19 वर्षीय यूडेनको समाजप्रेम: यूकेबाट आएर असाहयहरूलाई खुवाइन् खाना  

कालेबुङ, 17 जुन


 19 वर्षीय युडेन तामाङले आज यूकेबाट आएर कालेबुङका असाहयहरूलाई आफ्नै हातले खाना खुवाइन्। आफ्नो आमाबाट सामाजिक कार्यको निम्ति प्रभावित बनेकी युडेनले कालेबुङका विभिन्न गल्ली अनि चोकहरूमा बसोबासो गर्ने असाहयहरूलाई आफ्नो हातले खाना खुवाउँदै गर्दा निक्कै भावुक देखिन्थिन्।

‘संसारमा धेरै मानिसहरू यसरी गल्लीहरूमा बसेर जीवन बिताइरहेको देख्दा मन भक्कानिएर आउँछ’-खाना बाँडेपछि युडेनले भावुक हुँदै भनिन्,‘उनीहरूका निम्ति न त आफ्नो घर छ, न उनीहरूसित खानेकुरा छ। यसैले हामी उनीहरूका निम्ति केही गर्ने कोशिश गरिरहेका छौँ।’

विशेष गरी युडेनकी आमा अञ्जु योञ्जनले कालेबुङको सामाजिक संस्था मणि ट्रस्टको माध्मयबाट असाहयहरूलाई सहयोग गर्दै आएकी छन्। यूकेबाट अञ्जु योञ्जनले आर्थिक रूपमा सहयोग पुऱ्याउँदै आएपनि उनका छोरी युडेनले आफ्नै हातले असाहयहरूलाई खाना खुवाउने सोच राखेपछि अन्तत: उनी आफ्ना बढीसित कालेबुङ आएकी हुन्।

‘हामी यूकेमा छौँ अनि उनीहरूका निम्ति केही सहयोग गर्न सकिरहेका छौँ’-युडेनले भनिन्, ‘यो हाम्रो निम्ति सौभाग्य हो।’

युडेनलाई लाग्छ, संसारमा यस्ता धेरै असहाय छन् जसबारे धेरैले पर्वाह गर्दैनन्। तर मणि ट्रस्टले उनीहरूका निम्ति दैनिक रूपमा खाना दिएर धेरै सराहनीय कार्य गरेको उनले बताइन्।

युडेन तामाङ युके, युनिभर्सिटी अफ् साउथहेम्प्टन को बायोमेडिकल साइन्सकी विद्यार्थी हुन्। मूल रूपमा नेपाल निवासी युडेन तामाङ आफ्ना परिवारसित 2 वर्षको उमेरदेखि नै यूकेमा छिन् अनि युकेकै नागरिक भइसकेकी छन्। उनीसितै आएकी उनका बढी शिला प्रधानले पनि धेरै वर्षदेखि आफूहरू मणि ट्रस्टसित जोडिरहेको भन्दै मणि ट्रस्टले समाजमा उल्लेखनीय काम गरिरहेको बताइन्। उनले असाहयहरूका निम्ति अलग्गै आश्रम हुनसके अझ उत्तम हुने बताइन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया