छुदेनको ‘1986’-लाई युवा साहित्य अकादमी पुरस्कार, पाठकको कारण लेख्न अग्रसित छुदेन पाठकसितै खुशी बाँड्न चाहन्छन्

कालेबुङ, 22 जून।

“यतिबेला म उनीहरूलाई सम्झिरहेछु जसले मैले लेखेको चाहन्छ, मेरो लेखनलाई माया गर्छ, जसको कारण म लेख्छु। आजको यो खुशी पनि म उनीहरूसित नै साझा गर्न चाहन्छु।”

2018 को युवा साहित्य अकादमी पुरस्कारको निम्ति चयनित बनेका छुदेन काविमोले पुरस्कारको निम्ति चयन भएको खबर पाएपछि यस्तो मन्तव्य जाहेर गरेका छन्। कथा सङ्ग्रह ‘1986’-को निम्ति युवा अकादमी पुरस्कारले चयन भएका छुदेनलाई यो खुशीको क्षणमा आफूलाई माया गर्ने पाठकको याद सबैभन्दा धेर आइरहेको छ। पुरस्कार प्राप्त भएको खुशी उनी आफूलाई लेख्न दबाउ दिइरहने, नदेखी-नबोली कृतिको आधारमा माया गरिरहने, म्यासेज-कल गरेर लेख्नको निम्ति आग्रह गर्ने पाठकलाई नै समर्पित गर्दै उनीहरूसित नै खुशी सेर गर्न मन परिरहेको छ।

पाठकसित फोनमार्फत् खुशी बाँड्दा-बाँडदै फोनसम्म अफ भइसकेको छुदेनलाई आजमात्र युवा साहित्य अकादमी पुरस्कारको निम्ति चयन गरिएको जानकारी फोनमार्फत् नै प्राप्त भएको उनी बताउँछन्। “खुशी त लागिरहेकै छ तथापि मलाई मेरो पुस्तक माँगेको समयदेखि नै केही आशा भने लागिरहेको थियो”-पुरस्कार प्राप्तिमाथि आफूलाई लागेको आशाबारे छुदेन यसो भन्छन्। पुरस्कार प्राप्ति पछि थप दायित्वबोध हुनु उनलाई पनि स्वभाविक नै लागेको छ। “पुरस्कार नै नपाएको भए तापनि म लेख्न भने लेखिरहेकै हुन्थे कारण पुरस्कारभन्दा पहिले नै मैले पाठकहरूबाट धेरै नै माया पाएको छु जसको कारण मलाई लेख्ने उर्जा प्राप्त भइरहेको छ”-उनी अझ भन्छन्।

पुरस्कार प्राप्तिपछि छुदेनलाई कतिवटा कुरामा भने अझै परिवर्तन गरिए असल हुनेथियो भन्ने लाग्छ। विशेष पुरस्कारको निम्ति चयन भएको पुस्तकको मात्र होइन तर टप थ्री अथवा टप फाइभमा पुगेका पुस्तकहरूको पनि सूची सार्वजनिक गरिए असल हुने उनको विचार रहेको छ। यसको कारण पुरस्कार प्रापकलाई मात्र होइन तर अन्य कृतिकारहरूलाई पनि सन्तुष्टीसँगै लेख्ने उर्जा प्राप्त हुने उनको भनाइ छ। उनी भन्छन्-“यसको कारण पाठकलाई समेत थाहा हुन्छ कुन-कुन पुस्तक पुगेको थियो अनि कुन-कुन पुस्तकको बीचबाट पुरस्कारको निम्ति चयन गरियो। यसबाट पाठकले पनि पुरस्कार अनि पुस्तकबारे बुझ्ने माहौल बनिनेछ।”

यही साल उपन्यास लिएर पाठकसमक्ष आउने तयारी गरिरहेका छुदेनले युवा साहित्य अकादमी पुरस्कार प्राप्तिबाट प्राप्त भएको उर्जा त्यही काममा लगाउने ढृडता बनाइसकेका छन्। आन्दोलन अनि आन्दोलनसित सम्बन्धित कुराहरूलाई लिएर ‘1986’ लेखेका छुदेनले आउँदो उपन्यासमा पनि आन्दोलनकै कुराहरूलाई समावेस गरेको उनले बताएका छन्। आफू हुर्केको अनि बाँचेको परिवेशमा आन्दोलनले पारेको प्रभावको कारणले गर्दा नै आफू आन्दोलनसित जडित कुरालाई लिएर लेख्न अघि बडेको छुदेन बताउँछन्।

स्मरण रहोस् छुदेन काविमो-को कथा सङ्ग्रह ‘1986’ गत 2015 मा प्रकाशित भएको थियो। 12 वटा कथाहरू समावेश रहेको उक्त कथा सङ्ग्रहले लगभग तीन वर्षपछि युवा साहित्य अकादमी पुरस्कार प्राप्त गरेको हो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares