एच. एस. उत्तीर्णका लागि शिक्षण तालिम अधिसूचना सार्वजनिक

 कालेबुङ, 16 जुन


पश्चिम बङ्गाल प्राथमिक शिक्षा बोर्ड अन्तर्गत डिप्लोमा इन एलिमेन्ट्री एडुकेसनको दुइ वर्षीय तालिमका लागि अधिसूचना जारी भएको जानकारी पाइएको छ। उम्मेद्वारहरूको आवश्यक योग्यताको सूचना दिँदै बोर्डले 2018-2020 -को तालिमका लागि अनलाइन आवेदनको निमन्त्रणा गरेको छ। यो तालिम एनसीटीई -बाट मान्यताप्राप्त अनि पश्चिम बङ्गाल प्राथमिक शिक्षा बोर्डसित आबद्ध संस्थानहरूमा प्रदान गरिने जानकारी दिँदै योग्य उम्मेद्वारहरूले आगामी 26 जूनभित्र आवेदन फारम भर्नुपर्ने बताइएको छ।

प्राप्त जानकारीअनुसार दार्जीलिङ पहाड़मा दुइवटा संस्थानहरूलाई यो मान्यता प्राप्त छ – श्री रामकृष्ण सरकार प्रायोजित प्राथमिक शिक्षक प्रशिक्षण संस्थान, दार्जीलिङ अनि कालेबुङ सरकारी प्राथमिक शिक्षक प्रशिक्षण संस्थान, कालेबुङ। बोर्डद्वारा जारी गरिएको अधिसूचनाअनुसार उम्मेद्वारको शैक्षिक योग्यता उच्च माध्यमिक परीक्षा 50 प्रतिशत अङ्कसहित उत्तीर्ण हुनुपर्नेछ।

यद्यपि आरक्षित वर्गका उम्मेद्वारहरूले भने निम्नतम 45 प्रतिशत अङ्क प्राप्त गरेको हुनुपर्नेछ। उम्मेद्वारहरूको उमेर सीमा अधिकतम 35 तोकिएको छ भने आरक्षित वर्गका उम्मेद्वारहरूको उमेर भने 40 भन्दा अधिक हुनुहुन्न। इच्छुक उम्मेद्वारहरूले अधिक जानकारीका लागि आधिकारिक वेबसाइट डब्ल्यूडब्ल्यूडब्ल्यू.डब्ल्यूबीबीपीई.ओआरजी अथवा डब्ल्यूडब्ल्यूडब्ल्यू.डब्ल्यूबीएसईडी.जीओभी.इन अथवा डब्ल्यूबीबीप्राइमरीएडुकेसन.ओआरजी-मा हेर्नुपर्नेछ।

फारम भर्नका लागि आवश्यक जानकारी अनि सहयोगका लागि कालेबुङको थाना डाँड़ा स्थित चरित्र प्रकाशनको कार्यालयमा पनि सम्पर्क साँध्न सकिने जानकारी प्रकाशनको तर्फबाट सुकमित सुब्बाले दिएकी छिन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया