डाक्टरलाई हातपात गर्ने दुई युवकले गरे कालेबुङ थानामा आत्मसमर्पण

कालेबुङ, 13 जुन


कालेबुङ अस्पतालका डाक्टर अभिषेक गौतममाथि गत 21 मईको दिन हातपात गर्ने दुई युवकहरूले आज कालेबुङ थानामा आत्मसमर्पण गरेका छन्। घटनापछि भागेका उक्त दुई युवकलाई पक्राउ गर्न पुलिसले बारम्बार उनीहरूको खोजी गरिरहेको थियो। तिनीहरूलाई पक्राउ गर्न पुलिसले दबाउ दिने कार्य पनि गरिरहेको थियो।

आज घटना भएको आज 23 दिनपछि पुलिसले दिएको चापपछि आज आरोपी लेकसाङ गावा भोटिया अनि सुरेन्द्र सुब्बाले कालेबुङ थानामा दिउँसो 12.55 मा आएर आत्मसमर्पण गरेका छन्। उनीहरू विरूद्ध भारतीय दण्ड संहिताको धारा 353 अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

उनीहरूलाई आत्मसमर्पण गरे लगत्तै स्वास्थ्य जाँच गरिएपछि कालेबुङ जिल्ला न्यायालयमा प्रस्तुत गरिएको थियो। न्यायालयसमक्ष पुलिसले उनीहरूलाई 7 दिनको रिमाण्डमा लिन अपील गरेको थियो। तथापि न्यायालयले उनीहरूलाई 5 दिनको पुलिस हिरासतमा पठाएको छ।

उल्लेखनीय छ, डाक्टरमाथि अस्पताल परिसरमा हातापाईको घटना भएपछि तत्कालै अस्पतालका कर्मचारीहरूले ओपीडी सेवा बन्द गरेका थिए। दुई दिनसम्म चलेको उक्त बन्दको दोस्रो दिन अस्पतालका डाक्टरहरू, नर्सिङ स्टाफ साथै अन्य कर्मचारीहरू अस्पतालबाहिर धर्नामा समेत बसेका थिए। पछिबाट कालेबुङ जिल्ला अधिकारी डा. विश्वनाथ, गोर्खा जनमुक्ति मोर्चाका नेतृवर्ग उपस्थित बनेर आरोपीहरूलाई पक्राउ गरेर न्यायोचित पहल गरिने आश्वासन पछि अस्पतालमा ओपीडी सेवा शुरू गरिएको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares