प्रश्नहरूको कारखाना-मा नारी

किताब

मुन्नु गौतम


सरिता तिवारी जो समसामयिक विषयहरूमा आफ्नो निडर अभिव्यक्ति दिन कहिल्यै चुक्दिनन्। यसो भन्ने गर्छिन्- ‘भोकबिनाको मानिस परिवर्तनको पक्षधर बन्न असम्भव छ।‘ यहाँ परिवर्तन भन्नाले मार्क्सवादी दर्शन, समाजलाई सही दिशा निर्देश गर्ने सङ्केत वा सुधारवादी दृष्टिकोण वा वर्गीय सङ्घर्षको चेतनालाई निर्क्यौल गर्ने विशेषता बुझौँ।

जे बुझौँ तर सरिताको जुझारूपनलाई बुझौँ। विचारको आँधीमा जेलिएकी सरिताको उग्रतामा परिवार व्यग्र छ – समाज चिन्तित छ। तिनको विचारलाई लगाम लगाउन पाए हुने भन्ने ध्याउन्नमा बस्ने तथाकथित समाजसुधारक र विचारकहरूको दयनीय मनोस्थिति तयरी उजागर गरेकी छिन्-

‘मलाई देखेर

मेरा आफन्त, प्रियजन

अतिशय आजित् छन् – त्रसित छन्

र सोधिरहनेछन् डाक्टरहरूसँग

कहाँ पाइन्छ हजुर विचारदंशको औषधि?’

(विचार)

साहित्यले राजनीति गर्नुहुन्छ कि हुँदैन भन्ने प्रश्नमा तिनी त्यसको हल त्यसैमा रहेको पाउँछिन् – ‘त्यसो भन्नु नै ठूलो राजनीति हो।‘

‘लेखनमार्फत राजनीति गर्छु – कोखामा कुरा नराखी भन्छु’ भन्ने प्रखर मार्क्सवादी विचारकी पक्षधर सरितामा सबै कुरो भन्ने हेक्का छ।

सन् 1960 र 1970 का दशकभित्र बेलायतको मार्ग भएर साहित्यमा भित्रिएको मार्क्सवादी नारीवादले आज आफ्नो क्षेत्र विस्तार गर्दै वैश्विक प्रभुत्व हासिल गरिसकेको तथ्य समकालीन नारीलेखकहरूका कलमद्वारा प्रमाणित भइसकेको छ।

आर्थिक शोषणको प्रमुख मुद्दादेखि लैङ्गिक उत्पीड़न, महिला श्रम र ज्यालासम्बन्धी असमानता, सामाजिक पृष्ठभूमि विश्लेषण, पितृसत्ता, पूँजीवाद सबै विषयलाई समेटेर अघि आएको मार्क्सवादी अवधारणाले सामाजिक संरचनालाई फेर्नु पर्ने असम्भव जस्तो लाग्ने चुनौतीलाई आत्मसात गरेको छ। यसैले कविका काव्यिक आवाजले यसरी विद्रोह बोल्छ-

‘मेरा घरका भित्ताहरूको लिपि

र मात्र मलाई थाहा छ

कहाँनेर छ

मेरो पसिनाको मसीले लेखेको

गुमनाम किताबखाना’

(दैनिकी)

मार्क्सवादी नारीवादले घरेलु कामकाजमा निरन्तर खटिरहने महिलाहरूको दैनिक श्रमलाई श्रमको रूपमा नलिने पितृसत्तात्मक प्रवृत्तिको प्रखर आलोचना गर्दै घरभित्र र बाहिर श्रमदान दिने महिलाहरूको पक्षमा पनि न्याय हुनुपर्ने कुरामा जोड़ दिन्छ। यसरी मार्क्सवादी नारीवादले महिलाको वर्गीय चेतनालाई सुप्तावस्थाबाट ब्यूँझाएर आफ्नो भौतिक र भावनात्मक श्रम योगदानको उचित मूल्याङ्कन हुनुपर्ने दिशातर्फ प्रेरित गरेको पाइन्छ।

‘चिया चमेना भात भान्सा टिफिन पानी

सिद्धिएपछि यो सबै चटारो

कतै अनन्तको उड़ान भर्ने तयारीजस्तो

निस्कनु छ बाँच्ने उपक्रमको दैनिक धावनमार्गमा।‘

(दैनिकी)

लेखन क्षेत्रमा लैङ्गिक असमानता अर्को एक जटिल विषय छ जुन मार्क्सवादी लगायत सबैले अनुभव गरेका छन्। लेखकीय भाव र शैलीमा सर्जकको लिङ्ग छुट्टिहाल्ने जुन परम्परागत संस्कृति अघिका दिनमा देखिन्थ्यो त्यो आज सरिता तिवारीझैँ कविका कविताले मेटाइदिएको छ। लेखले वा भनौँ कुनै सृजनाले लेखकको लिङ्गलाई परिभाषित नगरोस् तर वर्तमान परिस्थिति र मनोस्थितिलाई यथार्थ र स्पष्टतया अभिव्यक्त गरोस् भन्ने ध्येयलाई लिएर निसङ्कोच कलम चलाउने, जोखिम उठाउने साथै सदा प्रश्नहरूका झटारो झेल्न समेत तम्तयार रहने कवि हुन् सरिता तिवारी।

‘यतिबेला तिम्रो योनीमा हाम्फालेर

सारा लाजहरूले गरेका छन् आत्महत्या

र स्थापित भएको छ मात्र पाँच इञ्चको

बर्बर वस्तुको सत्ता’

(हे देवी)

उक्त कविताले सरितालाई राजनैतिक खेमाबाट, सर्जकसमूहबाट, सिद्धान्तवादीहरूका झुण्डबाट टोकसो निम्त्याएको छ। प्रशंसा पनि तर त्यत्तिकै आएको कुरा साझा गर्छिन्।

हालमा मुद्दामुखी लेखनले साहित्यमा प्रमुखता पाइरहेको तर समाजमा नै दोहोरिरहने नैतिक अधोपतनका विषयमा भने सबैले मौनता धारण गरेको स्थितिले तिनी चिन्तातुर देखिन्छिन्।

‘अर्कैको वासनाका लागि

अर्कैको आनन्दका लागि

फुलिदिन्छन्, कति कति फूल।‘

(फूलको कारोबार)

मार्क्सवादी दृष्टिकोणमा समाजले सबैभन्दा निकृष्ट मानिल्याएको वेश्यावृत्तिलाई पनि यदि आर्थिक उपलब्धिमूलक स्वतन्त्र वा सशुल्क छ भने त्यो वैवाहिक सम्बन्धमा निःशुल्क यौनतृप्ति गर्ने घरेलु महिलाभन्दा श्रमजीवी र स्वतन्त्र हुन्छ भनेर इम्मा गोल्डमेन झैँ मार्क्सवादी लेखिकाले आफ्नो लेखमा उल्लेख गरेकी छन्। मार्क्सवादी नारीवादमा देह-व्यापार अन्य व्यापार झैँ श्रम दिएर ज्याला कमाउने वा भौग्य वस्तुले श्रमको उचित ज्याला कमाउन सक्ने, सिद्धान्तमा आफ्नो स्पष्ट अनि विचारोत्तेजक अड़ान राख्दछ।

गृहिणीतर कार्यतालिकामा अल्झिएकी सरिताको उन्मुक्त विचारले यसै सन्दर्भमा यसरी विद्रोह बोल्छ-

‘डुब्दै उत्रन्छु अवचेतन

ऱ्याल र बीर्यको दलदले समुद्रमाथि

र किनारमा निस्केर

दोहऱ्याउँछु मनैमनमा….’

अत्यन्त निजी अस्तित्वको चेतना तर सम्पूर्णतया नारीवादी केन्द्रियतामा कवि सरिता तिवारीले पितृसत्ताको प्रपञ्चलाई मुक्त चेतावनी दिने अनि पुञ्जीवादी संसारमा ‘नारीत्व’लाई थोकको भाउमा जोख्ने प्रवृत्तिलाई चुनौती दिने समकालीन प्रखर नारी सर्जकहरूको लहरमा आफ्नो छुट्टै परिचय स्थापित गरेकी छन्।

कवि सरिताले सामाजिक संरचनाभित्र नारीमाथि भइरहने उत्पीड़न विरूद्ध यसरी कमान सम्हालेकी छन्। यस्तो लाग्छ, पुरुष प्रभुत्ववादी समाजले आफू मात्र बलियो र सक्षम ठान्ने, महिलालाई केवल भगिनीको रूपमा हेर्ने, शरीरको चियोचर्चा गर्ने, न्यून ज्यालादार बनाउने, घरेलु काम कुरोमा मात्र रातदिन पिस्ने अनि दोस्रो लिङ्गीको रूपमा आँकलन गर्ने दिन गए।

वास्तवमा मार्क्सवादी धारमा लेखिएको कृतिलाई नारीवादी दृष्टिविन्दुले हेरिनु उचित ठहर्दैन भनिन्छ। लिङ्गको विशेषतालाई ध्यानमा नलिई सहज रूपमा यसको संरचनालाई केन्द्रियतामा प्रतिष्ठित गर्नुपर्छ यो विचार अर्की प्रखर मार्क्सवादी समालोचक लिलियनको हो।

यो उचित पनि हो कारण यसमा पूर्वाग्रहको सम्भावना रहँदैन। मार्क्सवादी लेखकका विचार स्वतः विद्रोहात्मक हुन्छ नै यसमा प्रगतिवादी क्रान्तिकारी विचारको प्राधान्य साथै सामाजिक संरचनामा परिवर्तनको आह्वान र नैतिकतामा पनि सुधारात्मक लयको आभाष गरिएको नै हुन्छ। तर यी सबैभन्दा माथि कृतिकार स्वयंको भने समाज परिवर्तनमा कतिको प्रत्यक्ष योगदान छ भन्ने कुरालाई स्पष्टतयाः बोध गरिएको महत्त्वपूर्ण ठहर्छ।

स्वयंका अनुभूतिलाई सर्जकले कतिसम्म सृजनामार्फत अभिव्यक्त गर्न सके भन्ने आवश्यक प्रश्न उभिएको हुन्छ। मार्क्सवादी लेखकले पूँजीवादी, पितृसत्ताभन्दा पनि बढ़ी समाजमा व्याप्त लैङ्गिक असमानता र शोषणलाई जोड़ दिनुपर्ने कुरोलाई वर्तमान पिँढ़ीले अनुभूत गरिरहेछ। यसो हुन सकेमा मात्र कालान्तरमा वर्गीय विभेदलाई समाजबाट निमिट्यान्न पार्न सकिने सम्भावना देखिन्छ।

यही कुराहरूलाई नै कवि सरिताले आफ्नो कृति ‘प्रश्नहरूको कारखाना’भित्र निर्माण गरेकी छिन्। मार्क्सवादी धारका यी प्रश्नहरू चम्किला र निर्भिक छन्- विश्लेषणात्मक हुनु अझ यसको विशेषता हो। यी प्रश्नहरूका उत्तर भविष्यमुखी छन्- पूर्ण समानताको लहरलाई जुन दिन समाजले सहृदय स्वीकार्ला, त्यसदिन मार्क्सवादी नारीवादले समाजलाई साहित्यमार्फत नयाँ दिशा प्रदान गरेको अवश्य प्रतीत होला।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया