के दार्जीलिङका महिलाहरू स्वस्थ छौँ?

हेल्थ

जानुका दाहाल


‘आइ निड टु लर्न योर हेल्दी लाइफस्टाइल’, मैले भनें।

प्रत्युत्तरमा उनले भनिन्, ‘आइ निड टु लर्न फ्रम यु, बिकज ह्याभिङ थ्रि चिल्ड्रेन यु लुक फिट एन्ड स्लिम।’

जहिलेदेखि मेरो मित्रता 65 वर्षीय अष्ट्रेलियन महिला कैटसित भयो,  उनलाई हेरेर सोच्ने गर्छु, कसरी छन् यति स्वस्थ? आधा घण्टा नबिसाइ जगिङ् गर्छिन्। सधैँ तन्दुरूस्त हुन्छिन्। कहिलेकाही  सानोतिनो बिमार भए शरिरको प्रतिरोधक शक्तिले आफै ठिक हुन्छ भन्दै दुइ तीन दिन प्यासिटामोल खान्छिन् अनि निको पनि हुन्छिन।

भन्न त भनिन ‘स्लिम एण्ड फिट’ तर ‘5 घण्टाको यात्राले  ढाँड दुखेर 5 दिन थला परें’ भन्दा अचम्मित बनेक केट भन्छिन्, ‘कसरी यो उमेरमा?’

अर्की जर्मनी महिला क्लाउडियालाई भेटें। 4 जना नानीको आमा। 55 वर्षको उमेर। अनुहारको चमक हेर्दा मस्त जवान। बिमारीको नामोनिशान छैन शरिरमा  शारिरिक मानसिक दुवै रूपमा फिट। फेरि विदेशी भन्दा पैसाको भूमिका हुनसक्छ भन्ने भ्रम हुनसक्छ तर  यिनी प्रशस्त पैसा भएकी पनि होइनन्।

त्यसपश्चात हाम्रो क्षेत्रका महिलाहरूको स्वास्थ स्थितिलाई लिएर म चिन्तित हुन थालें। वास्तवमै उनका उमेरका हाम्रा आमाहरू कुप्रो परेका, थोते, जोर्नी दुख्ने जस्ता समस्या बोकेर कष्टपुर्ण जीवन बिताउन बाध्य छन्। कैटकै  उमेरकी मेरी आमाको बिमारी गन्नु हो भने हातका औला कम्ति हुन्छ। बिमारी त मानौं छाया नै हो उनको।  उनलाई पाँच मिनेटको बाटो हिँड्न हम्मे-हम्मे पर्छ। कैट आधा घण्टा जगिङ गर्छिन्।

झन् हाम्रा  चियाबगानभित्र पत्ति टिपिरहेका आमाहरूलाई हेर्नु हो भने त 35 को छेउ- छाउमै नाना थरीका रोगले बिथोलिसकेका हुन्छन्।  हाम्रै गाउँका आमा दिदीहरू भेट्छु, कुनै बिरामी नबोकेका कमै छन्।  पाठेघरको ट्युमरले अप्रेसन गरेका, केही नभए पनि ग्याष्ट्रिक त हुन्छ नै।

अनि धेरैले यसलाई हाम्रो जातिय बिमारी नै हो भनेर हलुकामा लिन्छन् ग्याष्ट्रिकलाई। तर स्वास्थ्य विशेषज्ञहरू यसलाई बिमारीको ‘माउ’ भन्छन्।

एकदिन हाम्रो गाँउकी एउटी दिदी तमासले काम्न थालिन्। गाँउको ‘माता’-कोमा लगियो। माताले उनको बारीमा फलेको अन्न नचढाइ कसैले खाइदिएको र नयाँ देवता रिसाएर उनी बिमार भएको बताइन्। बिरामी अन्धविश्वासले यति ग्रस्त थिइन्, उनैलाई त्यहाँ पुऱ्याउन सघाउने एकजना छिमेकीलाई उनको बारीको अन्न खाइदिएको आरोप पनि लगाइहालिन्।

तर माताको फुकफाक र जोखानाले काम गरेन। अन्तमा डाक्टरकोमा लाँदा थाहा भयो, उनलाई युटीआइ (युरिनरी ट्रयाक इन्फेक्सन) भएको रहेछ।

यस्तै लक्षणका रोगी अरू दुइ चार जना अझै रहेछन् अस्पतालमा। डाक्टरले यसलाई गम्भिर रोग बताउँदै बारम्वार बल्झे या पुरानो भए किड्नी इन्फेक्सन हुने सङ्केत दिँदै सावधान गराए।

स्वास्थ्य सबैकै निम्ति अमुल्य सम्पति हो। तर म यहाँ नारी स्वास्थ्यलाई किन केन्द्र बनाउँदैछु भने नारी शरिर प्राकृतिक रूपले नै पुरूष भन्दा संवेदनशील हुन्छ। जो संवेदनशील हुन्छ, उसैलाई बचाउको धेर जरूरत पर्छ। अर्को कुरा भारतको शहरी क्षेत्रका समेत झण्डै 64 प्रतिशत महिला गृहणी छन् अर्थात यहाँ कि  एउटी नारीले सम्पूर्ण परिवारको स्वास्थ्यको जिम्मेवारी बोकेकी हुन्छिन्।

किनभने परिवारको पोषणको जिम्मा उनकै हातमा हुन्छ। अस्वास्थ्य नारीले अस्वास्थ्य  बच्चा जन्माउन नै नपाउँने कानुन नै बनाउँनु पर्छजस्तो लाग्छ मलाई।  महत्वपूर्ण कुरा के हो भने शारिरिक अनि मानसिकरूपमा स्वस्थ्य बच्चालाई जन्म दिनु समाजप्रतिको उनको कर्तव्य हो।

अझ तर यहाँका महिलाहरूको स्वास्थ्य बाल्यकालदेखि नै दयनीय अवस्थामा छ।  एउटा तथ्याङकले बताएअनुसार विश्वका एक तिहाईभन्दा बेसी कुपोषित बालक-बालिका भारतमा बस्छन्।

धेरै महिला स्वास्थ्य भन्दा सुन्दरतालाई विशेष ध्यान दिन्छन्। शरिर स्वास्थ भए सुन्दरता स्वत: कायम रहन्छ भन्ने धारणा मेरो हो। सन्तुलित, ताजा, रसायनरहित खानपानमा ध्यान दिने म तरै पनि कहिलेकाहीँ ढाँड दुखेर किन थला परेकी त म?

मेरो मात्रै होइन, यही स्थिति हाम्रा क्षेत्रका अधिकतम महिलाहरूको छ। हाम्रो क्षेत्र मात्र नभनौं हाम्रो देश नै स्वास्थ्यको क्षेत्रमा धेरै पछाडि छ। यहाँका अधिकतम महिलाहरू रोगी शरिरका साथमा स्तर-स्तरका सङघर्षका सामना गरिरहेका छन्। किन त?

विश्वमा जनघनत्वको आधारमा दोस्रो स्थानमा आउने भारत स्वास्थ्यको स्थान निकै पछिल्लो अङ्कमा देखापर्छ।  यो मुद्दासित हाम्रो राज्य र पहाड पनि अछुतो छैन। यस विषयलाई विश्लेषण गर्दै जाँदा प्रत्यक्ष अनि अप्रत्यक्ष रूपमा समाजका सबै श्रेणीका मानिस र स्वयं महिलाहरू पनि आफ्नो खस्किँदो स्वास्थ्य स्थितिको आँकडा बढाउँदैछन्।

‘एजुकेसन हब’-को रूपमा नाम लिइने दार्जीलिङलाई यसो हेर्दा शिक्षित त देखिन्छ तर शिक्षित ठाँउका मानिसहरूले आफू र समाज दुवैलाई शारिरिक मानसिक रूपमा स्वास्थ्य राख्नुपर्ने कुरालाई अनदेखा गरिरहेका छन्। यहाँका आधा शक्तिको पूरा स्वास्थ्य चिन्ताको बिषय किन बन्दैन त?

अहिले विश्व विकासको चरमशिखरमा पुगिसकेको छ। विकासको चौतर्फी अवलोकन गर्दा चिकित्सा क्षेत्रले  पनि विकास तर्फ ठूलो फड्को मारिसकेको छ तर पछि-पछि दौडिरहेकै छ अस्वास्थ्य मानिसहरूको बढ्दो संख्या र नयाँ नयाँ बिमारीको उत्पति पनि।

अहिलेको रसायनयुक्त खानपान, प्रदूषण, अस्वस्थ जीवनशैलीतिर त हामी धकेलिँदैछौं नै तर यसले स्वास्थ्यप्रति चाहीँ कस्तो प्रभाव पार्दैछ त? कस्तो खानपान र जीवनशैली उचित छ?, के-के ज्ञान हुन आवश्यक छ? कस्ता सुधार चाहिन्छ?  भन्नेबारे उति ध्यान दिँदैनौ। हाम्रो समाज आजसम्म पनि स्वास्थ्यलाई लिएर यति अचेत छन्, हेर्दा मोटो देखिने मान्छे स्वस्थ अनि पातलो देखिने मान्छे अस्वस्थ। बुझ्नेको संख्या लगभग 75 प्रतिशत भन्दा धेर छ। यस विपरित अष्ट्रेलियन कैटले भने  म पातली हुनुलाई स्वास्थ हुनुको सङ्केत दिँदै थिइन्।

कुनै पनि बिषयलाई गहिरिएर हेर्नुपर्दा पहिला आफू वरिपरिको परिवेशलाई ठम्याउन आवश्यक छ। यसर्थ भारतलाई अलिकति पर राखेर हाम्रो पहाडको महिलाहरूको खस्किँदो स्वास्थ स्थितिलाई नियाल्ने कोशिश गरेकी छु।  मेरो व्यक्तिगत अध्ययन अनि अनुसंन्धानको आधारमा हाम्रो हिमालय क्षेत्रका महिलाहरू भने अधिकतम दुइ किसिमका रोगले पीडित छन्।

1- कुपोषण जनित रोग

2-गर्भासय सम्बन्धि रोग

कुपोषण जनित रोगमा- रक्तअल्पत्ता (खुनको कमि), आमवात,(रियुमाटिज्म), स्पोन्डलाइटिस, सायटिका जस्ता बिमारीहरू छन्।

हाम्रो शरिरमा 90 प्रतिशत भन्दा धेरै रोग पेटबाट उत्पन्न हुन्छ। जसरी एउटा गाडीको इन्जिन ठिक रहुन्जेल गाडीमा कुनै खराबी आउँदैन. त्यसरी नै हाम्रो शरिररूपी गाडीको इन्जिन हाम्रो पेट हो। जति पनि कुपोषणजनित रोगहरूको भारी हामीले बोक्नुपर्दैछ, यसको मुख्य कारण हो हामीले हाम्रो इन्जिनमा सही समयमा शुद्ध तेल, मविल हाल्न नजान्नु। अर्थात पेट्रोलको जगामा मट्टितेल हाल्नाले पनि ग्याष्ट्रिक हाम्रो जातीय बिमारी बनेको हो।  कतिपय समयमा इन्जिनको गड्बडीको कारणले शरिरले औषधी लिनु नसक्नु।

बातरोग भन्नाले हड्डी जोर्नी सम्बन्धित् सबै रोग पर्छन्।  कुपोषणले धेरै जन्माउने बिमारी हो बातरोग। स्वास्थ्य विषेशज्ञहरूका बात रोगका जिम्मेवार कारणमाथि आ-आफ्नो भिन्न-भिन्न विश्लेषण र मत छ।  मुख्यतय अत्याधिक श्रमसँगै पौष्टिक खानपानको अभाव,  चोटपटक, अत्याधिक औषधिको सेवन अनि मानसिक तनाव रहेका छन् भने सन्तुलित तथा पौष्टिक भोजन नखानु र चिसो मौसम मुख्य कारण हुन्।

अहिलेको समयमा यहाँका महिलाहरूको  अगाडि उभिएको अर्को मुख्य समस्या हो गर्भासय सम्बन्धि रोग। जसमा ल्युकोरिया (ह्वाइट डिस्चार्ज) र गर्भाशयको ट्युमर युरिनरी ट्रयाक इन्फेक्सन (युटिआइ)-ले धेर महिला प्रभावित छन्। के हुन् त यी?

ल्युकोरिया (ह्वाइट डिस्चार्ज)- स्त्रीहरूको गर्भाशयलाई स्वस्थ राख्नको निम्ति पारदर्शी तरल पदार्थ नियमित रूपमा योनीबाट कम्ति मात्रामा बगिरहन्छ। तर यसैको मात्रा ज्यादा भए, दुर्गन्धित भए, पारदर्शी नभएर सेतो, पहेलो रङको भए यसलाई रोग मानिन्छ। यसले रोगीमा कमजोरीपन ल्याउनु, अत्याधिक मोटी या पातली हुनु, चिढ्चिढा स्वाभाव हुनुजस्ता लक्षण देखापर्दै रोग पुरानो भए गम्भिर रोगहरूसमेत निम्याउछन्।

गर्भाशयको ट्युमर – गर्भाशयको दैलोमा उत्पन्न हुने अनिश्चित रूप अनि आकारका अनावश्यक मांसपेशी ट्युमर हुन्। यी मटरको दानादेखि किलोसम्मका र एकदेखि कैयौ संख्यामा पनि हुन सक्छन्। ट्युमरहरू कालान्तरमा गएर क्यान्सरका कारण बन्छन्। हर साल दुनियाँमा अढाइ लाख अनि भारतमा 74 हजार यानी 3 जनामा एक  महिला गर्भाशयको क्यान्सरका कारण मर्छन्। यसका मुख्य लक्षण मासिक धर्ममा अनियमितता अनि ह्वाइट डिस्चार्ज हुन्।

के हुन् त यी बिमारी हाम्रो क्षेत्रमा यति छिटो फस्टाउँदै जानका कारणहरू?

स्वास्थ सम्बन्धमा अज्ञानता

सबभन्दा पहिलो कारण त हामीमा स्वास्थ्य सम्बन्धमा केही ज्ञान छैन अनि जान्ने कोशिश पनि पनि छैन। हामी बिमारी भयौं कि त हत्तपत्त  डाक्टरकोमा जान्छौ अनि कहिलेकाहीँ यति अनावश्यक शालिनता देखाउँछौ कि डाक्टरको च्याम्बर बाहिरको लाइन र उसले भ्याउनपर्ने क्लिनिकको सूची देखेर डाक्टर र क्लिनिकको समस्या बुझेर उसले लेखिदिएको औषधि के- कति खाने,  कसरी खाने, म बिमारी पर्नुको कारण के हो,यसबाट कसरी बच्न सकिन्छ, स्वास्थ्यका दुशमनसितसम्म पनि जानकारी नलिइ फर्किन्छौँ।

जसोतसो औषधि सिध्याएपछि केही राहत पाइन्छ। ढुक्कले बस्छौं। यो बिमारी आउनुको कारण के हो? यसबाट बच्न के कस्ता ज्ञान आवश्यक छन्? हाम्रो जीवनशैलीमा कस्ता सुधार चाहिन्छ? जस्ता बिषयमा अध्ययन अनि सुधारबारे ज्ञान पनि छैन राख्न पनि जरूरी सम्झिँदैनौं।

खानपानमा असचेत्ता

हामी खान र खुवाउनमा यति सौखिन  छौँ, हाम्रो लगभग 75 प्रतिशत समय खाना बनाउन र खुवाउनमा जान्छ। यहाँ जुनसुकै शुभकार्य हुन् या शोककार्य  परिस्थिति अनुरूप गाँउभरिका महिला भेला भएर खाना बनाउछन्। विशेष मरौ कार्यमा आलु-पुरी बन्ने गर्छ अनि खबरकागजमा प्याक गरिन्छ, जो प्रिन्ट गर्न प्रयोग गर्ने इन्क स्वास्थ्यको निम्ति अति हानिकारक हो।

हाम्रो हिमाली क्षेत्रका विशेष गरि गाँउ-बस्तीका महिलाहरू परिश्रमी छन्। तर त्यस अनुरूपको सन्तुलित भोजन खादैनन्।   धेरैलाई वास्तवमा सन्तुलित भोजनबारे ज्ञानै छैन।  यहाँका धेरै गृहणीलाई कस्ता भोजन स्वास्थवर्धक हो? सबै स्वादिष्ट भोजन स्वास्थवर्धक हुँदैनन् भन्ने कुराको ट्याक्कै ज्ञान छैन।

विज्ञापनहरूको प्रभावमा रेडिमेड प्याकेज फुडले भोक टार्न थालेका छन्। यथार्थमा भोजन जति  बासी हुँदै जान्छ त्यति नै यसमा पाइने सुक्ष्म पोषक तत्वहरू नष्ट हुँदै जाने हो।  त्यसै कारण फ्रिजमा राखेका तथा प्रिजरभेटिभ युक्त खाना सम्बन्धमा अधुरो ज्ञान भएको फलस्वरूप विभिन्न कुपोषणजनित रोगका शिकार बन्छन्।

 गर्भाशयका रोगमा- प्रसुती (डेलिवरि) पश्चात कुनै कारणवस सङ्क्रमण हुनु, यौनाङ्गको सरसफाइमा ध्यान नदिनु, एवोर्सन गराउनु तथा यहाँको हाम्रो अवैज्ञानिक परिवार नियोजनले पनि महिलाहरूको बिग्रँदो स्वास्थ्यस्थितिमा अहम भूमिका खेलेको छ। सरकारको जनसंख्या नियन्त्रणको योजनाको प्रभाव मुताविक  मानिसहरूमा यस्तो मनस्थिति बनिएको छ, धेरैले एउटा अनि केहिले दुइटा भन्दा धेर सन्तान जन्माउनु सामाजिक रूपमा असभ्य हुनुको उदाहरण मान्छन्।

जुन औषधिको इफेक्ट हुन्छ त्यसको साइड इफेक्ट पनि अवश्य नै हुन्छ।  सोही कारण परिवार नियोजन र एवोर्सनका औषधिको जथाभावी प्रयोग पनि स्त्री रोगका कारण हुन्। यसका अतिरिक्त मासिकधर्म जस्तो प्राकृतिक प्रक्रियालाई हेर्ने रूढीवादी मान्यता जिउँदै छ। यसको फलस्वरूप  मासिक धर्मलाई लुकाउने क्रममा हाइजिन सम्बन्धित शिक्षाको कमीजस्ता असन्तुलनको पनि भूमिका बन्ने गर्छ।

व्यवसायिकरणको शिलशिला–  अहिले स्वास्थ्य व्यवसायिकरणको सञ्जाल यतिबिघ्न मौलाएको छ, स्वदेशी विदेशी सबै क्षेत्रका पुँजीपति यस उद्योगमा लगानी गर्न पछि हट्दैनन्। एउटा निम्नवर्गको मानिसकोमा एउटै सम्पत्ति हुन्छ उसको मजबुत शरिर। जतिबेला उसको सम्पतिलाई सानातिना रोगले जिस्काइदिन्छन् अनि त्यो शरिरले खेप्न थाल्छ देशको अर्थनितिको कारोबार।

यहाँका सबै पार्टीको दमदार नारा हो गरिबी उन्मुलन। तर स्थिति यही रहे केही वर्ष उता रोग उन्मुलनको नारा बनाउछन्। अहिले जस्तै उन्मुलनको मुद्दामा बजेटको सानो टुक्रा राखेर ठूलो भाग पार्टी बिस्तारमा लगाउछन्।

  1. पेशा र सेवाको सामञ्यजस्यता- स्वास्थ्यकर्मीहरूद्वारा पेशालाई खाली पेशाको रूपमा हेर्नु, सेवाको भावना थोरैपनि नराख्नु। हामी जहिले पनि सरकारी अस्पतालमा देख्छौं त्यहाँ सेवामा बसेका प्रायजसो कर्मचारीहरू कठिनपूर्ण ड्युटी पूरा गर्दै गरेको उनीहरूको व्यवहारले बताउँछ। यस विपरित उनीहरूले ‘मैले मेरो समय साधारण मानिसको स्वास्थ्य जीवनको निम्ति खर्चिने मौका पाएको छु’ भन्ने भावना राखेर काम गरे स्थिति सुध्रिन्छ।
  2. स्वास्थ्य विशेषज्ञहरूको ओझेल पाटो– जब बिरामी डाक्टरको अघि उभिन्छ, उसले डाक्टरलाई आफूले पुज्ने गरेको शिव, जिजस, बुद्ध, अल्लाहआदि- आदि देख्छन्। यतिबेला डाक्टरले प्रिसक्रप्सनमा कुनै सुझाव, परामर्ष बिनाको औषधि मात्र लेख्नु उसको कर्तव्य होइन।

गरिबी – भारतले गरेका वैज्ञानिक आविष्कार उन्नतिसँगै उसको आलोचनात्मक पक्षको कुरा गर्नुपर्दा गरिबी पहिलो शब्द बन्ने गर्छ। यस्तो स्थितिमा भारतको 90 प्रतिशत ग्रामीण क्षेत्रका महिलाहरू गरिबीको चपेटमा छन्। बढ्दो महङ्गाइको मारमा परिवार धान्न उनीहरू घरको कामकाज सकेर थोरै पैसाको लागि दिनभर मजदुरी गर्न बाध्य छन्। यस्तो कठिनाईबिच  डाक्टरको सुझाव मुताविक खानपान, आराम र व्यायाम यिनीहरूका निम्ति चुनौती बन्छ। यस्तै अव्यवस्थितिले जन्माएको सङ्कटसित जुझिरहेका नारीहरूको प्रत्यक्ष अनुहार पढिरहेका छैनन् नारी विकाशको एजेण्डा बनाइरहेका व्यवस्थापकहरू।

सिस्टमको अकर्मण्यता– देशका ठूला नेता भाषण त गर्छन् आर्थिक क्रान्ति ल्याउने, विकास ल्याउने तर वास्तविकता भने यी चुनाव जित्ने ‘बेस्ट फर्मुला’ मात्र बनेका छन्। देश हाँक्न बसेका कथित बुद्धिजीवीहरूलाई देशको स्वास्थ्यस्थितिबारे, दुरगामी परिणामबारे अनि भविष्यमा अप्नाउनु पर्ने सावधानीबारेमा ज्ञान नभएर होइन, अवश्य ज्ञान छ तर पार्टी विस्तारमूलक सिद्धान्तलाई शिरोपर गर्ने  व्यस्ततामा यस्ता जरूरी मुद्दा उनीहरूका सुचीमा नै पर्दैन। परिहाले पनि पेन्डिङ नै बस्छन्। एकातिर सिस्टम वृहत संख्याको निम्नवर्गलाई मुठ्ठीमा राख्न न्युनतम मूल्यमा रासन वितरण गर्ने गर्छ तर त्यस वर्गको रासनमा कार्बोहाइट्रेड मात्रै उपलब्ध गराउनु पर्याप्त छ त?

लैङ्गिक असमानता –समानताको हकले  तल्लो वर्गका नारीलाई पनि केही हदसम्म त आजादी दिएको छ। उनीहरू स्वालम्बनलाई अनुसरण गर्न घरबाहिर निस्किन थालेका छन्। तर  कानुनले  समान अधिकार दिएको कुरा बासी भइसक्दा पनि समाजमा पुरूषसत्ताको जरा मक्किसकेको छैन।

धेरै प्रगतिशिल पुरूषहरूले नारीको सर्वाङ्गिण विकासको लागि हो मा हैंसे थप्ने गरे पनि समाजको ठूलो पाटो यस कुरूपता भित्रै दबेको हुँदा  आउटसाइड वर्कसितै घर व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी उनको काधमा हुन्छ। यस्तो स्थितिमा कतिपय नारी आफ्नो स्वास्थप्रति सचेत हुँदा-हुँदै पनि आफ्नो हेरचाह गर्न सकिरहेका छैनन्।

 स्वास्थ स्थितिमा सुधार ल्याउन के गर्न सकिन्छ त?

  1. कसैले पनि आफ्नो स्वास्थको सम्पूर्ण जिम्मेवारी डाक्टरको टाउकोमा छोडेर ढुक्क बस्नुहुँदैन। आफ्नो स्वास्थका निम्ति आफू सचेत हुनुपर्छ।
  2. सबै स्कूलहरूमा अनिवार्य रूपमा वेसिक लेवलदेखि नै स्वास्थ्य, व्यायाम अनि यौनशिक्षा जस्ता बिषयमा पठन-पाठन गराइनुपर्छ।
  3. स्वस्थवर्धक र सन्तुलित भोजनका विषयमा सबैले ज्ञान राख्न पर्छ।
  4. स्वास्थ्य जस्ता गम्भिर क्षेत्रमा आरक्षणका आधारमा नियुक्त्ति दिने प्रावधान हटाइनुपर्छ।
  5. सबै स्वास्थ्य सम्बन्धित् कर्मचारीहरूले जिम्मेवारीपूर्ण पेशागत अनि सेवाको भावनाले पनि काम गर्नुपर्छ।
  6. काम नै व्यायाम हो भन्ने धारणा गलत हो। काम गर्दा शरिरका सबै अङ्ग परिचालित हुँदैनन् र व्यायामले मानसिक तनाव पनि कम गर्छ। यसर्थ नियमित रूपमा व्यायाम योगाभ्यास गर्ने बानी  बसाल्नुपर्छ।

आजभोलि सत्तासिन अनि विभिन्न नारी उन्मुक्तिका एजेन्डा चलाइरहेका प्रगतिवादी नेतृत्वहरू नारीलाई  समानताको धारमा ल्याउन स्तर-स्तरका प्रोपोगाण्डा बनाइरहेका छन्। तर साँच्चै नारीहरूलाई खोक्रो  बनाइरहेका प्रधानतम् बिषयको ट्रिटमेन्ट गर्नु हो भने नारी उन्मुक्ति अनि ‘बेटी बचाउ’-लाई अनुशरण गर्न सकिने कुरामा आशा राख्न सकिन्छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares