ढ्याङ्ग्रो अर्थात जनजातिको मुद्दा

अघिल्लो विधानसभा चुनाउबेला बाघडुग्रा र बीरपाडाबाट प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका थिए, ‘11 जात गोष्ठीलाई जनजातिको मर्यादा प्रधान गर्नेबारे सोचिरहेका छौँ।’ अहिलेसम्म मोदीले त्यसलाई कार्यरूप दिएनन्। त्यसको लागि ठिक मौका पो पर्खिएर बसेका हुन् कि मोदी?

गोर्खा जनमुक्ति मोर्चाका अहिलेका अध्यक्ष विनय तामाङ भाजपासित सन्देह गर्छन्। एउटा अन्तरवार्तामा उनले भनेका छन्, ‘11 वटा जातिलाई आगामी 2019 को लोकसभा चुनाउको ठिक तीन-चार महिनाअघि जनजातिको मर्यादा दिएर हामीलाई फेरि लट्टाउने जस्तो छ।’

हुनैसक्छ। भाजपाले जनजातिको मुद्दालाई 2019 को चुनाउको गोटी बनाउनै सक्छन्। विनय तामाङले गरेको सन्देह सही हो भने पनि हानी पहाडलाई त छैन। हानी छ भने ममता व्यानर्जी, विनय तामाङ अनि मन घिसिङहरूलाई नै छ।

भाजपाले उनीहरूको सांसदलाई मत देओस् भनेर 11 जातगोष्ठीलाई जनजातिको मर्यादा दिँदा हानी पहाडका जनतालाई हुन्छ त? यो त जनतालाई नै थाहा होला।

भाजपाले जनजातिको मर्यादा दियो भने तृणमूल काङ्ग्रेस, गोजमुमो (विनय गुट) अनि गोरामुमो सङ्कटमा पर्दैन त? यो चाँही ममता व्यानर्जी, विनय तामाङ र मन घिसिङलाई नै थाहा होला।

11 जात गोष्ठीले जनजाति पाउनु निश्चितरूपमा जिटिए र हिल डेभलोपमेन्ट कमिटी पाउनुभन्दा धेरै ठूलो उपलब्धी हो। ठूलो उपलब्धीको प्रभाव ठूलै हुन्छ। त्यसको फाइदा कसले लिन्छ?

जनजातिको मुद्दा राज्य सरकारको होइन। यस अर्थमा ममता व्यानर्जीले पनि 2019 को चुनाउमा जनजातिको मान्यताले प्रदान गर्ने प्रभावलाई पुलिस लगाएर रोक्न सक्दैनन्। विनय तामाङ र मन घिसिङले सक्ने त कुरै आएन।

केही दिनदेखि राजनीतिमा चासो राख्नेहरूले जनजातिको मुद्दामा चासो राखिरहेका छन्। विभिन्न सङ्गठनहरू यसै मुद्दालाई लिएर धेरै सक्रिय छन्। यसै मुद्दालाई केन्द्रमा राखेर ठूलाठूला सङ्गठन र बैठकहरू पनि भइरहेकै छ।

सिक्किम र ढ्याङ्ग्रो

यता सिक्किमका मुख्यमन्त्रीले पनि भाजपालाई चिढ्याउने काम गरिरहेकै छन्। ‘सक्छ भने लु त 11 जात गोष्ठीलाई जनजातिको मर्यादा प्रदान गरोस् भाजपाले,’ चामलिङ यसो भन्दै आइरहेकै छन्।

जनजातिको मुद्दाले सिक्किम र दार्जीलिङको राजनीतिमा कायापलट गर्नेसम्मको क्षमता राख्छ। यो क्षमताबारे थाहा पाएर पवन चामलिङ, ममता व्यानर्जी, विनय तामाङहरू यसबारे निक्कै गम्भीर छन्।  एक त सिक्किम र बङ्गालका मुख्यमन्त्रीहरू भाजपाको ‘विल’ बेगर यस मुद्दाबारे केही गर्नै सक्दैनन्। यो गोटी उनीहरूको हातमा छैन। तर यही गोटीमा दार्जीलिङ र सिक्किमको राजनीतिमा दह्रो दखल गर्नसक्ने क्षमता लुकेको भाजपालाई राम्रै गरी थाहा छ।

सिक्किममा भाजपालाई स्थापित गराइहाल्ने हो कि होइन? दिल्लीले यसबारे अहिले नै सोचिनहालेको सिक्किम भाजपाको चहलपहलबाट थाहा लाग्छ। सिक्किममा भाजपा दुइकदम पछि सर्दै एउटा पाइला चाल्ने रणनीतिमा देखिन्छ। सिक्किममा क्षेत्रीय दलकै वर्चस्वको इतिहास छ।

राष्ट्रीय दलको लहर सिक्किममा आउन धेरै समय लाग्छ। सिक्किम कै भूमिपुत्रलाई पक्रिएर सिक्किमका धार्मिक, जातिक, सांस्कृतिक सरोकारहरूलाई ‘मुद्दा’ बनाउनुपर्ने राजनैतिक संस्कार सिक्किमको हो।

पवन चामलिङले भाइचुङ भोटिया-लाई त्यसैको निम्ति राजनैतिक बजारमा ‘उत्पादन’ बनाएर पठाएको हो कि भन्ने सन्देह गरिरहेकै छन्। यसै कारण भाइचुङ विरुद्ध चामलिङले ‘आरोपप्रत्यारोप’-को-कुटनीतिमा आफूलाई सक्रिय राखेका छन्।

विश्वकप फुटबल हेर्न भाइचुङ सिक्किमबाट बाहिर गए पनि अहिले सिक्किममा आन्तरिक ‘द्वन्द्व’ तीब्र छ।

2019 को चुनाउमा भाइचुङलाई 11 जनजातिको मुद्दा बोकाएर सिक्किम पठायो भने?

अहिलेको चामलिङको सरकारलाई परेको पीर यो पनि एउटा हो। अर्थात भाजपाले दार्जीलिङ र सिक्किममा एउटै गोटीले काम चलाउन सक्छ। सिक्किममा भाइचुङको राजनैतिक अवतरणले सिक्किमे सत्ता परिवर्तनमा ‘धेरै सम्भावना’-को सङ्केत दिइरहेकै छ।

ढ्याङ्ग्रो र दार्जीलिङ

यता दार्जीलिङमा?

भाजपासित कुन अप्सन छ त?

विमल गुरुङ।

विमल गुरूङ, भाजपाको लागि निक्कै ठूलो अप्सन हो। भाजपाले विमल गुरूङलाई 11 जनजातिको मुद्दा बोकाएर पहाड फर्काउनै सक्छ। विनय तामाङ भन्छन्, ‘आगो निभे पनि भुप्रो सेलाएको छैन।’ राजनीतिको भाषामा ‘भुप्रो’-को अर्थ विमल गुरूङ नै हुन्। जुन कारणहरूले विमल गुरूङ भूमिगत छन्, त्यो जगजाहेर कुरा हो। ‘आगो निभे पनि भुप्रो सेलाएको छैन’ भन्ने उखानको अर्थ ‘विमल गुरुङको समर्थकहरूको भीड सकिएको छैन’ नै हो।

विनय तामाङहरूलाई खाँट्टी गोर्खाल्याण्ड राज्य पन्थीहरूले ‘गद्दार’ भन्छन्। विनय तामाङहरूले अझसम्म नै जनताको मन जित्न सकिरहेका छैनन्। समर्थकहरूको मनबाट  जिटिए र विकास बोर्डको करोडौं रुपियाँले पनि विमल गुरुङ हटाउन नसकिएको विनय तामाङका हतासापूर्ण टिप्पणीहरूले सङ्केत गरिरहेकै छ।

विनय तामाङको मोर्चाभित्रै पनि विमल गुरूङको ‘कमव्याक’ पर्खिएर बस्नेहरू छैन भन्न सकिन्न। यो कुरा ममता व्यानर्जीलाई थाहा नहुने कुरा आएन। गोरामुमो र गोजमुमोलाई व्यवस्थापन गरेर राख्नुको अर्थ भोलिको दिन मन घिसिङको अप्सनमा विनय तामाङ, विनय तामाङको अप्सनमा मन घिसिङलाई स्थापित गर्नु पनि हो भन्ने सन्देह त गर्नै सकिन्छ।

भित्रभित्रै गोरामुमो र गोजमुमोमा ‘को ठूलो’ भन्ने कुराको द्वन्द्व त छँदैछ। मन घिसिङ छैटौं अनुसूचीको मुद्दा देखाएर जनता बटुल्न चाहान्छन्। विनय तामाङ विकासबाट मन जित्न चाहान्छन्। तर दुवैको नाकेदोरी ममताको हातमा छ।

छैटौं अनुसूचीजस्तो बलियो मुद्दा बोकेर स्थापित हुँदै गरेको गोरामुमोले हिल डेभोलपमेन्ट कमिटी थापेपछि अनि मन्त्री पदलाई अङ्गिकार गरेपछि सुबास घिसिङपालाका गोरामुमोका कट्टर समर्थकहरू निराश छन्।

उनीहरू ममता व्यानर्जीको काखमा बसेर कसरी छैटौं अनुसूचीको मुद्दा उठाउन सकिन्छ? भन्ने सोच्छन्।

यसै पनि सुष्मा स्वाराज प्रमुख रहेको स्ट्याण्डिङ कमिटीको रिपोर्टले जबसम्म छैटौं अनुसूचीबारे दार्जीलिङ पहाडका सबै दल, सङ्घसंस्था र नागरिकहरूको सहमति बन्दैन तबसम्म यसबारे केही गर्न सकिन्न भनेकै छ। छैटौं अनुसूची पाउनु हो भने स्ट्याण्डिङ कमिटीले अपेक्षा गरेको सहमति चाहिन्छ।

गोरामुमोले ममता व्यानर्जीसित मिलेर त्यो सहमति पाउने सम्भावना कतैबाट पनि छैन। गोरामुमोका पुराना समर्थकहरू, जो जस्तै आँधीहुरीले पनि चल्मलाएनन्, उनीहरू मन घिसिङ र उनको टिमको ममतामुखी लचिलो मनोवृत्तिबाट खुशी छैनन्।

न त गोरामुमोले पार्टी विस्तार गर्न सकिरहेको छ न त छैटौं अनुसूचीबारे आन्दोलन गर्न नै। विनय तामाङले पार्टीलाई गद्दार गरेको बुझ्ने अनि मन घिसिङको ममताप्रेमलाई गरिने ‘घृणा’ नै दुवैको निम्ति ‘खतरा’ हो।

कसैले पनि सङ्गाल्न नसकिरहेको पहाडले 2019 को चुनाउले फेरि अर्को उतारचढाउ खप्नुपर्ने सम्भावना छ। उतारचढाव ल्याउन सक्ने एउटै मुद्दा छ-जनजाति।

जनजाति गोटी

सबैलाई थाह छ, कुशल रणनीति र केन्द्रको आशिर्वाद बिना छुट्टै राज्य हुने सम्भावना छैन। यस्तोबीच सबै दलले गोर्खाल्याण्ड मुनिको मुद्दाबाट नै ‘बचाउ’-को राजनीति गर्नुपर्ने स्थिति छ।

विमल गुरुङ केन्द्रको कुनै ‘ब्लेसिङ’ पर्खिएर बसेका छन्। उनलाई लगाएका मुद्दाबाट बाहिर निकाल्न केन्द्रले सहयोग पनि गर्नै सक्छ। यदि भाजपाले 11 जनजातिको मुद्दा बोकाएर बिमल गुरुङलाई पठायो भने?

ममता व्यानर्जी, विनय तामाङलगायतलाई यस्तो डर नहोला भन्नै सकिन्न।

वर्चस्वको राजनीति पहाडमा अहिले नै सकिँदैन। जबसम्म विमल गुरूङ छन्, तबसम्म पहाडले फेरि अर्को द्वन्द्वको सामना गर्नैपर्ने स्थिति बनिन सक्छ। विमल गुरूङसित कति समर्थक छन्, त्यो हेर्न पनि एकपल्ट विमल कार्ड भाजपाले खेल्नै सक्छन्। पहाडमा जसको वर्चस्व रहन्छ उसैसित राज्य सरकारले पनि सहमति कायम गर्नुपर्ने स्थिति पनि बन्न सक्छ।

राजनीतिमा सम्बन्धको कुनै ग्यारेन्टी हुँदैन। सबै आआफ्नै स्वार्थको राजनीति गर्छन्। अहिले विमल गुरुङको अस्तित्व समाप्त गर्नु ममता व्यानर्जीको त्यही स्वार्थको कुटनीति हो। विमलपन्थीका आत्म विश्वास ढाल्ने र विमल गुरुङलाई सधैँ किनारा लगाउने खेल पहाडमा चलिरहेकै छ। किन त?

किन भने सबैको लागि ‘खतरा’ विमल नै हुन्।

विमलको सनकसित ममता व्यानर्जी परिचित छन्। विमलको सनक राज्यको लागि समस्या हुनैसक्छ। विनय तामाङहरूसित त्यो सनक छैन, त्यसकारण राज्यलाई पहाडलाई लिएर आफ्नो स्वार्थ पूरा गर्न विनय तामाङहरू नै सहज छ।

पहाडमा भएको भाजपाको एउटा सिट तृणमूल काङ्ग्रेसलाई सुम्पिनु भनेको भाजपा बङ्गालमा विस्तारै असफल हुनु पनि हो। त्यसकारण भाजपा कुनै पनि मौका गुमाउन चाहँदैन। भाजपाको लागि अहिलेलाई विमल गुरूङ नै ‘फिट’ क्यान्डिडेट हुन्। विमलले ‘सहानुभूति’-मत बटुल्नै सक्छन्। विमल गोटी ममता व्यानर्जीको लागि भाजपाको एउटा जवाब पनि हो। विमल गुरूङले भाजपासित गरेको आशा पनि आफूलाई ‘गोटी बनाओस्’ भन्ने नै हो। भाजपा र विमलको स्वार्थ पूरा हुने सम्भावना पनि जनजातिको मुद्दाले बोकेको छ।

विनय तामाङहरूलाई सत्ताच्युत गर्ने हतियार पनि यही हो। ममता व्यानर्जीलाई बङ्गालमा भाजपाको अस्तित्व देखाउने चलचित्र पनि यही हो। धेरैभन्दा पनि धेरै सम्भावना 11 जात गोष्ठीलाई जनजातिको मर्यादा-ले बोकेको छ। अर्थात अहिले सबैको मनमा बजाउने ढ्याङ्ग्रो यही मुद्दा हो।

भाजपा, ममता, विनय, मन, विमलहरूबीचको स्वार्थहरूले तर थिचिने त जनमुद्दा नै हो। राजनीति हो, जनता जुन प्राप्तिले फाइदा पुऱ्याउँछ, त्यसैमा सुरिन्छ। जनताको मन जित्ने कुटनीति जोसित छ, उसैले 2019 को चुनाउबाट पहाडमा राज गर्ने परिस्थिति निर्माण गर्नै सक्छ।

विनय तामाङहरू ममता व्यानर्जीसित कलकत्तामा बैठक गरिरहेका छन्। विमल गुरूङ भाजपाका केन्द्रिय नेताहरूसित निरन्तर सम्पर्क गरिरहेकै छन्। पहाडमा पनि जनजातिको मुद्दा विस्तारै गर्मिरहेकै छ।

2019 को चुनाउ जति जति नजिक आइरहेको, उति उति ढ्याङ्ग्रो बजिरहेको छ। अहिलेलाई त्यो ढ्याङ्ग्रो ‘जनजाति’-को मुद्दा नै हो।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया