दुइ साँढेको नब्बे मिनेट र सम्भावना

विश्व राजनीति

बबिता मादेन


अन्तिम पटक 1950-53 मा भएको कोरियाई युद्ध पश्चात अमेरिका र नर्थ कोरियाई नेताहरू न त कहिल्यै भेटे न कुनै सञ्चार माध्यमबाट नै सम्पर्कमा रहे।

सिङ्गापुर शिखर वार्ताको सिधा श्रेय यदि कसैलाई जान्छ भने ती हुन विवियन बालाकृष्णन र के शनमुगल। सिङ्गापुर सरकारमा मन्त्री पदमा आसिन यी दुई भारतीयहरूको अथक प्रयासले संसार कै दुई शक्तिशाली शासकहरूलाई वार्ताका टेबलसम्म ल्याईपुऱ्यायो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अनि नर्थ कोरियाई तानाशाह किम जोङ उन-का ऐतिहासिक भेटघाट कार्यक्रम दुनियाँको निम्ति चमत्कार भन्दा कम्ति थिएन।

केही दिन अघि मात्र ट्रम्पले भनेका थिए, ‘यदि वार्ताका सकारात्मक माहौल नबनिए तत्कालै बाहिरिन पनि सक्छु।’  तानाशाह किमका एउटा अलग्गै दुनियाँ छ। जहाँ केवल आफ्नै नियम – कानुन छन्। यस्तोमा वार्तालाई लिएर दुनियाँ निक्कै शशङ्कित थिए। यो भन्दा ज्यादा आश्चर्य त तब भयो जब दुनियाँले अपेक्षा गरे भन्दा उत्कृष्ट वार्ताका परिणाम आयो। कहीँ न कहीँ केही न केही ‘मात्रा’-मा अब एउटा नयाँ अध्यायको शुरूवात भएकै हो कि भनेर पनि सोच्न बाध्य गरायो।

अमेरिका लगायत अन्य राष्ट्रहरूको आपत्तिलाई अनसुना गरेर अटेरी किमले परमाणु परिक्षण गरिरहे जसबाट रूष्ट बनेका अमेरिकाले नर्थ कोरियामाथि आर्थिक प्रतिबन्ध लगायो। दुई साँढेहरूको जुझाईमा बाँकी राष्ट्रहरू पनि नपिसिने कुरै आएन।

भन्नेले ठिकै भनेका छ्न, ‘प्रत्येक समस्याको समाधान वार्ताबाट नै सम्भव छ।’

दुई जिद्दी, घमण्डी, शङ्की शासकहरूलाई केवल एउटा नब्बे मिनेटको वार्ताले घनिष्ठ बनायो। संसारलाई सुनिश्चित र सुरक्षित भविष्य दिने प्रयासको सराहना गर्नै पर्छ। तेस्रो विश्व युद्धको सङ्घारमा उभिएको आजको स्थितिलाई गहनतापूर्वक हेरेर भन्नू हो भने वार्ताको निम्ति सहमत भएर नब्बे मिनटसम्म एकाअर्काप्रति सहमति जनाउनु नै मुख्य कुरा हो। अचानक हुने लडाइँ र यसबाट हुने व्यापक क्षति फिलहालको लागि टरेको छ र एउटा सम्झौताले करोडौं जिन्दगी बाँच्दैछ भने त्यो वार्ताको सफलता नै मान्नु पर्छ।

वार्तामा पारित बुँदाहरू माथि प्रतिबद्धता दोस्रो कुरा हो। राष्टपति ट्रम्पले वार्तालाई सकारात्मक बताएता पनि खुदै अमेरिकी विशेषज्ञहरू वार्ताप्रति सन्तुष्ट छैनन्। तर एउटा कुरा के किटान गरेर भन्न सकिन्छ भने वार्ताको आन्तरिक रूप जस्तै भएता पनि दुई शासकको बाहिरी कुटनैतिक व्यवहारले भविष्यमा दुई राष्ट्र बिच सदभावनापूर्ण भेटघाटका बाटोलाई खुल्ला राखिदिएका छ्न्।

भरोसा कै कुरा गर्नु हो भने यी दुई राष्ट्रहरूमा एउटाको पनि भरोसा गर्नु सकिँदैन। दुनियाँका कम्जोर देशहरूमाथि आफ्नो शक्तिको दुरूपयोग गर्ने अमेरिका कदापि चाहँदैन कि कुनै पनि राष्ट आफू भन्दा शक्तिशाली बनोस्। यस्तोमा नर्थ कोरियाले अमेरिकासम्म पुग्ने मिसाईलको परिक्षण गर्दा अमेरिकाको रातका निन्द्रा त गायब हुने नै भयो।

जहाँसम्म परमाणु निशस्त्रीकरणको कुरा छ, यसलाई पुर्णरूपमा स्विकार्नु नर्थ कोरिया बाध्य पनि छैन।

परमाणु शक्ति नै किमको राप, ताप र साख हो जसको अघि संसार कै शक्तिशाली राष्ट्रपति डोनाल्ड ट्रम्प घुँडा टेक्न बाध्य छ। यो प्रतिस्पर्धात्मक युगमा सबैको एउटै चाहाना छ कुनै पनि माध्यमबाट दुनियाँलाई आफ्नो मुठ्ठीमा राख्नु। यस्तोमा आंशिक निशस्त्रीकरण गरिएता पनि नर्थ कोरिया सम्झौतामा एक कदम अघि बढेको स्विकार्नु पर्छ।


चित्र : इन्टरनेट

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया