फेरि जीवित हुनेछन् हमजायगा

दार्जीलिङ, 22 जून।

दार्जीलिङमा एकपल्ट फेरि जीवित हुनेछन् हमजायगा। जसको माध्यम हुनेछ चलचित्र। दार्जीलिङको बैष्णवी प्रोडक्शनले हमजायगामाथि चलचित्र निर्माण गर्ने घोषणा गरेपछि पुनः एकपल्ट हमजायगा दर्शकहरूअघि आउने निश्‍चित भएको छ।

यसैको जानकारी गराउँदै बैष्णवी प्रोडक्शन साथै चलचित्रका निर्देशक आदित्या रायाले भने-हमजायगाको नाम आउनसाथ सबैको मुहारमा हाँसो देखा पर्छ अनि विश्‍वको कुना-कुनामा बस्ने नेपालीहरूमा पनि हमजायगा परिचित अनि प्रख्यात छन्। जसले दार्जीलिङलाई विश्‍वभरिनै प्रतिनिधित्व गर्छन्। यसैले हाँस्य व्यङ्ग्यकारका रूपमा सर्वत्र परिचित हमजायगाको जीवनी साथै उनका जोक्सहरूलाई आधार बनाएर यो चलचित्र निर्माण गर्ने योजना बनाइएको छ। जसमा दार्जीलिङ पहाड़का प्रतिष्ठित पुराना अनि नयाँ कलाकारहरूले अभिनय गर्ने भए पनि यी कलाकारहरूको नाम सार्वजनिक गरिएन।

बैष्णवी प्रोडक्शनले यसअघि 2015-मा पुनर्जन्म नामक चलचित्र निर्माण गरेको थियो। जसले दर्शकलाई रूवाएको थियो भने हमजायगाले दर्शकहरूलाई हँसाउनेछ भन्दै चलचित्रका निर्देशक रायाले भने-पुनर्जन्म चलचित्रलाई जनताले माया दिएको कारणनै हाम्रो हौसला बढ़ेको हो अनि हमजायगामाथि अर्को चलचित्र निर्माण गर्ने आँट गरेका हौं। जसको छायाङ्कन आगामी केही समयभित्रै शुरू गरिने तय गरिएको पनि उनले जनाए।

जोक्सको लागि परिचित हमजायगाको असली नाम दलबहादुर गुरूङ हो। उनी यहाँको काकझोडामा बस्थे, जसले नेपाली चलचित्र कुसुमे रूमालमा पनि छोटो अभिनय गरेका थिए भने त्यसमा पनि उनले जोक्सनै भनिरहेको देखाइएको छ। यति मात्रै होइन, विगतमा हमजायगाको डायरी नामको जोक्सको किताब पनि दार्जीलिङमा धेरै प्रचलित बनेको थियो। उनै कलाकारमाथि बैष्णवी प्रोडक्शनले चलचित्र निर्माण गर्ने निधो गरेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares