देशको नाममा योग

भारतीय संस्कृति, योगा र राजनीति

प्रधानमन्त्री नरेन्द्र मोदीलाई योगा दिवसले धेरै विवादमा तान्यो। हिन्दुत्व-को रक्षामा भाजपाले आन्तरिकरूपमा तयार गरिरहेको हिन्दू कट्टरपन्थहरूको ‘चरित्र’- गैरहिन्दूको निम्ति सहिष्णु छैन।  मोदी सरकारमा आउनअघि र पछि यस्ता धेरै घटनाहरू भयो, जसले ‘धर्मनिरपेक्षता’-को अर्थ नै धरापमा पऱ्यो। धर्मनिरपेक्षता धरापमा परेपछि नै ‘भारतीय संस्कृति’-को सवाल आफैमा अमुर्त बन्दै गइरहेको हो।

भरतीय संस्कृतिलाई विशाल क्यानभस मानियो भने कुरा बुझ्न सहज होला। जहाँ हरेक रङको आआफ्नै भूमिका छ। ती मध्ये ‘गेरुवा’-लाई मात्र ‘भारतीय संस्कृति’-को नाममा अतिप्रचार र संरक्षण हुन थाल्यो भने बुझ्नुपर्छ, ‘गेरुवा’ रङ होइन, राजनीति हो।

र त्यो राजनीति पसेपछि ‘भारतीय संस्कृति’ अमुर्त बन्दै जान्छ। अरू रङका इतिहासलाई निषेध गरेर आफू अनुकूलको ‘रङ’-को विख्यातिकरणमा लाग्नु भनेकै पक्षपाती राजनीति हो। यस्तो राजनीतिले सबैभन्दा पहिले धर्मनिरपेक्षताको आइडियोलजी भत्काउँछ र आफ्नो सहजताको आइडियोलजी तयार पार्छ।

मोदीको राजनीति यसै दिशातिर छ।

अयोध्या र गोधरा काण्डपछि नै यो दिशा स्पष्ट देखिन थाल्यो। किन भने हिन्दू कट्टरपन्थीहरूलाई ‘धर्मनिरपेक्षता’-को घाँटी निमोठ्न भाजपीय राजनीतिले ‘स्पेस’ दियो। दङ्गाहरू भए। अल्पसंख्यकहरूको संस्कृति नै सङ्कटमा पर्नेगरीको असहिष्णुतालाई पश्रय दिइयो।

किनारामा परेका हिन्दूहरूले ‘आवाज’ तीब्र गर्नसम्म त ठिक थियो, तर भाजपाले त्यो आवाजलाई ‘भोट’ सुरक्षित गर्ने फर्मुला देखेपछि भने समस्या बढ्यो। अघिसम्म भारतीय संस्कृतिको खुबी सबै रङसितै जिउँदो हुनु थियो। यसैकारण भारतीय संस्कृतिलाई समयसितै जिउने जिउँदो संस्कृति पनि मानियो। तर जब मोदी अन्तर्यमा ‘हिन्दूवादी राष्ट्रीयता’ बोकेर आए तबदेखि भारतीय संस्कृति र धर्मनिरपेक्षता दुवै सङ्कटमा पऱ्यो। भारतीय संस्कृति-कोरूप ‘अनेकतामा एकता’ थियो।

मोदी सत्ताले  ‘हिन्दू’-लाई मूल र अरूलाई ‘अदर्स’ वा ‘आउट साइडर’-कोरूपमा आन्तरिकरूपमा स्थापित गर्दै लैजाने ‘आशय’ देखायो।

आज अन्तराष्ट्रीय योगा दिवस। मोदीले योगालाई लिएर गरेको राजनीतिबारे व्यापक आलोचना भइरहेकै छ। योगालाई ‘गोटी’ बनाउने यो खाले राजनैतिक अभ्यास विरुद्ध प्रतिरोधी आवाज तीब्र बनिरहेको समय हो यो।

योगा धार्मिक ध्यान हो कि व्यायाम?

यसबारेका कुनै पनि चर्चा छैन। यद्धपि सांस्कतिक ‘धरोहर’-को अङ्ग बताएर नरेन्द्र मोदी योगाको ‘मूल्य पुनस्थापन’ तिर लागे, तर यसका सबै नियतका चरित्रहरू अन्तर्यमा राखेर। निसन्देह योगा भारतीय संस्कृतिको अङ्ग हो, तर यसलाई ‘दिवस’ बनाएर विश्वव्यापीकरण गर्ने मोदी ‘चरित्र’ भने सङ्गलो बनेन।

हिन्दूकट्टरपन्थीहरूले तयार गरिरहेको असहिष्णु समाजमा ‘योगा’ विवादमा तानिनु स्वाभाविक थियो। यसै पनि मोदी ‘धर्म’-माथि राजनीति गर्ने खेलाडी हुन्। बहुसंख्यक हिन्दू मोदीको सत्ता कायम गराइराख्ने ‘भोट’ मात्र हुन् भन्नलाई तपाईहरू अघि धेरै उदाहरणहरू छँदैछ।

कवि राजा पुनियानीले योगा राजनीतिमाथि एउटा बलियो कविता लेखेका छन्।

यसले योगा-लाई लिएर के राजनीति भइरहेको छैन त? भन्ने प्रश्न उठाएको छ।

यसो त यसबारे देशभरि नै बहस चलिरहेकै छ। राजनैतिक दलहरू मोदीको योगा राजनीतिको विरुद्ध मोर्चाबन्दी पनि भइरहेकै छन्। देशका  आलोचकहरूले योगा र राजनीतिबीचको सम्बन्ध खुट्याइरहेकै छन्। सबैको आलोचनाको अन्तर्यमा ‘भारतीय संस्कृतिको एक अङ्गलाई मोदीले चलाकीपूर्ण राजनैतिक दुरुपयोग गऱ्यो’ भन्ने निचोड नै छ।

देशमा बहस निम्त्याइरहेको ‘योगा दिवस’-को छेक पारेर  कवि राजा पुनियानीको ‘देशको नाममा योग’-कविता प्रकाशित गरिरहेका छौं।

योगा र नियत

 ‘काठमाडौं पर्फर्मेन्स’- कार्यक्रममा कवि राजा पुनियानीले यो कविता वाचन गरेका थिए। कविताले धेरै चर्चा पनि उठायो। कान्तिपुर दैनिकका पत्रकार बसन्त बस्नेतले राजाको यो कविता सुनेपछि भने, ‘राजा पुनियानीले पूर्वीय ध्यानविधि र अध्यात्मको सम्पन्नतालाई राजनीतिकरण गरि सत्ताको औजार बनाउने वर्तमान भारतीय सत्ताविरुद्ध शक्तिशाली ढङ्गले काव्यिक प्रतिरोध गरेका छन्।’

उनले यो कवितामार्फत भारतीय फासीवादी चरित्र बुझ्न सघाउ पुऱ्याउने पनि बताए। चर्चित कवि अभय श्रेष्ठले पनि कविता सुनेपछि भने, ‘यो कविताले मोदी शासनको हिन्दू संस्थापन विरुद्ध मृदु व्यङ्ग्य गरेको छ।’

कुनै पनि कविताले तत्कालीन अन्तरविरोधमाथि व्यङ्ग्य र आलोचना गर्नुपर्ने मान्यता राख्ने श्रेष्ठ राजाको ‘योग’-ले पनि त्यही काम गरेको मान्छन्।

धर्मको नाममा, संस्कृतिको नाममा हुने कुनै पनि खाले कट्टरपन्थको बद्नियत बुझ्न राजाको यो कविताले सहयोग गर्ने कवि विमला तुम्खेवा पनि बताउँछन्।

कवि लेखनाथ छेत्रीले त यस कवितालाई हरेक योग दिवसको मञ्चमा सुनाउनुपर्ने कविता मान्छन्। ‘कोही पनि अन्धोभक्तलाई मोदी राजनीतिले अन्तर्यमा लुकाएको ‘खेल’ बुझाउन पऱ्यो भने यो कविता सुनाए हुन्छ,’ भन्छन् लेखनाथ।

सोही कविता खबरम्यागजिनका पाठकहरूको निम्ति यहाँ राखेका छौ- सम्पादक


देशको नाममा योग

राजा पुनियानी


लामो सास। छोटो सास। मिडियम सास।

फेरि ला…….मो सास।

अब सास अड़्कयाउनू। मर्दैन मर्दैन।

नडराउनू। मरेकोजस्तो मात्र हुन्छ।

तिमी मृत्युलाई मुट्ठीमा लिने इलिम सिक्दैछौ, याद राख।

 

अब दाहिने पल्टिनू-देब्रे पल्टिनू-घोप्टो पर्नू-उत्तानो पर्नू-उल्टिनू-सुल्टिनू-

अब टाउकोको बल खड़ा हुनू-भुँड़ीको बल तेर्सो हुनू-लमतन्नै हुनू।

अब दोब्रिनू-निमोठिनू-मडा़रिनू…

अर्थात् ‘योग’।

तन र मनमाझ आध्यात्मिक पुल।

लौ यो आन्दोलित चित्त शान्त गरौँ।

लौ त्यो विद्रोही मन सन्तुलित गरौँ।

नकारात्मकलाई पनि सकारात्मक देखौँ।

 

तन माझौँ। मन पखालौँ। चित्तको विकार मेटौँ।

योग – मुक्तिको मार्ग।

कुरूपलाईई पनि सुरूप देखौँ, डाकूलाई पनि सन्त, अपराधीलाई नेता।

लु अब मयूरासन।

 

अनि सबभन्दा इम्पोर्टेण्ट कुरा –

सरकारलाई चाहिँ साथी चिनौँ। नमस्कार सरकार।

आखिर योग चिनाउने पनि सरकारै त हो।

किन चिनायो? अरे हाम्रो शरीरको कति चिन्ता छ सरकारलाई?

सरकारको यो भएन त्यो भएन किन भन्ने… उफ् नेगेटिभ नेगेटिभ…

सरकारले वाचा पूरा गरेन… सरकारले मान्छे मिच्यो … मान्छेको सपना पेल्यो …???

सरकारले के के दियो के के गरिदियो …। पोजिटिभ सोच्ने नि …

सरकार कहिल्यै दुश्मन हुन्छ र

सरकार तिम्रो हो

सरकार तिमी नै हौ …

बी पोजिटिभ …। लामो सास। लामो सास।

स्थिर भैहालाछ भुल्किरहेको मन।

 

… ओह, यस्तै के के के के वाहियात नसोचौँ भनेरै त

सरकारले हाम्रो चित्तको घोड़ामा योगको लगाम कसेको हो।

कल्पना। जल्पना। विचार। संसार। सब सबदेखि आफूलाई कटाउँदै जानू।

 

पद्मासन-हलासन-शवासन …

 

सब माया। सब लीला।

भोग होइन योग। भोक होइन योग।

भोकको आगोले नै जलाउँछ संसार। कति सजिलो हे सरकार।

योगले भोक कमेपछि हामीलाई पनि सजिलो, तिमीलाई पनि।

जनताको भोक छैन, सरकारको शोक छैन। जय योग।

सरकार र देश एउटै हो। देशकै नाममा सही। एकपल्ट लामो सास।

 

र सुन, तिम्रो नागरिकता जुन देशको हो

त्यो देशकै हो तिम्रो तन मन धन।

यो देशले पूर्वेली सभ्यताको डीङ हाँक्ने ठिका लिएको छ।

 

यही देशले जन्मायो योग। आज विदेशतिर यसको धन्धा छ।

फेसबुक, युट्युब, गुगल – जताततै योगको हाट छ।

हे आदरणीय नागरिक

तिम्रो शरीरको लागि होइन खासमा तिमीले देशको मर्यादाको लागि यो योग गर्दैछौं।

कति ग्रेट वर्कआउट।

यो योग होइन देशको नाममा त्याग हो।

 

त्याग – समस्त शोकहरूको। शोक गर्ने चेतहरूको।

त्याग – समस्त रोगहरूको। रोग झेल्ने बोधहरूको।

त्याग – समस्त सपनाहरूको। सपना पाल्ने इच्छाहरूको।

 

… अब अन्त्यमा शवासन गर्ने बेला भो।

लामो लामो सास। अब सास अड़्कयाउनू। मर्दैन मर्दैन। मरेकोजस्तो मात्र हुन्छ।

लु तिमी मर्ने अभ्यास गर।

सके मरेरै जिएको अभिनय गर।

आखिर यो देशको इज्जतको सवाल छ

… देशवासियों।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया