स्टेट युनिभर्सिटी बनाउन फिडर्स कलेजहरू सञ्चालन हुन अनिवार्य

दार्जीलिङ, 27 जुन


दार्जीलिङ पहाड़का विद्यार्थीहरूको निम्ति स्थापना हुन गइरहेको स्टेट युनिभर्सिटीको पक्षमा पनि दार्जीलिङ पहाड़का विद्यार्थीहरूले यसपल्ट शहरीक्षेत्रका महाविद्यालयहरूमा भर्ना लिने होड़बाजी गर्नुको साटो आ-आफ्नो क्षेत्रमा भएको महाविद्यालयहरूमा नै भर्ना लिइदिने अनुरोध गोर्खा जनमुक्ति विद्यार्थी मोर्चाले गरेको छ।

गोर्खा जनमुक्ति विद्यार्थी मोर्चा केन्द्रिय समिति सह-सचिव विश्वास छेत्रीले आज एक प्रेस विज्ञप्ति जारी गरी विद्यार्थीहरूलाई आह्वान गर्दै भनेका छन्- स्टेट युनिभर्सिटीको स्थापनाको निम्ति पनि दार्जीलिङ पहाड़मा धेरैवटा फिडर्स कलेजहरू सञ्चालन हुन अति आवश्यक रहेको छ।

यसर्थ जीटीएले हालमा सुके, बिजनबारीलगायत अन्य कतिपय क्षेत्रहरूमा व्यवस्थित ढंगले नै महाविद्यालयहरू सञ्चालन गरिरहेको छ। विद्यार्थीहरूकै हित सोचेर यसवर्ष नयाँ कतिपय महाविद्यालयहरूमा विभिन्न अनर्स कोर्सहरू पनि शुरू गरिएको छ। स्टेट युनिभर्सिटी निर्माणको मापदण्ड पूर्ण गर्नुको निम्ति पनि ती महाविद्यालयहरूलाई पनि सुचारूरूपमा सञ्चालन गरिनु अति नै आवश्यक पनि रहेको छ।

यसर्थ विद्यार्थीहरूलाई शहरीक्षेत्रका महाविद्यालयहरूमामात्रै भर्ना नलिएर आफ्नै क्षेत्रका महाविद्यालयहरूमा पनि भर्ना लिइदिने गोजविमो अनुरोध गर्दछ।

आ-आफ्नो क्षेत्रमै रहेको महाविद्यालयहरूको संरक्षणको निम्ति पनि विद्यार्थीहरूले उक्त महाविद्यालयहरूमा भर्ना लिनु आवश्यक रहेको पनि छेत्रीले बताएका छन्। क्षेत्रीय विद्यार्थीहरूको समस्यालाई ध्यानमा राखेर निर्माण गरिएको ती महाविद्यालयहरूमा क्षेत्रीय विद्यार्थीहरू नै भर्ना नलिए अन्य़ क्षेत्रहरूबाट भर्नाको निम्ति त्यहाँ जाने कोही हुन्न, फलस्वरूप भविष्यमा ती महाविद्यायहरू फेरि बन्द हुने स्थितिमा पुग्दछ।

यसर्थ क्षेत्रीय विद्यार्थी तथा अभिभावकहरूले आफ्नो क्षेत्रमा बनिएको महाविद्यालयहरूलाई सम्पतिको रूपमा सुरक्षा गर्नुको निम्ति पनि त्यही भर्ना लिएर उक्त महाविद्यालयहरूबाटै उत्कृष्ट परिणाम ल्याउने सपना देख्नसक्नुपर्छ। यसो गरे भर्नाको समस्याको समाधानसितै प्रत्येकक्षेत्रका कलेजहरू पनि राम्रोसंगले सञ्चालनमा आउनसक्छ, छेत्रीले विज्ञप्तिमा लेखेका छन्।

क्षेत्रीय महाविद्यालयहरूमा भर्ना लिएका विद्यार्थीहरूलाई कुनै पनि विषयमा समस्या भएको खण्डमा गोजविमो हरेक प्रकारले सहयोग गर्न तत्पर रहेको पनि छेत्रीको भनाइ छ। प्रत्येक विद्यार्थीहरूको समस्या समाधान गर्नु नै गोजविमोको उद्धेश्य अनि लक्ष्य पनि हो। यसर्थ क्षेत्रीय महाविद्यालयलाई सहीरूपमा व्यवस्थापन गर्नुदेखि लिएर हरेक प्रकारको समस्याहरूको समाधानको निम्ति हामी विद्यार्थीहरूसित रहेका छौं, उनले विज्ञप्तिमा यसरी लेखेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया