रोक्न सकेन मुसलधारे बर्खाले पनि बसिबियाँलो-को दोस्रो प्रकरणलाई

विज्ञापन

मुम्बई,  25 जून


देशको सबैभन्दा व्यस्त महानगरी मुम्बईको एल्फिन्स्टेन परेलस्थित दामोदर स्कूल भवनमा मासिक रूपमा सम्पन्न हुने सामाजिक सिर्जनात्मक वैचारिक कार्यक्रम बसिबियाँलोको दोस्रो प्रकरण सम्पन्न भयो। धेरै वर्षदेखि मुम्बईलाई कर्मक्षेत्र बनाएर बसेका गोविन्द रामहरि शर्माले कार्यक्रमको घरपटित्व गरेका थिए। कार्यक्रममा सहभागी बन्न दिल्ली अनि बङ्गलोरबाट पनि नेपालीभाषी युवाहरू आइपुगेका थिए। घरपटि शर्माले स्वागत वक्तव्यमा लगातार बर्खा अनि साप्ताहिक मेगाब्लकले रेलमार्ग बाधित भएको समयमा पनि उत्साहित बनी कार्यक्रममा सहभागी बनिदिएकोमा सबैप्रति आभार प्रकट गर्दै आचार संहिता पाठ गराए। बसिबियाँलोको छोटो परिचय पनि राख्दै उनले यस कार्यक्रमबाट दिनभरिको भागदौड़को जीवनदेखि मुम्बईवासी नेपालीभाषीहरूले केही मात्रामा भए पनि राहत पाउन थालेको बताए। बसिबियाँलो-को माध्यमद्वारा मुम्बईमा रहेर आइरहेका नेपालीभाषीहरूले एकअर्कालाई चिन्ने मौका पाइरहेको पनि उनले बताए।

यसरी नै युवा लेखक हीरा छेत्रीले नवागन्तुक अतिथिहरूलाई बसिबियाँलो-को पृष्ठभूमिबारे बताउँदै यस वैचारिक अभियानका सामाजिक पक्षहरू खुलस्त पारे अनि उपस्थितवर्गसित अन्तरक्रिया गरे।

हालमा भारतीय नौसेनामा अभियान्त्रिकका रुपमा सेवारत सिक्किम निवासी युवा सामाजिक कार्यकर्ता केशव सापकोटाले दुइवटा कविता सुनाएर सबैको मन जिते भने माटुङ्गा निवासी युवाकवि पदम भुलले गीत अनि कविता सुनाएर कार्यक्रमलाई नयाँ आयाम दिए। मुम्बईमा रहेर आइरहेका नेपालीभाषीहरूबीच सुपरिचित व्यक्तित्व पदम भुलले बसिबियाँलो-को अवधारणाबाट आफू प्रेरित अनि उत्साहित भएको बताउँदै यस वैचारिक अभियानले वासी र भाषीलाई एकत्र गरेको दाबी गरे अनि उनले नेपालीहरू विश्वमा धेरै ठाउँका वासी भएर रहे पनि उनीहरू नेपालीभाषी हुन् भन्ने जनाउँदै भाषाले मात्र नेपालीहरूलाई एकबद्ध गराउने बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय अनि अन्तर्राष्ट्रिय स्तरमा खेलकुदका गतिविधिसित संलग्न रहेर आइरहेका ब्ल्याक बेल्ट छैटौँ डान नरेन्द्र ओलीले आत्मरक्षाको खेल मार्सल आर्टको आवश्यकताबारे प्रकाश पारे अनि महिलाहरूमा यस खेलको मौलिक ज्ञान हुनु अनिवार्य रहेको जनाए। यसबारे कुनै पनि प्रकारको सहयोगका लागि आफू हरदम तयार रहेको बताउँदै कराते डु फेडेरेसन अफ इन्डियाका सभापति अनि मुख्य प्रशिक्षक पनि रहेका ओलीले खेलकुदले मानिसको जीवनलाई तन्दुरुस्त राख्ने दाबी गरे। यसरी नै उनले विश्वका सबै देश तथा जातिको आफ्नो विशेष खेल रहेजस्तै नेपालीहरूको पनि खुकुरी कलालाई विश्वस्तरमा परिचय प्रदान गर्ने दिशामा कार्य गरिरहेको पनि जानकारी गराए।

सामाजिक कार्यकर्ता सकुन सिंह राईले बसिबियाँलो-मा व्यक्ति अनि पदको सम्मान नभएर विचारको आदर गरिने जानकारी दिँदै यस अभियानलाई समाजोपयोगी बनाउनु पर्ने दिशामा कार्य गर्नुपर्ने आफ्नो प्रतिबद्धता दोहोऱ्याइन्।

विगत धेरै सालदेखि आयुर्वेद उपचारको दिशामा कार्य गरेर समाजका असहाय अनि आर्थिक रुपले असक्षम रोगीहरूलाई सहायता गर्दै आइरहेका डा. टेक चादले आफ्नो स्वास्थ्य केन्द्रमा विशेष प्रकारको उपचार अनि ओखतीमुलोहरूको उपलब्धता रहेको बताउँदै मुम्बईवासी नेपालीभाषीहरूका सहायतार्थ आफ्नो उपचार केन्द्रको ढोका सदैव खुला रहेको जनाए।

बलिउडका सिनेमाटोग्राफर युवराज न्यौपानेले बसिबियाँलो-ले मुम्बईमा रहेर आफ्नो भाषा र संस्कृति भुल्न लागिरहेका कतिपय नेपालीभाषीहरूलाई मातृभाषा नेपालीमा बोल्न बाध्य गराइरहेको अनि कतिपय ठेट शब्दहरूतिर आकृष्ट गराएर एक महत्त्वपूर्ण कार्य गरिरहेको दाबी गरे। उनले आफ्ना कतिपय अनुभवहरू साझा गर्दै मानिसको जीवनमा जातीय भाषा र संस्कृतिको महत्त्वपूर्ण भूमिका रहने बताए अनि बसिबियाँलो जस्तो मञ्चबाट मुम्बईवासी नेपालीभाषीहरू लाभान्वित हुने दाबी गरे।

यस दिनको कार्यक्रममा उपस्थिति दिने विशेष व्यक्तिहरूमा यहाँका विभिन्न उपनगरीय शहरहरू अन्धेरी, एन्टप हिल, घाटकोपर, उड़ान,  नेवी नगर, फोर्ट, माहिम, माटुङ्गा, मलाढ, भान्डुप, मिरा रोड, चेम्बुर, वासी, पनवेल, डोम्बिभेली, भिवन्डी, साकिनाका आदि स्थानबाट आएका सहयात्रीहरू थिए – सामाजिक कार्यकर्ता विकास दूतराज, निलिमा दूतराज, निजी कर्मी लक्ष्मी थापा, लेखिका स्वस्तिका छेत्री, विद्यार्थी याचना छेत्री, नेवी अधिकारी बिपिन दाहाल, नेवी अधिकारी ठाकुर अधिकारी, नेवी अधिकारी सञ्जीव खनाल, सामाजिक कार्यकर्ता रामसिंह तिरुवा, सामाजिक कार्यकर्ता डा. ललित जी. सिंह, व्यवसायी खड़क सिंह, मुम्बई पोर्ट ट्रस्टका लक्ष्मण एन. सुनार, हनीवेल कम्पनीका प्रोडक्सन विशेषज्ञ ब्रिजेश दमाई, निजी व्यवसायी सुजाता राई, सिमा राई, मिना राई, मुन्ना राई, सुनिका राई, माधवी शर्मा आदि।

कार्यक्रममा पदम भुल, सकुन सिंह राई अनि युवराज न्यौपानेले विभिन्न गीतहरू प्रस्तुत गरेर मनोरञ्जन पनि गराएका थिए। यसरी नै आगामी बसिबियाँलोलाई भानुजयन्तीका रुपमा पालन गरिने जानकारीसहित दोस्रो प्रकरणका घरपटीले सबैलाई धन्यबाद प्रदान गरे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया