24 जूनदेखि आन्दोलन :  श्रमिक सङ्गठनहरू गोलबद्ध

दार्जीलिङ, 19 जून।


राज्यको सत्तारूढ दल तृणमूल कङ्ग्रेसबाहेक उत्तर बङ्गालका अन्य सबै पार्टीका श्रमिक सङ्गठनहरूले चियाश्रमिकहरूका लागि न्यूनत्तम रोजी ऐन लागू गर्ने माग लिएर आगामी 24 जूनदेखि आन्दोलन शुरू गर्ने तयारी गरेका छन्।

जसअनुसार, 24 जूनको दिन गोजमुमो, क्रामाकपा, माकपा, कङ्ग्रेस, जापलगायत अन्य पार्टीका श्रमिक सङ्गठनहरूले मिरिकमा एक संयुक्त जनसभा गर्ने निर्णय लिएका छन्।  भने 27 र 28 जूनका दिन यसै मूल माग लिएर यी श्रमिक सङ्गठनहरूले दार्जीलिङका जिल्लापाल, पुलिस अधीक्षक, जीटीए अध्यक्ष आदिलाई ज्ञापन पनि दिने निर्णय लिएका छन्।

आज यसै विषय लिएर यहाँको गोर्खा दुःख निवारक सम्मेलन भवनमा यी श्रमिक सङ्गठनहरूद्वारा गठित जोइण्ट फोरमको सभा भएको थियो। जसमा चियाश्रमिकहरूका लागि न्यूनत्तम रोजी ऐन लागू हुनैपर्ने विषयमाथि जोड दिइएको थियो।

यसैको जानकारी गराउँदै माकपाको श्रमिक सङ्गठन दार्जीलिङ जिल्ला चियाकमान मजदूर युनियनका नेता वा जोइण्ट फोरमका संयोजक जियाउल आलमले  दार्जीलिङमा चियाश्रमिकहरूको हितमा एक ऐतिहासिक सभा भएको र पहाड़का सम्पूर्ण राजनैतिक पार्टीका श्रमिक सङ्गठनहरूका नेतृत्ववर्ग उपस्थित भएको बताए।

‘न्यूनत्तम रोजी ऐन लागू गर्ने मागमा सरकारमाथि चाप बनाउन आगामी 24 जूनको दिन मिरिकमा एक जनसभा गरिनेछ,’ उनले भने, ‘25 जून सबै चियाबगानमा शहीद दिवस पालन गरिनेछ।’

स्मरणीय छ, 25 जून 1955-मा चियाश्रमिकहरूका हितमानै आन्दोलन गर्दा पुलिसले श्रमिकहरूमाथि गोली चलाएको थियो। एकजना गर्भवती महिलासँगै 14 वर्षे बालकको पनि विभत्स मृत्यु भएको थियो।

‘त्यसैको स्मरणमा जोइण्ट फोरमले 25 जूनको दिन सबै चियाबगानमा शहीद दिवस पालन गर्ने निर्णय लिएको हो,’ उनले भने, ‘यसबाहेक 2 देखि 4 जुलाईमा फोरमले प्रत्येक चियाबगानमा विक्षोभ प्रदर्शन गर्ने भएको छ।’

फोरमले न्यूनत्तम रोजी ऐन लागू गर्ने मागमाथिनै जोड दिइने आलमले बताए। ‘अहिले चियाबगानका श्रमिकहरूको अन्तरिम रोजी 17 रूपियाँको दरले वृद्धि गरेर न्यूनत्तम रोजी ऐनलाई ढिलाई गर्ने प्रयास गरिरहेको छ, यसलाई जोइण्ट फोरमले स्वीकार गर्दैन,’ उनले भने, ‘चियाबगानका मालिकहरूले रोजीमा अन्तरिम वृद्धि गरेर श्रमिकहरूलाई ठग्ने मात्रै काम गरिरहेको छ। यसको साटो न्यूनत्तम रोजी ऐननै लागू गरेर चियाश्रमिकहरूलाई सही मूल्य दिनुपर्छ। यसका साथै फोरमले चियाबगानका स्टाफ, सब्-स्टाफहरूको वेतन वृद्धिको लागि पनि सरकारसित भेट गर्ने कार्यक्रम तयारी गरिरहेको छ।’

सभामा गोजमुमोको श्रमिक सङ्गठन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियनबाट अध्यक्षा करूणा गुरूङ, जापको श्रमिक एकाईबाट अमर लामा, क्रामाकपाबाट केबी सुब्बा, माकपाबाट पूर्व सांसद समन पाठक, कङ्ग्रेसबाट पूर्व सांसद दावा नर्बुला आदिको विशेष उपस्थिति थियो।

नर्बुलाले आगामी दिनमा यी सबै श्रमिक सङ्गठनहरूले एकवद्ध भएर श्रमिकवर्गको हितमा लडाई गर्ने योजना बनाएको पनि बताए।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया