ल्याटिन अमेरिकाको निःशब्दता

स्पीच

गाब्रियल गार्सिया मार्खेज


ल्याटिन अमेरिका, जसको परिचय सङ्कटबारे मार्खेजले बोलेका छन्। स्टकहोल्ममा 1982 मा नोबल पुरस्कार थाप्दै गर्दा पनि ल्याटिन अमेरिकालाई हेर्ने युरोपीय दृष्टिदोषबारे मार्खेजले बोलेका थिए, यसैलाई कवि लेखनाथ छेत्रीले अनुवाद गरेका  हुन्।


म्यागलेनलाई आफ्नो पहिलो विश्व यात्रामा साथ दिने फ्लोरेन्टिनी जाहजचालक एन्टोनियो पिगाफेटाले दक्षिण अमेरिका महादेशबाट छिरेर जाँदा यहाँको आफ्नो अनुभव एक यथातथ्य इतिवृतमा लेखेका छन्, जो आजसम्म काल्पनिक लाग्छ।

उनले लेखेका छन्, यहाँ उनले यस्ता सुङ्गुर देखे जसको नाभी पछिल्तिर थियो। उनले खुट्टा बिनाका चराको प्रजाति देखेको कुरा लेखेका छन्, जसको पोथीचरोले भालेचरोको पीठमा अण्डा पार्थ्यो। जिब्रो बिनाको समुद्रपक्षी जसको चुच्चो चम्ची आकारको थियो, उनले देखेका थिए। उनले एक विशालकाय पशु पनि देखेको थिए जसको टाउको अनि कान खच्चडको जस्तो थियो। शशिर ऊँठको जस्तो, खुट्टा मृगको जस्तो अनि हिन्हिनाउँथ्यो घोडाजस्तो।

प्याटागोनिया आइपुगेपछि भेटिएको पहिलो मानवलाई उनीहरूले जब ऐना अघि उभ्याए, त्यो मानव त्यतिबेलै पागल बन्यो। किनकि उ आफ्नै छविसँग वेहद आतङ्कित बनेको थियो।

म्यागलेनको यस संक्षिप्त अनि मोहक पुस्तक – जसमा हाम्रो शुरूवाती उपन्यासका झाँकी छन्, यो कुनै पनि हिसाबमा आजको हाम्रो यथार्थको लागि त्यतिबेलाको समयको एक विस्मित पार्ने साक्ष्य होइन।  इन्डीज यात्रीहरूले यस्ता असङ्ख्य तथ्य हामीलाई छोडेर गए।  एल डोराडो – एक काल्पनिक देश, जसलाई पत्तो लगाउने हामीले यति गहिरोसँग चहाना राख्यौं, कार्टोग्राफरको स्वप्नचित्र अनुरूप स्थान अनि रूप परिवर्तन गर्दै यो देश हाम्रो मानचित्रभित्र वर्षौंसम्म रह्यो।

विख्यात अल्भार नुनेजले ‘यौवनको फोहरा’ को खोजीमा आठ वर्षसम्म उत्तर मेक्सिकोको फन्को मारे। उक्त असाधारण अनुसन्धानमा निस्केका यात्रीहरूले एकअर्कालाई जिउँदै खान बाध्य बने। शुरूमा निस्केका छ सय मध्ये केवल पाँच फर्किएर आए।

अतहुवल्पाको ऋण तिर्न प्रत्येकले साँडे चारसय केजी सुन काँधमा हालेर निस्किएका एघार हजार खच्चडहरू अहिलेसम्म खोलिन नसकेको रहस्यहरूमा एक हो, जो आफ्नो गन्तव्यमा पुग्न सकेनन्। पछि उपनिवेशकालमा  एलुभियल माटोमा हुर्किएका कुखुराहरूको पाकस्थलमा भेटिएका ससाना सुनका ढिकाहरूलाई कार्टाजिनामा बेचियो।

पुर्वजहरूको सुनमाथिको पागलपनले हालसम्म हामीलाई पछ्याउन छोडेन। अघिल्लो शताब्दीतिर पनामा सङ्कीर्णपथमा अन्तरसमुद्री रेलरोड निर्माणको लागि आएका एक जर्मन मिशनले एक हैरान पार्ने निष्कर्ष निकाले। फलामको धातु त्यहाँ बेहद दुर्लभ भएकैले सुन प्रयोग गरेर रेलरोड बनाइए प्रोजेक्ट फायदाजनक हुनेछ, उनीहरूको अनुसन्धानले भन्यो।

स्पेन– उपनिवेशवादबाट मुक्त भएपछि पनि हामी आफ्नो पागलपनबाट बाँच्न सकेनौं। तीनचोटी मेक्सिकोका तानाशाह बनेका जनरल एन्टोनियो लोपेजले पेस्ट्री युद्धमा गुमाएको आफ्नो दाहिने खुट्टाको शानदार अन्त्येष्टि आयोजना गरे।  सोह्र वर्षसम्म एक्वेडोरमा राजतन्त्र चलाउने जनरल गाब्रियल गार्सिया मोनेरो मरेपछि उनको लाशलाई युनिफर्म लगाइयो, उनको छात्तिमा तक्मा टाँसेर प्रेसिडेन्सियल कुर्सीमा चढाइयो अनि चौकसी बसियो।

तीस हजार कृषकको बर्बर हत्या गर्ने एल सल्भाडोरका निरङ्कुश धर्मभीरू शासक जेनरल म्याक्सिमिलियानो हर्नान्डेज मार्टिनेजले खानामा विष जाँच्न एक पेन्डुलमको आविष्कार गरेका थिए अनि स्कारलेट ज्वरोको महामारीसँग लड्न सडकका बत्तीहरूलाई रातो कागजमा बेह्रेका थिए। टेगुसिगल्पाको मुख्य चौराहमा उभ्याइएको जेनरल फ्रान्सिस्को मोराजानको शालिक असलमा मार्शल रेको थियो जसलाई रद्दि मुर्तिहरूको गोदामबाट किनिएको हो।

एघाह्र वर्ष अघि हाम्रो समयको लोकप्रिय कवि पाब्लो नेरूदाले आफ्ना शब्दमार्फत ल्याटिन अमेरिकालाई चिनाए।  ल्याटिन अमेरिका – बहकाइएका पुरूष अनि ऐतिहासिक महिलाहरूको विशाल ठाउँ जसको हठी स्वाभाव आफ्नै दन्तकथाबाट भ्रमित छ, यहाँदेखि यता असल अनि खराब दुवै तरिकाले सबभन्दा तीब्र गतिससँग यहाँको त्रासपूर्ण समाचार युरोपको अन्तस्करणमा घुसेको छ।

हामी एकैक्षण पनि शान्त बस्न सकेनौं। जलिरहेको महलमा मोर्चाबन्द एक प्रोमिथीय शासक पूरा फौजसँग लड्दा लड्दै मारिए। दुइ सन्देहजनक अनि रहस्यमय हवाई दुर्घटनामा परेर एक दिलदार राष्ट्रपति अनि अर्का जनताको प्रतिष्ठा पुनरस्थापन गर्ने गणतान्त्रिक मिलिटेरी शासक, दुवै मारिए।

कुल मिलाएर अहिलेसम्म पाँच युद्ध भए अनि सत्रह कू चलाइए। ईश्वरको नाममा एक क्रुर शासक आए अनि ल्याटिन अमेरिकामा हाम्रो समयको पहिलो नश्लीय हत्या आरम्भ गरे। बीस हजार ल्याटिन अमेरिकी केटाकेटी उनीहरूको दोस्रो जन्मदिन अघि मारिए। यो सङ्ख्या १९७० देखि यता जन्मिएका युरोपका सबै बाल – बालिका बराबर हुन्छ।

लगभग १२००० मानिस उत्पीडनको कारण निखोज छन्, जो उप्सला शहरको जनसङ्ख्याबारे हामीलाई कुनै जानकारी नहुनु बराबर हो। पक्रा परेका असङ्ख्य गर्भवति महिलाहरूले अर्जेन्टिनाका कारागरहरूमा बच्चा जन्माए। गुप्त रूपमा एडोप्सनको लागि दिइएका अथवा सैन्य अधिकारीहरूले अनाथाश्रममा राखेका ती नानीहरूको ठेगाना अनि परिचयबारे कुनै जानकारी छैन।

म यो विश्वास गर्ने दुस्साहस गर्छु, केवल लेखकीय अभिव्यक्तिको कारण होइन तर यस्ता व्यापक असामान्य घटनाहरूले स्वीडिश लिटरेरी अकादमीको ध्यान ल्याटिन अमेरिकातिर तानेको छ। यहाँ सबैतिर यस्तो यथार्थ छ जो केवल कागजी दुनियासम्म मात्र सिमित छैन। हरेक दिन मारिने असङ्ख्य मानिसहरूको मृत्यु-कारण पनि यसैभित्र उपस्थित छ।

यो यहीँ दुनियाँ हो जो हामीभित्र निरन्तर स्पन्दित हुन्छ। यो दुनियाँ एक यस्तो यथार्थ हो जो सृजनाको वेगलाई सुकेर जान दिँदैन, जहाँ दुर्भाग्य अनि सौन्दर्य दुवै भरिभराउ छन्। गुमराह अनि आफ्नै स्मृतिमाथि लालायित म यहीँ दुनियाँको एक सौभाग्यशाली नागरिक हूँ जो तपाईँ अघि छु। कवि अनि भिखारी, सङ्गीतकार अनि मसिहा, सैनिक अनि दुर्जन हामी सबै जो यो अस्तव्यस्त दुनियाँका जिवीहरू छौं, कल्पनाशिलताभन्दा धेरै पर हाम्रो सबभन्दा ठूलो चुनौति भनेको यस्तो परम्परागत उपकरणको अभाव हो जसले हाम्रो जीवन विश्वासयोग्य बनाइदियोस्। साथीहरू ! यहीँ हाम्रो निःशब्दताको सार हो।

यही कुराहरू निश्चय नै हाम्रो बाधाहरू हुन्। तर सांस्कृतिक चिन्तनहरूले गौरवान्वित गरेको हाम्रो तर्कसँगत विलक्षणतालाई व्यख्या गर्ने सही विधिको विकास आजसम्म तयार भएको छैन। यो कुरा बुझ्न धेर कसरत गरिरहन पर्दैन। उनीहरूले हाम्रो मुल्याङ्कनको लागि त्यहीँ मापदण्डको प्रयोग गरिरहेका छन्, जसको प्रयोग उनीहरूले आफैलाई जोख्नको लागि गरेका हुन्।

हरेक जीवनको सुख-दुख, त्रासदी अथवा बेथिति समान हुँदैन। बस्,  अस्तित्वको लागि गरेको सङ्घर्ष त्यति नै जटिल अनि रगताम्य बनिरहेको छ जति उनीहरूको लागि थियो। विदेशी चश्माबाट हाम्रो यथार्थको व्यख्याले हामीलाई अझ धेरै अस्तित्वहीन, कम स्वातन्त्र अनि अझ गहिरो निःशब्दतातिर धकेलिरहेको छ।

आफूलाई गौरवशाली भन्ने यूरोपले यदि आफ्नै अतितमा हामीलाई राखेर चिन्तन गरे हाम्रो यथार्थ बुझ्न सजिलो बन्ने छ। लण्डनको आफ्नो पहिलो रक्षा किल्ला बनाउनको लागि तीन सय सालको समय लागेको थियो अनि पहिलो विशप पाउनको लागि अझ तिन सय साल। इत्रस्कन्स शासकले रोमलाई इतिहासको परिधिभित्र स्थापना गर्न दुइ हजार सालसम्म अनिश्चितताको अन्धकारमा झेल्नु जेलिनुपरेको थियो।

आज कोमल पनिर अनि चम्किलो घडीको उत्पादन गरेर हामीलाई लोभ्याउन खोज्ने स्वीजरल्याण्डको सेनाले आफैलाई मसिहा घोषित गरेर सोह्रौं शताब्दीतिर यूरोपमा रगतको खोला बगाएको थियो। रेनेसाको चरम अवस्थामा जर्मन मर्सिनेरीले आठ हजार सैनिकलाई छुरीको धारले रेटेर रोमलाई रातारात लुटपाट गरी माटोमा मिलाइदिएको थियो।

टोनी क्रूगेरको आदर्शलाई साकार बनाउने मेरो चाहना होइन, जसको पवित्र उत्तर अमेरिका अनि भावपूर्ण दक्षिण अमेरिकाको एकीकरणको सपनालाई ठीक यहीँ ठाउँ ५३ साल पहिले पूर्व थामस मानलाई रोमाञ्चित गरेको थियो। तर मलाई विश्वास छ, स्पष्ट दृष्टिकोण भएका यूरोपीय मानिस, जो एक व्यापक गृहभूमिको लागि सङ्घर्षरत् छन् – एक यस्तो गृहभूमि जो मानवीय अनि न्यायपूर्ण होस्, उनीहरू हाम्रो यथार्थलाई हेर्ने आफ्नो दृष्टिकोण सच्याएर हामीलाई सहायता गर्न सक्नेछन्। उनीहरूको कुरा अनि शाब्दिक सहानुभूतिमा धोका लुकेको हुन्छ। आफ्नै सामर्थ्यमा उभिने हाम्रो सपनाहरूलाई उनीहरूले काँध हालेपछि यो निःशब्दताबाट हामी निस्कने होइनौं जबसम्म उनीहरू आफ्नो स्वार्थ भुल्दैनन्।

ल्याटिन अमेरिकासँग सङ्कल्पहीन कठपुतली बन्ने न कुनै चहाना छ, न त्यो हुन आवश्यक छ। पश्चिमी दुनियाँको आकांक्षाको छाया परेको स्वाधिनता अनि मौलिकता हाम्रो सपना होइन। आजको समयमा यद्यपि अमेरिका अनि युरोपबीच भौगोलिक दुरी घटेर गयो तर संस्कृतिक दुरी बढ्दै गइरहेको आभास हुन्छ।

साहित्यमा हाम्रो मौलिकता अविलम्ब स्वीकार हुन्छ जबकि भयङ्कर समस्याहरूबीच सामाजिक परिवर्तनको लागि हाम्रो सङ्घर्षलाई विफल बनाउने प्रयास चलिरहन्छ। उनीहरू किन जान्न चहाँदैनन् कि यूरोपमा प्रचलित सामाजिक न्यायको व्यवस्था हामी ल्याटिन अमेरिकीहरूको लागि लागू हुँदैन, किनकि भिन्न स्थितिको लागि भिन्न व्यवस्था जरूरी हुन्छ। हाम्रो रक्तरञ्जित अनि हिंसाले भरिएको इतिहास इहलौकिक अन्याय अनि अनन्त गठिलो परिणाम हो, नकि हाम्रो देशबाट हजारौं किलोमिटर टाडा तयार गरिएको कुनै षडयन्त्र। तर धेरै यूरोपीय शासक अनि विचारक यसरी नैं सोंच्छन्, जसरी केटाकेटी- मस्तिष्कले उनीहरूको पूर्खाहरूले मान्ने गर्थे। हामी कहिल्यै सही निर्णय गर्न सक्दैनौं, जस्तो कि संसारको स्वामी प्रतित हुने दुइ शक्तिशाली मसिहाहरूको दयाबिना हाम्रो जीवन बेसहारा अनि निरूद्देश्य छ।

तर दमन, लुट अथवा हामीलाई बेसहारा गर्ने जति कोशिश होस्, हामी जीवनको लागि लडिरहन्छौं। चाहे बाढ होस् या हैजा, अनिकाल होस् या प्राकृतिक त्रासदी, या त शताब्दीदेखि चलिरहेको अविराम युद्ध। यिनीहरूमध्ये कुनैले पनि मृत्युभन्दा हमेशा अधिक महत्वपूर्ण मानिने जीवनको हैसियतलाई घटाउन सक्दैन।

जीवनसँगको लगावलाई बनिरहन दिन अनि बढ्नबाट हामीलाई कसैले रोक्न सक्दैन। हरेक साल मृत्युको तुलनामा लगभग साँढे सात करोड अधिक मान्छेको जन्म हुन्छ। सबभन्दा धेर मानिस पर्याप्त संसाधन नभएको देशमा जन्मिरहेका छन्, जसमा ल्याटिन अमेरिका पनि पर्छ। जहाँ अधिक समृद्धशाली देशहरू आज धरतीमा बाँचिरहेका अनि जन्म लिने पिँढीलाई सयभन्दा अधिकचोटि समाप्त गर्ने विनाशकारी शक्ति जुटाइसकेको छ।

आजजस्तै कुनै एक दिन मेरो गुरू विलियम फक्नरले यही ठाँउबाट भनेका थिए, ‘म मानवताको अन्तको सम्भावनालाई स्वीकार गर्न अस्वीकार गर्छु।’

एक समय जहाँ उनी उभिएका थिए, म आफैलाई त्यहाँ पाउन गाह्रो अनुभव गरिरहेको छु। किनकि फक्नरले ३२ साल पहिले जुन धरती वा मानवताको अन्तलाई स्वीकार गर्न अस्वीकार गरेका थिए। आज त्यो एक सामान्य वैज्ञानिक सम्भावना बनेको छ। हामी चारैतिरबाट जुन त्रासद सत्यले घेरिएका छौं त्यसले हामीलाई भित्रदेखि खल्बलाएको छ।

तर मजस्तो एक लेखक जो हरेक सम्भावनामाथि विश्वास गर्न तयार छ, मलाई भरोसा छ कि कुनै युटोपियालाई निर्माण गर्ने मामलामा अहिले कुनै बिलम्ब भएको छैन। हामीलाई नयाँ अनि असीमित सम्भावनामाथि विश्वास गर्ने किसिमको युटोपियाहरूको खाँचो छ।

जहाँ कसैको मृत्यु कसरी हुन्छ यसबारेमा कसैले निर्णय लिन नसकोस्, जहाँ प्रेम पूर्ण रूपले सत्य अनि निष्कपट होस् अनि जहाँ खुशी रहन पूर्णरूपले सम्भव होस्। जहाँ सय वर्षको निःशब्दताबाट बाहिर निस्केको पिँढीलाई अन्तत यस धरतीमा जिउने नयाँ अवसर मिलोस्।


कवि लेखनाथ छेत्रीले मार्खेजले विभिन्न अवसरहरूमा दिएका वार्ताहरूका अनुवाद गरिरहेका छन्। साङ्ग्रिला इण्डियाले त्यसैको सङ्ग्रह ‘कथाहरूको पछिल्तिर’- प्रकाशन गर्ने तयारी गरिरहेको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया