभाजन गरेर स्वार्थपूर्ति गर्नेहरूलाई आउने दिनहरूमा सठिक जवाफ दिन एसोसिएशन प्रतिबद्ध रहेको बताए।

शेर्पा समुदायमाथि सत्ताको रापमा अवहेलना गरेको यो क्षणलाई इतिहासले नभुल्ने बताउॅंदै अब भने कुन बाध्यता र कसको इशारामा कुन शक्तिको आडमा सिक्किमेली शेर्पा जातिलाई मास्ने षडयन्त्र हुँदैछ त्यो शेर्पा लगायत सम्पूर्ण सिक्किमले बुझ्ने समय आएको दाबी पनि गरे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares