मन घिसिङे आइडियोलजी -ममताको काखमा उन्मुक्तिको सपना?

आलोचना

बबिता मादेन


उद्देश्यहिन राजनीतिले पीडित गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको एक पछि अर्को अनपेक्षित क्रियाकलापले पार्टीको राजनैतिक प्रतिबद्धतामाथि गत्तिलै प्रश्नचिह्न मात्र खडा गरेको छैन तर हाल पहाडमा बदलिँदो राजनैतिक समिकरण देखापर्ने सम्भावना पनि चुलिएर गएको छ।

गोरामुमो संस्थापक सुवास घिसिङले राजनीतिमा सम्झौता गर्ने परम्पराका जग बसाले। तर मूल सत्य गोर्खाहरूमा जातिय चेतना सञ्चार गर्दै आत्मनिर्णयका अधिकारप्रति जागरूकता भर्ने श्रेय उनैलाई जान्छ। 2007 सालमा बिमल गुरूङको नेतृत्वमा पहाडमा बद्लिएको राजनैतिक परिवेश नवचेतनाले ल्याएको परिवर्तन नभएर वर्षौको दमित राजनीतिका उफान थियो।

एकछत्र सत्ताका मालिक सुवास घिसिङमा भएको राजनैतिक रणकौशलका ज्ञान आज उनका उत्तराधिकारीमा भारी अभाव रहेको पाउँछौ।

धेरै लामो समयसम्म सत्तामा रहिसकेको र त्यसपछि पहाडका प्रमुख विपक्षीको भूमिकामा बसेको गोर्खा राष्ट्रिय मुक्ति मोर्चामा अहिले एकाग्रता, चिन्तन -मनन र बौद्धिकताको अकाल देखिँदै गइरहेको छ। थुप्रै अवसरहरू अप्नाएता पनि पार्टिले आफ्नो पुरानो गरिमा फर्काइ ल्याउँन सकेको छैन।

गत वर्षको आन्दोलन बेला गोरामुमोले भन्यो, ‘यदि गोर्खाल्यान्ड बाहेक अन्य व्यवस्थासँग सम्झौता गरे पहाडमा आगो लाग्नेछ।’ तर आन्दोलन कालभरि राज्यको नजरमा पार्टीको छविलाई सुरक्षित राख्ने रणनीति लिएर हिँड्यो गोरामुमो।

आन्दोलन निष्फल हुने सम्भावना बिचारेर शान्तिको नाममा सम्झौताको पहल गर्न लाग्दा बिनय पन्थी समुहले बिमल गुरूङ विरूद्ध बिद्रोह फुकि राज्यसँग निकट हुँदा पहाडको राजनीतिमा फेरि चम्किने एउटा मौका त्यसै गुमाउनु पऱ्यो।

गोरामुमोलाई दिइएको डेभलोपमेन्ट बोर्ड पहाडको तत्कालीन अनिश्चित राजनीतिबाट असुरक्षित बनेका राज्यको कुटनैतिक चाल थियो। पैसा र पावर बिनाको एउटा सामान्य सोसाइटी रेजिस्ट्रेसन भएको बिकास बोर्ड गोरामुमोको निम्ति घाँडो मात्र थियो।

राज्यको प्यारो भएर बस्नु भन्दा जनताको दिलमा ठाउँ बनाउँने पहल उचित पनि हो। जन समर्थन बिनाको पार्टीसँग सरकारलाई कुनै डरै हुँदैन र सरकार यस्तो पार्टीलाई धेरै दिनसम्म चारो हाल्दै राख्ने बेवकुफी पनि गर्दैन।

क्षमता उपभोग गर्नकै लागि सानो- सानो अवसरको पछि लाग्नुले पार्टीको मुल उद्देश्यमा तुवाँलो लाग्ने र घरिघरिको निर्णय परिवर्तनले जनमानसमा भ्रमको सन्देश जानाले पनि गोरामुमोले व्यापक क्षति बेहोर्नु परेको सत्य हो।

घरि गोर्खाल्यान्ड भन्छ घरि छैटौं अनुसुची, कहिले छैटौं अनुसूचीलाई एक्सपायर ट्याबलेट भन्दै बिकास बोर्ड थाप्छ अनि ममताको काखमा बसेर उन्मुक्तिको सपना देख्छ। फेरि छैटौं अनुसूची मात्र हाम्रो एक मात्र मुद्दा हो भन्दै बोर्ड सरकारलाई फर्काइ दिन्छ।

वास्तवमा पार्टीको एजेन्डा के हो? सिद्धान्त के हो? उद्देश्य के हो? जनतालाई के दिन चाहेका हुन नेताहरू आफै अन्योलमा छन्, जनतालाई कसरी स्पष्ट पार्ने?

बारम्बार आफ्नो फैसलामा लचिलोपन ल्याउँनु नै गोरामुमोभित्रको कमजोर मनस्थितिको परिचय हो। यस्तोमा जनताको सहानुभूति र समर्थन कसरी प्राप्त होला?

राज्यसँग तालमेल बनाएर हिँड्नु र जनताबिच आफ्नो प्रभुत्व पनि कायम राख्नु आउने दिनहरूमा गोरामुमोको निम्ति अवश्य चुनौतिपूर्ण कार्य हुनेछ। कारण बिकास बोर्ड फर्काउँनाले राज्य सरकारसँगको सम्बन्धमा फाटो आउँदैन भन्न सकिन्न। र त्यहीँमाथि सत्ताधारी बिनय तामाङहरू राज्यको अझ घनिष्ठ भएर गइरहेका छन्।

गोरामुमो, जुन छैटौं अनुसूचीको मुद्दा पक्रेर अघि बढ्ने ताकमा छ। त्यो छैटौं अनुसूचीप्रति पनि पहाडका जनताको पूर्ण समर्थन छैन। छैटौं अनुसूची नै गोर्खाल्यान्डसम्म पुग्ने एक मात्र सिढी हो भन्छ, तर त्यसका सम्भावनामाथि भने गोरामुमो पुरै मौन छ। किन गोरामुमोले त्यसको पूर्ण व्याख्या गर्न सकिरहेको छैन?  अहिलेको मूल प्रश्न यही हो।

जमिनीस्तर मै यसको महत्वलाई प्रकाशमा ल्याउने कोशिश गरिएता पनि यो समय जनताको दिल अनि दिमागमा केवल छुट्टै राज्यले घर बनाएर बसेको छ यस्तोमा गोर्खाल्यान्डको जुनुनलाई केही पर सारेर छैटौं अनुसूचीको लागि समर्थन जुटाउन सम्भव होला?

कुनै आधार नै नभएको द्विपक्षीय वार्ताका लागि जुन जोड दिइँदैछ, त्यो खालि समयलाई उपयोगितामा ल्याउने बहाना मात्र हो। किन कि द्विपक्षीय वार्ताको कुनै नतिजा नै निस्कँदैन। यो सबैलाई विदित नै भएको कुरा हो।

पहाडको राजनीतिमा एउटा कुरा स्पष्ट छ कि जबसम्म जनता जनार्दन तात्तिँदैन नेताहरू घोडा बेचेर मस्त निदाउँछ्न्। (चाहे त्यो कुनै पनि पार्टीका नेता किन नहोस्)। र पार्टी अर्को अवसरको प्रतिक्षामा छ भने त्यो अर्को कुरा हो। नत्र यस्तो कछुवा चालको हिँडाईले कुन चैँ लडाईँ फत्ते गर्न खोजेका हुन त्यो उनीहरूले नै जानुन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया