सन्दर्भ :  जरूरी सुचना :  ‘विनय तामाङलाई शहिदहरूको श्राप लागोस्’

प्रतिक्रिया

-पुरण छेत्री


एकताका गोर्खाल्याण्ड राज्यको योद्धाको रूपमा छाएका बिनय तामाङ, १०५ दिनको बन्दपछि भङ्गालिए। जनमानसमा एक प्रकारको उपशङ्काले जरा गाडिरहेको बेला, आफ्नो समर्थन नगर्नेहरूलाई पुलिस लगाएर पानी खेदो गरे। यसले जनताको शङ्का र उपशङ्काहरू सत्यमा परिणत हुँदै गयो। उनले बङ्गालको नुनको मुल्य चुकाउन भगिरथ प्रयास गरे तर जनताको अघि बङ्गाल सरकारको दलाल भनेर आफैले आफैलाई प्रमाणित गरे। आज चुनाव भए जिटिए उनको हातबाट फुस्किन्छ, यो ध्रुव सत्य हो।

बिमललाई गलत सुझाव दिनेहरूमा रोशन, बिनय र अनितको नाम अग्र पङ्क्तिमा आउने गरेको कुरा सर्व्विदित छ। रोशनले सङ्कटको घडीमा बिमल र गोर्खाल्याण्ड मुद्दाको साथ नछोडे पनि के कारणले बिनय(अनितले ममता अघि घुँडा टेके, जनताले बुझिसकेका छन्। बिनयभित्र पनि कहीँ न कहीँ गोर्खाल्याण्डको माया सुषुप्त बसेका होलान्, गोर्खाल्याण्ड प्रेमी र शहिदहरूप्रति ह्रदयको कुनै कुनामा माया छ होला भन्ने बिचार मेरो मनमा आइरहने गर्दथ्यो। आज थाहा पाएँ , उनी त एक नम्बरको राजनीतिज्ञ भइसकेछन्।

बिनय तामाङले आज आफ्नो क्रियाकलापको समीक्षा आफै गर्ने निर्णायक समय आएको छ। राजनीतिमा साह्रै थोत्रे र मै हुँ भन्ने मानसिकता काम लाग्दैन। आज बिनय यसको शिकार भइसकेका छन्। उनलाई आफ्नै चिर प्रतिद्वन्द्वी को हुन् थाहा छैन। पुलिस प्रशासनको बलमा एक बर्षको निम्ति जिटीए प्रमुख हुनुले केही माने राख्दैन। खञ्चुवा समर्थकहरू भोली खान नपाए अर्कैको हुन्छ भन्ने कुराको हेक्का नराख्नु बिनयको अर्काे कमजोरी हो।

उनको सुचना अनुसार उनकै ‘कतिपय नेतृत्वहरूले १७ जूनमा मैनबत्ती जुलुस र मैनबत्ती बाल्ने सल्लाह दिनु भयो।’ उनका नेतृत्वहरूले सही सल्लाह दिएका छन्, तर अहम पलाएका बिनय फेरि लेख्छन्, ‘जसलाई म स्वीकृति दिने पक्षमा छुइन।’ यसले बिनयका सहयोगीहरूप्रतिको भावना र उनका नेतृत्वहरूले पाएका मूल्य र मान्यता के कति छ सहजै बुझ्न सकिन्छ। आफ्नै नेतृत्वहरूको सल्लाह नमान्नु र उनीहरूको पक्ष नलिनुले बिनयको नेतृत्व कुन दिशातिर लम्किरहेको छ सहजै अनुमान लगाउँन सकिन्छ।

‘बिरेन भुजेलद्वारा प्रशारित बिमल गुरूङको मैनबत्ती बाल्ने अपिल अगावै आएकेले’( लेख्न सक्ने बिनयले शहिदहरूप्रति राखेको श्रद्धा स्पष्ट देखिन्छ। आफै ‘बिमलको आधार छैन पहाडमा’ भन्ने अनि बिमलसँग आफै डराउने दाहोरो चरित्र यसैले उदाङ्गो भएको छ। घरि भुप्रोको खरानीसँग डराउने घरि बिमलको अपीलसँग। गोर्खालाई चाहिएको निडर र आँटी नेता बिनय होइन भन्ने कुराको यो भन्दा अर्को ठूलो उदाहरण के होला र!

शहिदहरू त शहिद हुन, उनीहरूको धर्म, जात, दल र झण्डा हुँदैन। उनीहरूको त त्याग र बलिदानको मात्र लेखा-जोखा हुन्छ। ती वीर-बिरङ्गना न त बिमलको पेवा हुन् न त बिनयको गोजीको हो। माटो र जातिकोलागि प्राण गुमाएका शहिदहरूप्रति बिनयको पूर्वाग्रह देखेर उनीहरूको आत्मा कति रोइरहेका होलान। कुनै न कुनै शहिद त बिनयको सपनामा आउँनेछन् र पक्कै भन्ने छन्, ‘बिनय तिम्रो कुर्सी मेरो त्याग र बलिदानको उपहार हो।’

सपनामा पनि नझस्किए, बिनयले आफ्नो संवेदनशीलता हराएको आफै बुझ्नु। यस्ता शहिदहरू, जसलाई बिनयले जिन्दगीभरि सम्झनु पर्छ, आज उनचहरूकै सम्झनामा जनतालाई एउटा मैनबत्ती धरि नबालीदिने उनको अनुरोध एउटा अक्षम्य अपराध हो, शहिदहरूको अपमान हो।

सार्वजनिक रूपमा पूजापाठ र मैनबत्ती जुलुस गर्न नपाए पनि, जनताले आ-आफ्नो घरमा दियो जलाएर शहिदहरूका त्यागको सम्मान गर्न सक्नेछन्। बिनयसँग त्यत्रो पुलिस र शक्ति छैन कि विश्वमा क-कसले शहिदहरूको नाममा १७ जुनमा दियो जलाए, हेर्न पठाउन सकोस्। यो लेखले बिनयले मेरो पछि पुलिस लगाउन सक्छन्, म त्यो भन्दा महान काम उनीबाट अपेक्षा पनि गर्दिन तर शहिदहरूको त्याग र बलिदानको सम्झनामा १७ जूनको साँझ अवश्य दियो जलाउने छु र जलाइरहनेछु। शहिदहरूको खुनको फाल्सामाथि बिनय राजनीति गरिरहुन् तर आफ्नो पाप बङ्गाल पुलिस र ममताले बाँडेर भोग्दैनन् भन्ने कुराको हेक्का राखेर। यसो त जुन शहिदहरूको रगतले विनय तामाङलाई कुर्सी दियो, त्यही कुर्सीमा बसेर शहिदको अपमान गरिरहेका छन्। शहिदहरूले निश्चय पनि विनय तामाङलाई श्राप दिँदैन त कसरी भन्न सकिन्छ त?

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया