मोहित चौहान अब सिक्किमका ‘ग्रीन एम्बासेडर’ 

गान्तोक, 21 जून ।


बलिवुडका चर्चित पार्श्व गायक मोहित चौहान सिक्किमका ग्रीन एम्बासेडर बनेका छन्। सिक्किम सरकारको वन, पर्यावरण तथा वन्यप्राणी सम्वर्धन विभागले उनलाई ग्रीन एम्बासेडर नियुक्त गरेको हो।

उत्तर सिक्किमको कावी लुम्चोक समष्टि अन्तर्गत पर्ने फामबोङ्गल्हो वाइललाइफ सेङ्चुरीमा एउटा कार्यक्रमबीच गायक मोहित चौहानलाई आधिकारिक रुपमा ग्रीन एम्बासेडर घोषित गरिएको हो।

वन मन्त्री छिरिङ वाङ्दी लेप्चा र उक्त कार्यक्रमका मुख्य अतिथि पीएचई र सड़क एवं पुल मन्त्री जीएम गुरुङले चौहानलाई मनोनयन प्रमाणपत्र प्रदान गरे। यस कार्यक्रममा सहभागिता जनाउन मोहित चौहान कथाकार श्रीमती प्रार्थना गलहोतको साथमा हिजो गान्तोक आइपुगेका हुन्।

सिक्किम सरकारद्वारा राज्यका ग्रीन एम्बासेडर घोषित गरिएकोमा मोहित चौहानले हर्ष व्यक्त गर्दै विशेष गरेर वन मन्त्री छिरिङ वाङ्दी साथै सम्पूर्ण सिक्किमवासीप्रति आभार प्रकट गरेका छन्।

‘सिक्किमवासी अति भाग्यमानी छन्। सिक्किममा हरियो वन जङ्गल छ, स्वच्छ पानी र हावा छ। म यो संदेश देशका विभिन्न प्रान्तमा पुर्‍याउने छु’, उनले भने। वन जङ्गल र पर्यावरण संरक्षणको क्षेत्रमा सिक्किम उदाहरणीय रहेको आशय व्यक्त गर्दै यसको श्रेय राज्यका मुख्यमन्त्री पवन चामलिङलाई जाने पनि उनले बताए।

सिक्किमको स्वच्छ पर्यावरणबाट आफू जस्ता कलाकारहरूले प्रेरणा पाउने गरेको पनि मोहित चौहानले थप बताए। दोस्रोपल्ट सिक्किम आउन पाउँदा अत्यन्तै खुशी लागिरहेको छ भन्दै श्रीमतीले सिक्किमलाई दोस्रो घर बनाउने कुरा गरिरहेको मोहित चौहानले आज बताए।

उल्लेख्य, यस अघि गत जनवरी महिनामा गान्तोकमा आयोजित रेड पाण्डा विण्टर फेस्टिभलमा उनी अतिथि कलाकारको रुपमा पहिलोपल्ट गान्तोक आएका थिए। फेस्टिवलको अन्तिम दिन यहाँको पाल्जोर स्टेडियममा आयोजित उनको कन्सर्टमा भारी भीड़ जमा भएको थियो।

यसलाई सिक्किमको इतिहासमा कुनै साङ्गीतिक कार्यक्रममा भेला भएको सबैभन्दा ठूलो भीड़ मानिएको छ। त्य समय उनी श्रीमतीको साथमा निक्कै दिनसम्म सिक्किममा रहेर विभिन्न स्थानको भ्रमण गरेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया