सिक्किम : आरोप प्रत्यारोपको राजनैतिक संस्कार हुर्काउँदै नेतृत्व

विश्लेषण


सिक्किममा आम चुनाउ आउन अन्दाजी 11 महिना बाँकी छ। तर चुनावी माहोल यस्तो छ, मानौं चुनाव नजिकै छ। सत्तारूढ एसडीएफ विरूद्ध अधिकांश विपक्षी दलको आक्रोस यति चुलिएको छ, यस्तो लाग्छ, उनीहरू सत्तापक्षको कमी कमजोरीहरू सबै निफन्ने ताकमा छन्।

अर्कोतिर आफ्नो साखको रक्षा र स्वाभिमानलाई आँच आउन नदिन सत्तारूढ एसडीएफ पार्टी अध्यक्ष तथा मुख्यमन्त्री स्वयं मैदानमा उत्रिएका छन्। उनका लेफ्टिनेन्टहरूले पनि  निरन्तर प्रतिरक्षा र प्रतिहमलाको चौतर्फी रणनीति अख्तियार गरिरहेका छन्।

यसैक्रममा अहिले सत्तारूढ एसडीएफ र नव गठित हाम्रो सिक्किम पार्टी बीचमा आरोप प्रत्यारोप चुलिएको छ। 31 मईको दिन पश्चिम सिक्किमको दरामदिनमा पार्टीको कार्यकारी समिति घोषणाको गर्दै हाम्रो सिक्किम पार्टीका संस्थापक उपाध्यक्ष भाइचुङ भोटियाले पहिलो जनसभामा नै मुख्यमन्त्री तथा एसडीएफ अध्यक्ष पवन चामलिङलाई भारतकै सबैभन्दा जातिवादी र भ्रष्ट नेताको संज्ञा दिँए।

त्यसपछि नै सिक्किममा आरोप र प्रत्यारोपको राजनीतिले आकास छोएको छ। भाइचुङका आरोपहरूको जवाब दिन मुख्यमन्त्री तथा एसडीएफ अध्यक्ष पवन चामलिङ स्वयं मैदानमा उत्रिएका छन्।

उनले मैदानमा उत्रिएर भाइचुङको खोइरो जसरी खनिरहेका छन्, त्यसले बताउँदा यी आरोप केवल आरोपहरूमा मात्र सिमित छैन। यसको अन्तर्यमा वर्चस्वको राजनीति पनि लुकेको छ।

मुख्यमन्त्री पवन चामलिङले 5 जूनको दिन सरमसा उद्यानमा आयोजित जन सम्पर्क अभियानमा भाइचुङ भोटियालाई ‘दिल्लीको खेताला भएर सिक्किमे जनतालाई फुटबल खेलिरहेको’ आरोप कसे।

वैचारिक र सैद्धान्तिक राजनैतिक रणनीतिको साटो 2019 को आम चुनाउलाई लक्षित गरेर शुरु गरिएको राजनैतिक अभियानको शुरुआत नै आरोप प्रत्यारोबाट भइसकेको छ। आरोपप्रत्यारोपले जनमुद्दा र सिक्किमे जनताको समस्यालाई छोपिदिएको छ। नेतृत्व यतिखेर हिलो छेपाईमा व्यस्त छन्।

यस्तो लाग्छ, यी नेतृत्व सिक्किममा आरोपप्रत्यारोपको संस्कार स्थापित गर्न चाहान्छन्। आरोपप्रत्यारोप नै जनचासोको विषय हो कि उनीहरूले जनताको समस्यालाई गर्नुपर्ने सम्बोधन जनचासोको विषय हो, अहिले नै स्पष्ट छैन।

अहिले सिक्किमको राजनीतिक चरित्र भनेकै ‘हिलो छेपाई’ बनेको छ। यद्धपि, ती हिलो नेतृत्वकै टाई र कोटतिर धेर देखिएको छ। उनीहरूको राजनैतिक जिम्मेवारी त्यो हिलोबाट कहिले बाहिर निस्किएला?

सत्तारूढ एसडीएफ पार्टीले बारम्बार हाम्रो सिक्किम पार्टी दिल्ली अर्थात भारतीय जनता पार्टीको प्यादाको रूपमा जन्मिएको र भाइचुङलाई राजनैतिक मोहोराको रूपमा हेर्दै आएको छ।

अर्कोतिर भाजपाले पछिल्लो समयदेखि नै राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाड़ीहरूलाई आफ्नो पार्टीको प्रमुख हतियारको रूपमा उभ्याएर सफल बनेको उदाहरण राज्यवर्धन सिंह राठौडको सफल प्रक्षेपनलाई मानिएको छ।

त्यसै लहरमा भारतीय फुटबलमा सर्वाधिक चर्चामा रहेका पूर्व कप्तान भाइचुङ भोटियालाई पनि भाजपाले आफ्नो अश्त्रको रूपमा प्रयोग गर्दैन भन्ने ठाउँ छैन। एसडीएफले गरेको शङ्का यस हिसाबले धेरै हदसम्म जायज ठहर हुँदछ।

चुनाउको घण्टी बज्न अझै एक वर्षको छेउछाउ छ। यस्तोमा सिक्किमेली राजनैतिक वातारणमा देखा परेको असामयिक तीब्रताले सकरात्मक र रणकौशलगत तथा प्रजातान्त्रिक मूल्य मान्यतालाई किनारमा पारको छ।

जन आकांक्षाहरूको सम्मानको निम्ति आफ्ना पार्टीहरूले गर्ने सेवाको पुख्ता मुद्दा अघि सार्नको साटो व्यक्तिगत गाली गलौच र बद्ख्वाईँलाई नै राजनैतिक मुद्दाको रूपमा अघि सार्नुले सिक्किमले राजनीतिले राजनैतिक अपसंस्कृति आयत गर्नसक्ने सम्भावना बढाएको छ।

जुन राज्यको जनता र प्रजातन्त्रका हिमायतीहरूको निम्ति निश्चित रूपमा पनि सही मान्न सकिन्न। हाम्रो सिक्किम पार्टीका वर्तमान टाउके भाइचुङ भोटियाले शुरुआती भाषणबाटै आरोपको राजनीतिलाई पश्रय दिएका छन्।

मुख्यमन्त्री तथा एसडीएफ पार्टीका नेता पवन चामलिङ स्वयं भाइचुङ भोटियाको राजनैतिक चालप्रति प्रतिक्रिया दिएर उनी पनि आरोपको राजनैतिक मैदानमा खुलेर उत्रिनुले निकट भविष्यका चुनाउको माहोल त तात्तिएला नै। तर यो खाले सस्तो राजनैतिक प्रचारबाज र नौटङ्की छिप्पिएर जाँदा सकरात्मक र सिर्जनशील राजनीतिले सिक्किमे जनमानसमा बलियो ठाउँ नपाउने स्पष्ट सङ्केत पनि दिइरहेको छ।

सिक्किममा गालीको राजनीति हाबी बन्दै जानुले सिक्किमेली जनताको आकांक्षा र सिर्जनशील राजनैतिक विचारको स्थापनाको सवाललाई कुण्ठित पारिरहेको कुरा के नेतृत्वलाई हेक्कासम्म होला त?

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया