गोरामुमोसित भयभित बन्यो मोर्चा : सोध्यो-‘मन घिसिङ कलकत्ता किन गए?’

दार्जीलिङ, 26 जुन।


गोर्खा जनमुक्ति मोर्चालाई गोरामुमो अध्यक्ष मन घिसिङ कलकत्ता गएकोमा चिन्ता लागेको छ। ‘घिसिङ 22 जूनको दिन खरसाङमा गोरामुमोलाई पूर्णरूपले भङ्ग गरेपछि किन कलकत्ता गए, त्यो मन घिसिङले जनताअघि खुलस्त पार्नुपर्छ,’  गोजमुमो केन्द्रिय समिति प्रवक्ता सुरज शर्मा र केन्द्रिय समिति सदस्य केशवराज पोखरेलले भने, ‘गोरामुमोले पहाडका जनतालाई भावनात्मक राजनीति गरेर झुक्याइरहेको छ।’

22 जूनको दिन गोरामुमो अध्यक्ष मन घिसिङले हिल एरिया डेवलपमेन्ट कमिटीको अध्यक्ष पदबाट राजीनामा दिए। यसैबीच गोरामुमो केन्द्रिय समितिदेखि सबै भ्रातृ सङ्गठनहरूलाई पनि विघटन गरे।

‘यी सबै गर्न अघि मन घिसिङ व्यक्तिगतरूपले कलकत्ता गएका छन्, यो के-को लागि हो?,’ सुरज शर्माले भने, ‘कलकत्ता गएर के खिचडी पकाए, त्यसको खुलासा गर्नुपर्छ। यसबाट गोरामुमोको दोहोरो नीति स्पष्ट हुन्छ।’

मोर्चाले राज्य सरकार वा ममता व्यानर्जीको इशारामा नै मन घिसिङले रणनीति परिवर्तन गरेको हुनसक्छभन्ने कुरामा सन्देह गरेको छ।

यसैबीच शर्माले पीसी अग्रवालको कुरा पनि झिके। ‘उनले गोजमुमो अध्यक्ष विनय तामाङ र महासचिव अनित थापालाई लालकोठीबाट खेद्ने कुरा गरेका छन्। गोरामुमो खेद्ने, भत्काउने, जलाउने संस्कारबाटै हुर्किएको पार्टी हो र यस पार्टीले अझैसम्म पनि यस्तै कुरा गरिरहेको छ,’ उनले भने, ‘तर गोजमुमोले त्यस राजनैतिक कुसंस्कार हटाएर स्वच्छ अनि स्वस्थ राजनैतिक संस्कार स्थापना गर्न चाहन्छ। यसैले अब खेद्ने, भत्काउने, जलाउने जस्ता राजनीतिलाई पहाडबाट हटाउनुपर्छ।’

यता मन घिसिङ कलकत्ता जानु, डेभलोपमेन्ट कमिटी र मन्त्री पदबाट राजिनामा दिनु अनि केन्द्रिय कमिटीसमेत विघटन गर्नुले मोर्चाका नेताहरूको सातो गएको छ।

यी सबै परिवर्तनबीच विनय तामाङ र अनित थापालाई लालकोठीबाटै खेद्ने कुरा अघि आएपछि मोर्चाका नेताहरूको रातको निंद नै हराएको छ।

यसैको छनक दिँदै सुरज शर्माले गोरामुमोले अहिले पनि पहाडका जनतालाई दिग्भ्रमित पार्ने कार्य गरिरहेको आरोप लगाए।

गोजमुमो केन्द्रिय समिति नेता केशवराज पोखरेलले गोरामुमोलाई ‘फ्रस्टेटेड मानिसहरूको हुल’ समेत भन्न भ्याए। यता गोर्खा जनमुक्ति युवा मोर्चा प्रवक्ता अरूण छेत्री र मूलसचिव तिलक छेत्रीले पनि गोरामुमोमाथि खनिए। ‘गोरामुमो 1986-मानै विफल भएको पार्टी हो,’ उनीहरूले आफ्नो फ्रस्टेशन निकाले।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया