सांस्कृतिक पोसाक छैन भने छैन फोटोग्राफरहरूको पेशा

मोहन लामा, दार्जीलिङ, 13 जून।


सांस्कृतिक पोसाक जस्तै देखिने लुगाले चौरास्ताका फोटोग्राफरहरूको पेशा अझैसम्म बाँचेको छ। डिजिटल क्यामेरा, मोबाइल फोनको प्रयोगले दार्जीलिङको चौरास्ताका फोटोग्राफरहरूको व्यवसाय नराम्रोघतले प्रभावित भएको थियो। दैनिक कमाईमा व्यापक कमी आइसकेको थियो। उनीहरू चिन्तित बन्न थालेका थिए अनि अन्य कामहरू गर्ने सोंच पनि बनाएका थिए।

सानै उमेरदेखि जानेको र सिकेको यस कामबाहेक अन्य काममा चासो पनि लागेन। यसैले सांस्कृतिक पोसाक जस्तै देखिने लुगाहरू ल्याइ उनीहरूले आफ्नो फोटोग्राफीको पेशामा नयाँ अध्याय थपे, जसले उनीहरूको यो पेशा पुनः एकपल्ट मौलाएको छ। जसमा उनीहरू खुशी अनि सन्तुष्ट छन्।

दार्जीलिङका यी फोटोग्राफरहरूले यो प्रयोगनै बतासे, दार्जीलिङ जू, हिमालयन पर्वतारोहण संस्थान, कञ्चनभ्यू चियाबगान आदि स्थानमा पनि लागू गरेका छन्। जसको लागि उनीहरूले प्रति पर्यटक वा व्यक्ति 30 देखि 50 रूपियाँसम्म लिने गरेका छन्।

यस सम्बन्धमा दार्जीलिङको चौरास्तामा सन् 1979-देखि फोटोग्राफरको काम गरेर जीवन धान्ने अनिल गुप्तसित कुराकानी गर्दा उनले फोटोग्राफी मात्रै गरेर जीवन धान्न नसकिने अवस्था आइसकेको जनाउँदै भने, ‘यसैले विगत केही समयदेखि हामीले दार्जीलिङको केही पर्यटन स्थलहरूमा सांस्कृतिक पोसाक जस्तै देखिने लुगाहरू राखेर फोटो खिँचाउने काम गरिरहेका छौं। यी पोसाकहरू ठेट सांस्कृतिक पोसाक होइनन्, तरै पनि पर्यटकहरू यी पोसाक लगाएर फोटो खिँच्न पाउँदानै खुशी हुन्छन्।

यी पोसाक लगाएर फोटो खिँचेपछि धेरैले ठूलो साइजमा बनाइदिने अपील गर्छन् भने सामान्य साइजमा लानेहरूलाई तत्कालै प्रिन्ट गरेर फोटो दिने गरेका छौं। यसमा फोटोको सामान्य साइजको फोटोको मूल्य 40 रूपियाँ लिने गरिएको छ भने यो ड्रेस लगाएको अलगै 50 रूपियाँसम्म लिइने गरिएको छ।’

उनले भने, ‘पर्यटन मौसमको समय दिनमा आय राम्रै भइरहेको छ, तर पर्यटन मौसम समाप्त भएपछि गालामा हात राखेर बस्नुपर्ने अवस्था आउँछ। यो अवस्थाको लागि पनि यहाँका फोटोग्राफरहरू पर्यटन मौसमदेखिनै तयार बन्नुपर्ने अवस्था छ।’

स्मरण गराइन्छ, दार्जीलिङ फोटोग्राफर एसोसिएशनमा हाल लगभग 25 जना सदस्य रहेका छन्, जसले चौरास्ता, दार्जीलिङ जू, बतासे, कञ्चनभ्यू चियाबगानमा पर्यटकहरूका सेवाको लागि काम गरिरहेका छन्। यसै संगठनका एक कर्मठ सदस्य शरण तामाङले पनि हाल यो सांस्कृतिक ड्रेस लगाएर फोटो खिँच्ने कामले दैनिक आमदानी राम्रै भइरहेको स्वीकार गरे। 29 वर्षअघि 800 रूपियाँको किनेको हाइम्याक्स क्यामेरादेखि फोटोग्राफरको जीवन शुरू गर्ने शरण तामाङले त्यसपछि क्लाइम्याक्स, याशिका इलेक्ट्रो 35 जस्ता पुराना क्यामेराहरू पनि चलाइसकेका छन्।

जो-सित अहिले दुइवटा डीएसएलआर क्यामेरा छन्। उनले भने-हाइम्याक्स क्यामेरामा एउटा फोटो खिँचेपछि अर्को फोटो खिँच्न रील घुमाउऩुपर्थ्यो, तर क्लाइम्याक्समा फोटो खिँच्नसाथ रील आफै घुम्थ्यो। जसले आफै फोटो प्रिन्टर पनि ल्याएका छन् भने ग्राहकहरूलाई तत्कालै फोटो प्रिन्ट गरेर गनि दिने गरेका छन्।

उनले भने, ‘चौरास्ता हाम्रो आय-आर्जन गर्ने मूल स्थान हो, यसैले यो ओपन थिएटर वरिपरि फूलादि लगाएर अझै सुन्दर बनाउने योजना बनाएका छौं।’

दार्जीलिङका फोटोग्राफरहरूको यस स्थितिबाट एउटा कुरो स्पष्ट भएको छ-समस्या आफैले समाधानको बाटो खोज्छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares