भारत सुन्दरीको होड़बाजीमा सिक्किमे छोरी प्रमिला छेत्री

मुम्बई, 13 जून


आगामी 19 जूनका दिनलाई भारतभरिका नेपालीभाषी गोर्खाहरूले पर्खिरहेका छन् किनभने त्यस दिन सारा देशका 30 जना सुन्दरीहरूको प्रतियोगिता सम्पन्न हुनेछ अनि यस सौन्दर्य प्रतियोगितामा भाग लिनेछिन् सिक्किमकी छोरी प्रमिला छेत्रीले। यसअघि पनि राष्ट्रिय तहको सुन्दरी प्रतियोगितामा आफ्नो प्रतिभा प्रदर्शन गरेर निकै माथिल्लो स्तरसम्म पुग्न सफल बने तापनि भारत सुन्दरीको खिताब भने जित्नबाट चुकेका गोर्खे सुन्दरीहरूको यस यात्रामा यसपालिको प्रतियोगिता खुबै महत्त्वपूर्ण रहेको छ।

भारतका चारवटा अञ्चल उत्तर, दक्षिण, पूर्व, पश्चिमका 30 वटा राज्यहरूबाट एकएक गरी छानिएका राज्य सुन्दरीहरूको यो होड़बाजी आगामी 19 जूनको राति 8 बजीदेखि सम्पन्न हुनेछ। यस प्रतियोगिताको आधिकारिक नाउँ एफबीबी कलर्स फेमिना मिस इन्डिया राखिएको छ भने यस प्रतियोगिताका प्रतियोगीहरूको पक्षमा दर्शकहरूले पनि भोट गरेर आफ्नो मत प्रकाश गर्नसक्नेछन्। प्रत्येक दर्शकले तीनजनालाई भोट गर्नसक्नेछन् जसका लागि टीओआई डट इन अब्लिक सुपरजज- मा आँखा डुलाउनुपर्नेछ।

यदि आफुले छानेका तीनजना उक्त प्रतिगोयिताको पगरी गुँथ्न सक्षम भए भने दर्शकले भारतीय रुपियाँ 85 हजार इनामको रुपमा प्राप्त गर्नेछन्। भोट गर्ने अन्तिम दिन 19 जून नै रहेको आयोजना समितिले बताएको छ। यो कार्यक्रम यहाँको वर्लीस्थित लाला लाजपत राय मार्गको एसभीपी स्टेडियममा सम्पन्न हुनेछ भने यसलाई टिलिभिजनका दर्शकहरूले जुलाई 8 तारिख मात्र हेर्न पाउनेछन् जसलाई कलर्स, एमटीबी अनि जिओटिभी-ले प्रसारण गर्नेछन्।

अर्कोतिर एकपछि अर्का गोर्खा प्रतिभाहरूले यसरी आफ्नो सुनामको सुवासना देशभरि छरिरहेको अवस्थाले विशेष गरी युवा जमातमा एकप्रकारको खुसी, सन्तुष्टि अनि आत्मविश्वास पलाउन थालेको देखिन्छ।

जितु राईद्वारा गरिएको राष्ट्मण्डलीय खेलकुदको प्रदर्शनी, सुनील छेत्री अनि अनिरुद्ध थापाबाट दर्शाइएको अन्तरमहाद्विपीय फुटबल प्रतियोगिताको प्रदर्शनी, गीताञ्जली थापाद्वारा अभिनय गरिएको बलिउड फिल्म बाइस्कोपवाला-को सफलता आदि जस्ता उत्कृष्ट उदाहरणहरू लगालग देख्न पाएर प्रतिभासम्पन्न अन्य गोर्खा कलाकारहरू पनि उत्साहित हुन थालेका छन्। मौका पाएको खण्डमा गोर्खाहरू कुनै पनि क्षेत्रमा कम छैनन् भन्ने प्रमाण दिनोदिन देखा परिरहेको स्थितिमा फेरि आगामी 19 जूनका दिन एउटा सुनौलो प्रतिस्पर्धाको मौका प्रमिला छेत्रीको अघि देखा परेको छ।

पूर्व सिक्किमको साङ उच्चतर माध्यमिक स्कुल अनि गान्तोकको सिक्किम सरकारी महाविद्यालयकी छात्रा रहेकी प्रमिला छेत्री एक आईपीएस अधिकारी बन्ने सपना साँच्छिन्। महात्मा गान्धीको सिद्धान्तलाई अप्नाउँदै आफ्नो उद्देश्यमा पुग्ने सपना देख्ने प्रमिला छेत्रीअघि 29 जना अन्य प्रतियोगीहरूसित जुझ्नुपर्ने अवस्था छ यसपालि।

विश्वलाई घृणा र ईर्ष्याको भावनादेखि मुक्त रहेको देख्न चाहने प्रमिला गान्तोकस्थित आईटीसी होटलमा गेस्ट रिलेसन एक्जुकेटिभकी रुपमा कार्यरत छिन्। पौड़ी खेल्नु, नाच्नु, खाना पकाउनु अनि साहसिक खेलकुदमा भाग लिनु उनलाई मन पर्ने विषयहरू हुन्। उनले एफबीबी कलर्स फेमिना मिस इन्डियामा राज्य स्तरीय उपाधि प्राप्त गरिसकेकी छिन्। प्रमिला भन्छिन्, आफुमाथि विश्वास गऱ्यौ भने सबै ठिक हुन्छ। आफ्नो योग्यतामाथि भरोसा अनि कठोर मिहिनेत गऱ्यौ भने आफुले नपाउने केही पनि छैन।

यसरी आत्मविश्वास बोकेकी प्रमिला छेत्रीको सामु 19 जूनको दिन एक चुनौती लिएर उभिएको छ अनि यस घड़ीमा उनलाई आवश्यकता सबै पक्षको शुभकामना अनि आशीर्वादको।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares