मार्गरेट्सहोपमा बल्झियो २५ जून १९५५

सञ्जीव मोहोरा, सोनादा २५ जुन


मार्गरेट्सहोपले श्रमिक सङ्घर्षको इतिहास 1955 सालदेखि जोगाएर राखको छ। सारा श्रमिकहरू मालिक र सरकारको शोषणबाट मुक्ति चाहान्थे। उनीहरूसित 14 सुत्री माग थियो। त्यसमा हट्टाबहार प्रथा हटाउने, तीन महिनाको रोजी र तलब बराबर बोनस, डुवर्सका श्रमिकहरूकोजस्तो रोजी 1 रुपियाँ 11 आना हुनुपर्ने, स्टाफहरूको रोजवृद्धि, 1952-53 मा बन्द भएको बगानका श्रमिकहरूलाई हर्जाना दिइनुपर्नेजस्ता माग प्रमुख थियो।

सरकार र मालिक दुवैले पत्तो दिएन। पत्तो नदिएपछि श्रमिकहरू उग्र बन्न थाले। 22 जुनदेखि सरकार र मालिकलाई दवाब दिन भोक हड्ताल शुरु भयो। त्यही हडताल 25 जुनको दिन उग्र बन्यो। नेताहरू रतनलाल ब्राह्माण, देवप्रकाश राई, भद्रबहादुर हमालहरूलाई पक्राउ वारन्ट निस्कियो। मनोरजन राय, आनन्द पाठक, एलबी लामा त पक्राउ नै परे।

श्रमिकहरू अझ उग्र बने उनीहरूले आफ्ना मागहरू अघि राखेर जुलुस निकाले। त्यही जुलुस रोक्न पुलिसले गोली चलायो। अमृता माया कमिनी, मौलीशोभा राईनी, काले लिम्बु, जितमान तामाङ, पदम बहादुर र कान्छा सुनुवार गरि ६ जना त्यहीँ ढले।

कुनै पनि आन्दोलनमा दार्जीलिङमा सहिद भएको यो पहिलो घटना थियो। अधिकारको निम्ति लड्नेहरूलाई सत्ताले दबाएको इतिहासको शुरुवात पनि यही पहिलो थियो। जुन सपनाको लागि श्रमिकहरू लडे, त्यही सपना तोड्न पुलिसले गोली चलाए।

क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीले 25 जुनलाई त्यसै कारण भुल्न सक्दैन। हरेकवर्ष क्रामाकपाले सहिदहरूलाई स्मरण गर्छ। आज पनि मार्गरेट्स होप चियाबारीको कण्ट्रोल डाँडामा एउटा कार्यक्रम भयो।

कार्यक्रममा क्रामकपा अध्यक्ष आरबी राई मुख्य अतिथि थिए।  ‘मिनिमम वेजेजको निम्ति लड्न सम्पूर्ण चियाश्रमिकहरु एकसुत्रमा बाँधिनुपर्छ,’ उनले भने,  ‘1955 देखि अहिलेसम्म श्रमिकहरूको अवस्था उस्तै छ, 6 जना सहिदहरूले देखेको सपना श्रमिकहरूले नै पूरा गर्नुपर्छ। यसको लागि एकता मात्र बलियो हतियार हो।’

उनले विभिन्न पार्टी विभिन्न युनियनहरूबीच मैत्रिक सम्बन्ध कायम हुन नसकेकोले पनि समस्या भएको पनि बताए। ‘श्रमिक त श्रमिक नै हुन्, उनीहरूको कुनै रङ हुँदैन,’ उनले भने।

यता क्रामाकपा प्रवक्ता गोबिन छेत्रीले मार्गरेट्सहोपको भूमिले सङ्घर्षको बीज बोकेको बताए।  ‘जिटिएले 5 डेसिमल जमिन दिँदैछ, तर हाम्रा पूर्खाहरूले उहिल्यैदेखि पसिना र रगत सिँचेको जमिन पाँच डेसिमल मात्र छैन,’ उनले भने, ‘उनीहरूसित जति जमिन छ, त्यतिकै पर्चापट्टा दिइनुपर्छ।’

उनले बन्द भएका चियाकमान धोतरिया,कलेजभेल्ली,तुङसुङ,पेसोक पनि शीघ्र खोल्नुपर्ने बताए।  बि.एस. सुब्बाको अध्यक्षतामा सम्पन्न आजको श्रद्धाञ्जली कार्यक्रममा लाली गुराँस समुहद्वारा जनवादी गीतहरु प्रस्तुत गरिएको थियो। क्रामाकपा केन्द्रिय सदस्य  सहसचिव सुनिल राई, केन्द्रिय सदस्य आरपी पाखरिन, हर्कराज किराँत पनि उपस्थित थिए।

आरबी राईले पार्टीको झन्डा उत्तोलन गरे। सबैले सहिद बेदीमा पुष्प चढाए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares