मुङ्गेरीलाल र सञ्चवीरको सपनाहरू

पुरण छेत्री


सपना, कसैलाई भवष्यवाणी, कसैलाई बिपनाको इच्छा पूरा भएको हेर्ने चलचित्र।

कोही सपना देखेर हाँस्दै उठ्छन्, कोही ठुस्स परेर। कोही सपना सम्झेर दिनभरि लजाई रहने, उत्ता फर्केर। सपना, एउटा अधिकार, न कसैले रोक्न सक्छ न कानून लाग्छ। सित्तैमा देखिने सपनाहरूमाथि ९० को दशकमा मनोहर श्याम जोशीद्वारा लेखिएको टिभी सिरियल मुंगेरीलाल की हसिन सपनें निक्कै हिट भयो। दर्शकहरूको इच्छा बमोजिम निर्देशक प्रकाश झाले यो सिरियल निक्कै रोचक बनाएका थिए। भर्खरै रङ्गिन टेलिभिजनले प्रवेश पाएको हाम्रो गाउँमा, मुङ्गेरीलाल हेर्न निक्कै टाड़ा-टाड़ाबाट पनि टेलिभिजन भएको घरमा मानिसहरू धाउँने गर्थे। सिरियल सकियो। समयको धुलोले मुङ्गेरीलाल र उनका सपनाहरू छोपिँदै गए। हामी थ्रीजी फोरजी हुँदै पूर्ण एचडी मा छौँ। समय-समयमा ‘नो’ जी हुने कुरा भने अलग हो।

जनमानसले भुलिसकेको मुङ्गेरीलालको अजिब सपनाहरू, सञ्चवीर सुब्बाको आँखामा अचानक देखा पऱ्यो। “भाइ-भतिजावादको संस्कारलाई त्यागेर पारदर्शितासँग काम गर्न चाहन्छौँ, हामीले कुनै पनि दललाई चुनौतिको रूपमा लिएका छैनौँ।” विचरा मुङ्गेरीलाल भन्दा निकै ठूलो सपना। सञ्चवीर कसरी यो जालमा फँसिए, आफैमा अस्पष्ट। १०५ को ज्वरोले सिकिस्त गोर्खा जातिलाई भूल चिकित्सककहाँ पुर्‍याएर, गलत औषधि किन दिइयो, त्यो पहिले पारदर्शी होस्। गलत औषधिले कोमामा गएको यो जाति बँचाउने कुन योजना छ त्यो पारदर्शी होस्। रातारात लटरी परेर ३० लाखको गाड़ी चडेर पारदर्शिताको गफ हाँक्नु सञ्चवीर जस्तो स्वाभिमानी व्यक्तिलाई पटक्क सुहाएको छैन। भाइ-भतिजावाद नगर्ने सपना पाले पनि ‘समर्थकवाद’ भने गर्ने। आफ्नो समर्थकहरूलाई जस्तै ठूलो मुद्दा भए पनि कानून नलाग्ने, गोर्खाल्याण्ड समर्थकहरूलाई भएभरको झुटो मुद्दा ठोक्ने। आफ्नो समर्थकहरूको भएभरको पुरानो कामको बिल छोड्ने गोर्खाल्याण्ड समर्थकहरूको बिल सबै अड्काएर राख्ने। निर्वाचित नगरपार्षद् बरूण भूजेलको हत्या हुँदा सञ्चवीरको पारदर्शिता घाँस खान गएको थियो? सित्तैमा पाएको कुर्सीमा बस्नेलाई के थाहा जन निर्वाचितको महत्त्व? उनको परिवारलाई एउटा समवेदना धरि दिन नसक्ने सस्तो पारदर्शिता हामीले सञ्चवीरसँग अपेक्षा गरेका होइनौँ।

“दार्जीलिङ र खरसाङको कुरा म गर्दिनँ, जीटीए चनाव आज नै भए पनि हामी कालेबुङको १३ वटै समष्टिहरू जित्न सक्छौँ” यो राजनैतिक प्रतिबद्धता भन्दा धेर सपना नै हो। सञ्चवीरको चुनाव जित्ने अड्कल, आफ्नै समष्टिमा पनि गलत भएको उदाहरण हामीसँग छ। जन्मिने बित्तिकै चुनाव जित्ने सपना महाभूल हुनजान्छ र यस्तो अपरिपक्व बयान कमसेकम सञ्चवीरबाट आउनु हुँदैन। विनय-अनितले पहिलेबाटै सञ्चवीरलाई जोकर बनाइरहेको अवस्थामा जनताको अघि बयानबाजी गर्न अघि दसपल्ट सोँच्ने सुझाव दिन्छु। विकास हाम्रो मुद्दा होइन, यो छोड़ेर जीटीए २ सँग अर्को मुद्दा छैन। ११ जात गोष्ठीमा हात सेक्न दिल्ली पुगेका विनयलाई मन्त्रीहरूले धरि भेट्न मानेनन्। अब कुन मुद्दा लिएर मैदानमा आउने? १३ वटा समष्टिको नाम भर्खर थाहा हुँदैछ सञ्चवीरलाई। राम्रोसँग समष्टि पनि घुमेका छैनन् तर १३ वटै समष्टि जित्ने हावाको महत्वाकांक्षा नबोकेको राम्रो।

सञ्चवीरको र्कायक्षेत्र सिमित छ, जगजाहेर कुरा। कोलकाताबाट नाम सिफारिस नभएको भए विनय-अनितले सञ्चवीरलाई अस्ति घँचेटी पठाउँथे। विनय-अनित आफ्नो मेला ग्राउण्ड जत्रो जत्रो होर्डिङ लगाउँछन् अनि सञ्चवीरलाई ‘साह्रै स्लो’ भन्छन्। मानौँ, उनीहरूको हातमा भएको भए, त्यो कुर्सीमा अस्ति अर्कैलाई बिराजमान गराउँथे। राम्ररी कुरा बुझ्नोस्, हजुर १३ वटा समष्टि जित्ने होइन तर विनय-अनितको निम्ति घाँड़ो हुनुहुन्छ। होइन भने भन्नू होला, तपाईँ र कालेबुङको हकलाई नाँघेर विनय-अनितले लिएको निर्णयहरूको सूचि पनि प्रकाशित गर्न सकिन्छ।

अन्त्यमा, क्षणिक सुख सुविधाको निम्ति सञ्चवीरले गोर्खाल्याण्डको मुद्दा भुले पनि उनले कालेबुङको स्वाभिमानलाई निलामी गर्दैनन् होला भन्ने आशा अझ पनि कालेबुङे जनताले गरिरहेका छन्। हजुरको विकासको मुद्दा आपसी सहकार्यबिना सफल हुँदैन। हामी सञ्चवीरलाई विकासको मुद्दामा सहयोग गर्न तयारी छौँ। सञ्चवीरले पनि हाम्रो ‘गोर्खाल्याण्डको’ मुद्दामा सहयोग गरे कसो होला?

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया