गोरामुमोले पालन गऱ्यो सुवास घिसिङ जन्मजयन्ती, हिल एरिया डेभलोपमेन्ट कमिटी फिर्ता गर्ने मन घिसिङको घोषणा

खरसाङ, 22 जून।

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा ( गोरामुमो) ले शुक्रबार २२ जून खरसाङमा पूर्व अध्यक्ष स्व० सुवास घिसिङको ८३ औं जन्म जयन्ती पालन गऱ्यो। खरसाङको गोर्खा दु:ख निवारक ( जीडीएनएस) भवनमा खरसाङ ब्राञ्च कमिटीको सभापति निमा लामाको अध्यक्षतामा सम्पन्न स्व० सुबास घिसिङको जन्म जयन्ती समारोहमा मुख्य अतिथिको रुपमा वर्तमान गोरामुमो अध्यक्ष मन घिसिङ उपस्थित रहेका थिए।

यस अवसरमा मुख्य वक्ताको रुपमा बोल्दै गोरामुमो अध्यक्ष मन घिसिङले महत्वपूर्ण घोषणाहरु गरेका छन्। उनले आफ्नो सम्बोधनमा गोरामुमो केन्द्रीय कमिटी, ब्राञ्च कमिटी, समष्टी कमिटी र अन्य भातृ संगठनहरु पनि विघटन भएको घोषणा गरे भने  गोरामुमोको श्रमिक संगठन हिमालयन प्लान्टेशन वर्कर युनियन ( एचपीडब्ल्युयु) र भूतपूर्व सैनिक संगठनबाहेक अन्य सबै भातृ संगठनहरु पनि विघटन भएको घोषणा गरे।

अध्यक्ष मन घिसिङले बंगाल सरकारले गोरामुमोलाई प्रदान गरेको हिल एरिया डेभलपमेन्ट कमिटी (एचएडीसी) पनि सरकारलाई नै आजदेखि फिर्ता गरेको पनि घोषणा गरे। उनले आफ्नो सम्बोधनमा भने – “हामी पहाडको राजनैतिक परिस्थिति र पार्टीको अवस्थालाई हेरेर पार्टीको केन्द्रीय कमिटी, दार्जिलिङ र कालेबुङ दुवै जिल्लाको ब्राञ्च कमिटी, समष्टी कमिटी र अन्य भातृ संगठनहरु पनि विघटन गर्दछौँ। हामी अहिले पनि वार्तामा नै छौं, वर्तमानमा पनि वार्ता हुनुपर्छ अनि  वार्तामा एउटा मात्र होइन तर सबै राजनीतिक पार्टीहरुलाई पनि बोलाउनु पर्छ। हामी कलेक्टिभ लिडरशिप चाहान्छौ।”

गोरामुमो अध्यक्ष मन घिसिङले आफ्नो सम्बोधनमा सरकारले प्रदान गरेको हिल एरिया डेभलपमेन्ट कमिटी सरकारलाई नै फिर्ता गरेको बताउँदै भने-“यो एचएडीसी त्यसताक मुख्यमन्त्रीले गम्भीर परिस्थिति र विशेष स्थितिमा घोषणा गरेकी थिइन् र हामीले पनि यस मार्फत् गरीब र विपन्न परिवारहरुलाई लिएर काम गरौं भन्ने सोचेका थियौं तर पहाडको राजनैतिक परिस्थिति अहिले अर्कै भएको छ। त्यसैले हामीले यो एचएडीसी सरकारलाई नै फिर्ता गर्ने निर्णय लिएका छौं।” आफ्नो सम्बोधन अवधि मन घिसिङले गोर्खाल्याण्ड राज्य सोझै हुन्छ भने हामीलाई आपत्ति केही छैन तर गोर्खाल्याण्ड छैटौं अनुसुची मार्फत नै हुन्छ भन्ने हाम्रो विचार छ भनी बताए।

स्व सुवास घिसिङको ८३ औं जन्म जयन्ती कार्यक्रमलाई केन्द्रीय सदस्य रबीन लामा, युद्ध छेत्री, प्रवक्ता निरज जिम्बा आदिले पनि सम्बोधन गरेका थिए। कार्यक्रममा केन्द्रीय महासचिव महेन्द्र छेत्री, केन्द्रीय सदस्यहरु आईएन प्रधान, दुर्गा प्रधान, हेमा लामा, पीसी अग्रवाल साथै युवा एकाई खरसाङ ब्राञ्च कमिटीका सभापति राकेश राई लगायत अन्य पदाधिकारीहरू उपस्थित रहेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares