नेपाली भाषाको निम्ति बाल साहित्य अकादमी पुरस्कार सिक्किमका भीम प्रधानलाई

गान्तोक, 22 जून।


सिक्किमबाट भारतीय नेपाली भाषाको बाल साहित्यको क्षेत्रमा लगातार रूपमा उत्कृष्ट कार्य गर्दै आउने बाल साहित्यकार भीम प्रधानलाई वर्ष 2018 को निम्ति साहित्य अकादमी बाल साहित्य पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ। 1958 मा जन्मिएका साहित्यकार प्रधानलाई उनको दोस्रो मौलिक बाल साहित्य कृति बाल कोसेली (बाल कथा संग्रह)-को निम्ति साहित्य अकादमीले पुरस्कृत गर्ने घोषणा गरेको हो।

आज नयाँ दिल्लीबाट देशभरिका 23 जनालाई बाल साहित्यको निम्ति पुरस्कृत गर्ने घोषणा गरिएको हो। जसमा आगामी 14 नोभेम्बर बाल दिवसको दिन आयोजित विशेष कार्यक्रममा सो पुरस्कार प्रदान गरिने साहित्य अकादमीले घोषणा गरेको छ। वर्ष 2000 सालदेखि लगातार रूपमा बाल दर्पण नामक बाल साहित्यिक पत्रिका प्रकाशित गर्दै आएका 60 वर्षीय प्रधानले बाल कोसेली (बाल कविता सङ्कलन) 2012 मा प्रकाशित गरिसकेका छन् भने पुरस्कृत कृति 2013 मा प्रकाशित गरेका हुन्।

अहिले पूर्णकालिक रूपमा बाल साहित्यको उत्थान र जगेराको निम्ति कार्यरत साहित्यकार प्रधानले आफूलाई पुरस्कृत गर्ने घोषणा सुनेपछि खुशी व्यक्त गर्दै भने, किनारीकृत साहित्यको रूपमा रहेको बाल साहित्य हामीले लेख्न शुरु गर्दा यस्तो कुनै पुरस्कार र सम्मानको स्थापना पनि भएको थिएन। पुरस्कार र सम्मानको लोभले लेखिएन तर निरन्तर साहित्यकारहरूको बिउ जोगाउनकै निम्ति मैले बाल दर्पण पत्रिका निकाले। भावी साहित्यकार तयार गर्ने बियाड़ राख्दै गएँ जो घट्दो पाठकको समस्या भोग्नु परिरहेको साहित्यको निम्ति आवश्यक कार्य ठानेको छु। उनले 2000 सालदेखि लगातार रूपमा प्रकाशित गर्दै आएको बाल दर्पण साहित्यक पत्रिका अहिले विभिन्न विशेषाङ्कहरूका साथ 97 अङ्क प्रकाशित भइसकेको छ। जसमा 29 वटा पाठशालाका विद्यार्थीहरूको 49 विशेषाङ्क छापिएको छ भने पर्यावरण संरक्षण अङ्क र बाल प्रतिभा अङ्क प्रकाशित गरिएको छ।

यसअघि उनले 2015 सालमा नयाँ दिल्लीमा आयोजित विश्व पुस्तक मेलामा 21 औं शताब्दीमा परी कथाहरूको प्रासङ्गिकता जरूरी छ कि छैन भन्ने विषयको बहसमा प्रतिनिधित्व गरेका थिए। जसले पाठ्यक्रम र बाल साहित्यबाट कल्पनाको कथाहरू हटाउने र वैज्ञानिक आधारहरूमा आधारित सत्यताको बाल साहित्यलाई मात्र स्थान दिने निष्कर्षको निम्ति सो अन्तरक्रिया राखिएको थियो। त्यसमा साहित्यकार प्रधानले परी कथा तथा कल्पनाले भरिएको कथाहरू हुन जरूरी रहेको र बाल बालिकाहरूलाई कल्पनाशील बनाउनको निम्ति यसको महत्वपूर्ण भूमिका रहने अनि कुनै पनि वैज्ञानिकले आफ्नो प्रमाण जुटाउनु अघि कल्पना गर्नुपर्ने विषयको उठान पछि परामर्श समितिले भारतको बाल साहित्यबाट कल्पना जगत र परीकथा जस्ता कुरा नहटाउने निर्णय गरेको हो। यसलाई उनी आफ्नो जीवनको महत्वपूर्ण उपलब्धि मान्छन् भने बाल बालिकाहरूको निम्ति उनी आफूले भ्याएसम्म बाल दर्पणलाई प्रकाशन जारी राख्ने प्रतिबद्धता दोहोऱ्याउँछन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares