कैलाश मानसरोवर यात्राका यात्रीहरूलाई 758 बीआरटीएफले गऱ्यो स्वागत

गान्तोक, 23 जून।


पवित्र कैलाश मानसरोवर यात्राका लागि सिक्किम आइपुगेका तीर्थ यात्रीहरूलाई 758 बीआरटीएफले भव्यरूपमा स्वागत जनायो। य़स अवसरमा जेएन रोड आठ माइलमा एक कार्यक्रम आयोजन गरिएको थियो। कार्यक्रमका मुख्य अतिथि 758 बीआरटीएफका कर्नल इन्दर मोहन सिंहले विधिवत रूपमा खदा लगाएर स्वागत जनाएका थिए।

उल्लेखनीय, अन्तर्राष्ट्रिय भारत-चीन नथूला सीमाबाट सञ्चालित पवित्र कैलाश मानसरोवर यात्रामा देशका विभिन्न राज्यका शिव भक्तहरूले भाग लिँदै आएका छन्। दुइ दिन अघि पहिलो चरणको तीर्थ यात्रीको टोलीले नथुला सीमा पार्दै गर्दै चीन प्रवेश गरेको थियो भने हिजो दोस्रो चरणको यात्री गान्तोक हुँदै 15 माइल पुगेका थिए। यसबीच सीमा सड़क सङ्गठन (बीआरओ) स्वास्तिकअन्तर्गत 758 बीआरटीएफले भव्यरूपमा स्वागत गरेको थियो। बीआरटीएफका अफिसर कमाण्डिङ 1066 एफडब्ल्यू लेफ्टनेन्ट कर्नल पीडी भोटिया, अफिसर कमाण्डर 129 आरसीसी रामास्रे साहको तयारीमा आयोजित कार्यक्रमका 45 जना तीर्थ यात्रीहरूको स्वागतसँगै स्वास्थ्य जाँच पनि गरियो।

कार्यक्रमका आयोजक 758 बीआरटीएफका कमाण्डर कर्नल इन्दर मोहन सिंहले देशका विभिन्न प्रान्तबाट आएका तीर्थ यात्रीहरूसँग अन्तरक्रिया गर्दै सिक्किममा स्वागत जनाए साथै यात्राका लागि शुभकामना प्रकट गरे। नथुला सीमासम्म बीआरटीएफको तर्फबाट हुन सक्ने आवश्यक सबै सुविधा प्रदान गर्ने आश्वासन पनि उनले दिए। य़सबीच उनले प्रत्येक तीर्थ यात्रीसँग अन्तरक्रिया पनि गरे। तीर्थ यात्रीहरूको पक्षबाट बोल्दै हिमाचल प्रदेशको शिमलाबाट आएका 64 वर्षीय रतन शर्माले बीआरटीएफले गरेको आतिथ्य सत्कारलाई भूल्न नसक्ने बताए साथै अवसर प्राप्त भए भविष्यमा पनि सिक्किमको नथुला सीमा भएर कैलाश मानसरोवरको यात्रा गर्ने बताए। उनले कैलाश पर्वत सरह अन्य पाँच पवित्र पर्वतको दर्शन गर्ने लक्ष्य राख्दै यसपालि कैलाश मानसरोवर तीर्थ यात्राका लागि सिक्किम आइपुगेको बताए।

स्मरण रहोस्, सिक्किम भारत सरकार र चीन सरकारबीच लामो समयदेखि चलिरहेको आधिकारिक वार्तापछि सिक्किमको नथुला भएर कैलाश मानसरोवर यात्रा शुरू गर्ने निर्णय भएको थियो। यसअन्तर्गत भारत सरकारको विदेश मन्त्रालय र सिक्किम सरकारको सिक्किम पर्यटन विकास निगमले तीर्थ यात्रीहरूलाई कैलाश मानसरोवरको दर्शन गराउँदै आएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया