नेपाली भाषीले भुल्दै गइरहेका भारतका राष्ट्रीय कवि-गोपालसिंह नेपाली

 

भारतमा गोर्खाहरूको उपस्थिति र योगदानबारे पटकपटक चर्चा चलिरहन्छ| तर धेरैजना यस्ता गोर्खा हस्तीहरू छन् जसलाई सारा भारतीय गोर्खाहरूले नै चिनेका छैनन् वा कम चिनेका छन् वा चिन्न चाहेका छैनन्| यस्तै एकजनाको नाम हो गोपाल सिंह नेपाली|

गोपाल सिंह नेपाली भनेपछि धेरैजनालाई यो नाम कताकता सुनेजस्तो लाग्छ| कतिजना अँ अँ हिन्दीका कवि भन्छन्| कतिपय व्यक्तिहरू उनका बारे केही सूचना रहेको दाबी गर्छन्| कतिजना उनलाई नजिकैबाट चिनेको गफ पनि हॉंक्छन्| तर सबैभन्दा दुक्खको कुरो चाहिँ के हो भने आजको पुस्तालाई गोपाल सिंह नेपालीबारे ठ्याम्मै थाहा छैन| आजको दिनमा स्कुलका उच्च श्रेणी अथवा एघार-बाह्र वा कलेजका फर्स्ट, सेकेन्ड वा थर्ड इयर वा भनौँ  विश्‍वविद्यालयमा स्नातकोत्तर गरिरहेका वा सिध्याएर नेट, स्लेट, जेआरएफ-को तयारी गरिरहेका मूलतः नेपाली भाषा-साहित्यका विद्यार्थी वा शोधार्थीहरूलाई खुबै कम थाहा छ गोपाल सिंह नेपालीबारे| भन्नु नै हो भने थाहा पनि छैन|

यी शिक्षार्थीहरू आफ्नै जातिका एक उज्ज्वल नक्षत्रबारे यसरी अनभिज्ञ रहनुमा यदि कोही दोषी छन् भने उनीहरू छन् जसले बताउनुपर्थ्यो र बताएनन्| हामीमा आफ्नो शक्ति, आफ्नो प्रतिभा, आफ्नो योगदान, आफ्नो देशप्रति आफ्नाहरूले पुर्‍याएको अवदान, हाम्राहरूले भारतको स्वाधीनता, यो देशका कला, खेलकुद, सुरक्षा, संस्कृति आदिप्रति निर्वाह गरेको भूमिकाबारे चर्चा गर्ने संस्कार छैन| देशको राष्ट्रिय गीतको सङ्गीत रचना हामीले गर्‍यौँ हामीलाई थाहा छैन| सारा देशको अनेकतालाई गॉंस्ने एकताको मालारुपी देशभक्ति गीत मिले सुर मेरा तुम्हारा … को सङ्गीत हामीले रच्यौँ – आफै अनभिज्ञ रह्यौँ| हामीले खेलकुदमा देशको नाम राख्यौँ आफै अबुझ रह्यौँ| हामीले प्राणाहुति दिएर देशलाई अङ्ग्रेजहरूको पन्जाबाट उम्कायौँ – पाठ्यपुस्तकमा हामी पसेनौँ| र्‍यापिड रिडिङमा हाम्रा केही फटाकफुटुक प्रतिभा र योगदानकर्ताहरूको परिचय सानासाना छँदा पढ़ाउने चलन पनि अब हराएर गयो|

सबै अङ्ग्रेजी माध्यमका स्कुल पढ्ने भयौँ तर ती अङ्ग्रेजी स्कुलहरूले अङ्ग्रेजी भाषामै हाम्रा पूर्वजहरूको परिचय दिने किताब चलाउने धृष्टता गरेनन्| नेपाली भाषामा एकाध प्रयास भए तापनि त्यसलाई तर केवल स्कुली चारदेवालभित्रै हामीले सीमित राख्यौँ| बाजेबोजूले अँगेनाको डिलमा राखेर हामीलाई दलबहादुर गिरीको कथा भनेनन्| बोक्सी-झॉंक्रीको कथा सुनेर हामी हुर्कियौँ| सुँड़ेनीको कथाको साटो हामीले हेलेन लेप्चालाई पाएनौँ| बिक्रम बेतालको ठाउँमा हामीले छविलाल उपाध्यायको नाम सुनेनौँ| भगत सिँह पढ्दापढ्दै हामीले शहीद दुर्गा मल्ल र दलबहादुर थापा पनि सिक्न पाएको भए हुनेथ्यो| चाचा चौधरीको कमिक्स पढ्यौँ तर मित्रसेनको गाथा पढ्न पाएनौँ| हरिभक्त कटुवालको जीवनी थाहा छैन तर हरिवंश राय बच्चन पढ़ेर हुर्कियौँ| मुंशी प्रेमचन्द रट्नुपर्‍यो तर गुरुप्रसाद मैनाली परालको आगो -मै सकिए| गुन्द्रीबजारको इतिहास थाहा छैन हामीलाई तर बर्लिनको पर्खाल किन ठड़ियो मुखस्त छ| चियाकमान र सिन्कोना बगान दुख्दैन हामीलाई तर भोपाल ग्यासकाण्डले बिझाउँछ|

हामी धेरै चुक्यौँ आफुलाई जगेरा गर्नमा| हामी धेरैपल्ट चित खायौँ आफ्नोपन नबुझेर, आफैलाई नचिनेर| अरूले आफ्नो जातिका वीरपुरुषहरूलाई स्मरण गर्छन्, उनीहरूको गाथा सँगालेर राख्छन् तर हामी आफैलाई चिन्दैनौँ, जान्दैनौँ| हामी गर्व गर्छौँ आफ्नोबारे नजान्नुमा, आफुलाई नबुझ्नुमा| आफ्नो भाषा बोल्न नसक्नुमा हामी छाती फुलाउँछौँ| मेरो नानी त नेपालीमा सधैँ फेल मात्रै हुन्छ भन्नुमा हामी जत्ति गर्व गर्छौँ त्यसको एकांश पनि अङ्ग्रेजीमा चाहिँ काम गरिरहेका हुँदैनौँ|

यो गनगनलाई एकछिन् बिसाएर आज हामी चर्चा गर्छौँ गोपाल सिंह नेपालीको विषयमा|

सन् १९११| भारत स्वाधीन हुनलाई अझै ३६ साल बॉंकी| भारतको राजधानी सरेर कलकत्ताबाट दिल्ली पुग्दैछ| अङ्ग्रेज शासनविरुद्ध आक्रोश बढ़ेर गइरहेछ| राष्ट्रिय काङ्ग्रेस ब्रिटिसलाई लखेटेर भारत देश निर्माण गर्ने सपना देख्न लागेको छ| फिरङ्गी ताकतविरुद्ध यो भूभागमा रहिरहेका विभिन्न जातिगोष्ठी र प्रान्तहरू एकजुट भई आन्दोलन छेँड़िरहेका छन्| यस्तो बेला बिहार भूभागको चम्पारणअन्तर्गत बेतिया गाउँमा ११ अगस्तका दिन जन्म लिन्छन् एक होनहार बालकले माता यमुनादेवी अनि पिता रेलबहादुर सिंह नेपालीको कोखमा| भारतीय फौजमा भर्ती भएका पिताका सुपुत्रका रुपमा जन्मेर कालान्तरमा नेपाली, हिन्दी र उर्दू भाषाका धुरन्धर कवि बन्न पुग्ने यस बालकको नाम राखिन्छ – गोपाल सिंह नेपाली|

यिनै व्यक्ति भारतको स्वाधीनता सङ्ग्रामकालमा मातृभूमिप्रेमका कविताहरू हिन्दी, नेपाली र उर्दू भाषामा सुनाउँदै सैनिक छाउनीतिर पुग्छन्| जसरी फ्रांसलाई स्वाधीन बनाउनका लागि त्यहॉंका लेखक कविहरूले योगदान गरे उसरी नै यो भूमिलाई विदेशीहरूको पन्जाबाट छुटाउन गोपाल सिंह नेपालीले गीत-कविता रचेर गाइनेले जस्तै गाइहिॐड़े| भारतभूमिमा जग्गाजमिन खरिद गरेर स्थायी रुपमा रहिरहेको यस परिवारका सुपुत्र गोपालसिंह नेपालीबारे महान् साहित्यकार तथा अध्येता डा. राहुल सांकृत्यायनले के भनेका छन् भने – कवि गोपालका कविता रचनाका अघि धेरैजना दिग्गज कवि-साहित्यकाहरूका रचना पनि खल्लो लाग्छ| कवि नेपालीका रचनाहरू वीररसले ओतप्रोत हुन्थे भने मातृभूमिप्रतिको भावना जसलाई हामी आज राष्ट्रभावना भन्नसक्छौँ त्यो उनका रचनामा जहीतहीँ पाइन्थ्यो| माइकल मधुसुदन दत्तसित कवि नेपालीको तुलना गर्ने व्यक्ति अरू कोही थिएनन् तर थिए विश्‍वकवि रवीन्द्रनाथ ठाकुर|

छोटो जीवनी ः

कवि नेपालीका एक भाइको नाम हो – बमबहादुर सिंह नेपाली मगन अनि बहिनी हुन् श्रीमती ललिता थापा| कवि नेपालीले बेतियामा मेट्रिकुलेसनको परीक्षा सन् १९२६-मा प्रथम दर्जामा उत्तीर्ण गरेका थिए| उनका भाइले पछि आगरा विश्‍वविद्यालयबाट इतिहासमा एमए गरेपछि बेतिया कलेजमा अध्यापन पनि गरे| देहरादुनकी बीणा रानीसँग गोपालसिंहको बिहे भएपछि चार छोरा र दुइ छोरी जन्मेका हुन्| आफ्नो जीवनको अन्तिम क्षणमा गोपालसिंह नेपाली मुम्बईको मलाढस्थित पारिवारिक घरमा थिए जहॉं उनले १७ अप्रेल, १९६३ -का दिन प्राणत्याग गरे|

साहित्यिक यात्रा 

सातौँ कक्षाका विद्यार्थी छँदा नै गोपालसिंहले उर्दूमा कविता रचना थालेका हुन्| तर आफ्ना गुरुवर मङ्गल प्रसाद पाण्डे र कविवर महावीरसिंह वीरन-को आग्रहमा उनले भारतेन्दु हरिश्‍चन्द्रको सत्सङ्गमा रहेर हिन्दीमा कविता लेख्न थालेका थिए| यद्यपि उनको पहिलो रचना बालक नामक पत्रिकामा पं. रामवृक्ष बेनिपुरीको सम्पादनमा प्रकाशित भएको थियो|

कल्पना नामक कविता सङ्ग्रह गोपालसिंह नेपालीका बाइसवटा गद्य कविताहरूको सँगालो हो जो १९३०-मा छापिएको थियो| नेपाली भाषा प्रकाशिनी समिति, काठमाण्डौँबाट यसको अर्को संस्करण बालकृष्ण समको सचिवत्वमा सन् १९४९ -तिर छापिएको थियो| उनको दोस्रो कृति थियो १९३१-मा प्रकाशित रानी खण्डकाव्य जसको भूमिका लेखिदिएका थिए महाकवि लक्ष्मीप्रसाद देवकोटाले|

नेपाली कृतिहरूसँगसँगै कवि नेपालीले हिन्दी भाषामा फुटकर रचनाहरूसहित पुस्तकाकार कृतिहरू पनि प्रकाशमा ल्याए| पंछी नामक खण्डकाव्य सन् १९३३ -मा पटनाबाट प्रकाशित भएको थियो| कवि नेपालीको हिन्दी भाषामा भएको दखल र निपुणता प्रमाणित गर्ने धेरै कस्सीहरू छन्| उनका पुस्तकाकार कृतिको भूमिका लेख्ने दिग्गज साहित्यकारहरूको नामैले मात्र पनि उनको कवित्व प्रतिभा जोख्नसकिन्छ| पंछी -को भूमिका हिन्दी भाषाका महापण्डित् सूर्यकान्त त्रिपाठी निरालाले लेखिदिएका थिए भने उमंग -को भूमिका पं. सुमित्रानन्दा पन्तले| रागिनी नामक कविता सङ्ग्रह उनले हिन्दीमा प्रकाशित गरेको अर्को कृति हो|

यसमा मूलतः गीति-कविताहरू समाविष्ट छन्| त्यसपछि उनका हिन्दी कविता-कृतिहरू हुन् स्वर्ण युग, उमंग, नवीन, पंचमी,  हिमालय ने पुकारा र नीलिमा| यसरी नै उनका कथाहरू साप्ताहिक हिन्दुस्तान, धर्मयुग, युवक, आज, सरस्वती, पञ्जाब केशरी, योगी, चित्रपट, पुण्यभूमि, नवभारत टाइम्स, सुधा, माधुरी, विशाल भारत, वेंकटेश्‍वर समाचार, कर्मवीर आदि पत्रिकातिर लगातार छाप्पिन्थे| उनका कथा सङ्ग्रहहरू हुन् – छप्पन छुरी, मन की उल्झन, चिट्ठी| गोपालसिंह नेपालीका नेपाली कथाहरू बनारसबाट छापामा आउने उदय, दीपक, युगवाणी, गान्तोकबाट प्रकाशित प्रगति -लगायत काठमाण्डौँका गोरखापत्र, धरती, मातृभूमि -मा प्रकाशित हुन्थे|

कवि नेपालीले नेपालीमा धारा लेखे भने रानी नामक खण्डकाव्य पनि प्रकाशित गरेका थिए| यसरी नै उनले हिन्दीमा पीपल का पेड़ नामक उपन्यास लेखेका छन् अनि हमारी राष्ट्रभाषा उनको निबन्ध सङ्ग्रहको नाम हो|

गोपालसिंह नेपालीलाई मूलतः हिन्दी कविकै रुपमा चिनिन्छ| उनका कवितामा क्रान्तिकारी भावना, देशप्रेम, राष्ट्रभक्ति पाइन्छन्| उनका कविताहरू अध्ययन गरेर नेपालीलाई छायावादी कविका  रुपमा हिन्दीका समालोचकहरूले मान्यता दिएका छन्| अङ्ग्रेज हुकुमतविरुद्ध भएको साहित्यिक क्रान्तिमा कवि नेपालीका रचनाहरूको उल्लेखनीय गणना हुँदछ| महात्मा गान्धीले सुरू गरेको स्वाधीनताका आँधीमाथि उनले रचे –

गॉंधी की आँधी चलती

चाल बड़ी तूफानी है|

आज कही जाती घर-

घर में यही कहानी है|

 

देशको स्वाधीनतापछि उनले आफ्नो कवितामा भने –

धरती के लालों से कह दो,

अब यहॉं विदेशी राज नहीं|

है ताज हिमालय के सर पर,         अब और किसी का ताज नहीं|

 

गोपालसिंह नेपाली भावनामा डुबेर, संसारलाई भुलेर, संवेदनशील बनी कविता सिर्जना गर्ने कवि मात्रै थिएनन् तर थिए सॉंचो भारतभूमिप्रेमी| यसैले उनले स्वाधीनतापछि पनि देशका सैनिकहरूको मनोबल बढ़ाउनका लागि राष्ट्रप्रेम र देशभक्तिका कविता-गीतहरू रचिरहे| देश स्वाधीन भइसकेपछि पनि दुर्गम स्थानमा रहेको सैनिक छाउनीतिर रिङ्दै-घुम्दै पुगेर उनी जवानहरूको हौसला बढ़ाउन कविता सुनाउँथे| आजको दिनमा जसरी हिन्दी फिल्मका हिरो-हिरोइनहरू लद्दाख, कारगिलतिर पुगेर सैनिकहरूसित हातेमालो गर्दै नाचगान गर्छन् उसरी नै कवि नेपाली सेनाका जवानहरूलाई भेट्न त्यतिखेरको दुर्गम भेक नर्थ-इस्ट फ्रन्टियर एजेंसी (नेफा) -तिर डुल्थे| अरुणाचल प्रदेश पुग्न भनेपछि आजको सड़क, गाड़ी, हवाइजहाज, मोबाइल, इन्टरनेट, ल्यापटप, आईपोड -को युगमा पनि आम मान्छेको खुट्टा कॉंप्छ भने सन् १९५९-६०-तिर उनी कुन आँट र हिम्मत लिएर त्यहॉं पुगेका थिए यो एउटा सोचनीय विषय छ| व्यावहारिक रुपमा देशभक्तिको परिचय यिनले यसरी दिएका छन्|  आज हामी राष्ट्रिय गान गाउनलाई ५३ सेकेन्ड खर्चन मान्दैनौँ तर उनी त्यतिखेर चीनी आक्रमण हुनुभन्दाअघि जवानहरूको आत्मबल बढ़ाउन अरुणाचल पुगेर कविता सुनाउँथे ः

तिब्बत का लहू चूस के इस ओर चले है

धर आदमी का भेष, आदमखोर चले हैं

इंसान कहाते हैं मगर खून बहाते है

तुम इसका गरम खून बहा करके नहालो

इन चीनी लुटेरों को हिमालय से निकालो|

 

गोपालसिंह नेपालीका समकालीन साहित्यिक मित्रहरूमा प्रमुख थिए – जयशङ्कर प्रसाद, सुमित्रा नन्दन पन्त, सूर्यकान्त त्रिपाठी निराला, हरिवंश राय बच्चन, श्याम नारायन पाण्डे, सोहन लाल द्विवेदी, मैथिलीशरण गुप्त, चतुरसेन शास्त्री, भगवतीचरण वर्मा, अयोध्यासिंह उपाध्याय हरिऔध, ऋषभचरण जैन, गांगेय नरोत्तम शास्त्री द्विज, राबिन शा पुष्प आदि|

कवि नेपालीको घनिष्ट मित्रता थियो तत्कालीन श्रेष्ठ कवि-समालोचक-कथाकार मुङ्गेर निवासी राबिन शा पुष्पसित| कवि नेपाली आफ्ना कविताहरूको माध्यमद्वारा हिन्दीभाषी पाठक र श्रोताहरूमाझ अति सम्माननीय र लोकप्रिय थिए भन्ने तथ्य उनलाई रेलयात्रा गरिरहेको समय मानिसहरूले तानातान गर्दै लगेर तत्कालै कविगोष्ठीहरूको आयोजना गर्नेगरेका घटनाहरूबाट प्रष्ट हुन्छ|

कवि नेपालीका रचनाहरू राष्ट्रभाषा हिन्दीका बीए, साहित्यरत्न अनि एमए-का विद्यार्थीहरूले पढ़्नुपर्दछ अनि उनीमाथि हिन्दी साहित्यका विद्यार्थीहरूले धेरै खोज र अनुसन्धान गरेका छन्|

कवि नेपालीको साहित्यिक प्रतिभाको एउटा चर्चा यहॉं चलाऔँ – १९३२ -मा काशीमा नागरी प्रचारिणी सभाले पं. महावीरप्रसाद द्विवेदी उत्सव पालन गर्दा त्यहॉं धेरै राजा-महाराजाहरू उपस्थित थिए| महाराजाहरूसित सबै कविहरूको कविता सुन्ने समय नहुँदा मनपर्ने कविहरूको मात्र चयन भएको थियो जसमा मैथिलीशरण गुप्त, गाङ्गेय नरोत्तम शास्त्री द्विज, सूर्यकान्त त्रिपाठी निराला, हरिवंश राय बच्चन, जयशङ्कर प्रसाद, सुमित्रानन्द पन्त, जयकिसोर बाबु र गोपालसिंह नेपाली छानिएका थिए| त्यहॉं पाठ गरिएका कविताबारे भोलिपल्ट काशीबाट प्रकाशित आज नामक हिन्दी समाचारपत्रले समीक्षामा लेखेको थियो – त्यहॉं धेरै कविता पढ़िए, प्रतिष्ठित कविहरू चुनिएका थिए परन्तु सर्वश्रेष्ठ मान्न सकिने कविता गोपालसिंह नेपालीको थियो|

यसरी नै एकपल्ट काशी हिन्दु विश्‍वविद्यालयका संस्थापक पं. मदन मोहन मालवियाको उपस्थितिमा कवि हरिवंश राय बच्चनले नेपालीका कविताहरू राति १२ बजीपछि सुनेर सरल भाषामा कविता लेखेर मन जित्न सकेकोमा उनलाई बधाई र शुभेच्छा दिएका थिए| उनको कविताको यसरी प्रशंसा गर्नेहरूमा प्रख्यात कथाकार र आलोचक पं. प्रफुल्ल चन्द्र ओझा पनि थिए|

कवि नेपालीले वाराणसीमा रहँदा उदय नेपाली पत्रिकाका सह-सम्पादकको भार पनि ग्रहण गरेका थिए| त्यतिखेर उनले रचेका नेपाली गजलहरूमा एउटाको अंश –

म सम्झन्छु, तिमीले सम्झे झन् मेरो मन कस्तो होला|

तिम्रो मनमा बस्न पाए, हाम्रो जीवन कस्तो होला?

म एकलै छु तिमी एकलै छ्यौ म बेग्लै छु तिमी बेग्लै छ्यौ|

तिम्रो मेरो मन मिल्यो भने मनको बन्धन कस्तो होला?

 

कवि नेपालीले उर्दूमा पनि आफ्ना रचनाहरू छाड़ेका छन् –

एक नमुना –

गुल खिलाया फिजा ने कली खिल गई,

फूल क्या खिल गये, जिन्दगी खिल गई|

तुम न पलके सुबह तक झुकाया करो

खुद न आया करो तो बुलाया करो|

कवि प्रतिभाको बिछट्ट नमुना गोपालसिंह नेपालीमा तब झन् चम्केको पाइन्छ जब हामी सुन्छौँ उनी अङ्ग्रेजीमा पनि कविता रच्थे भन्ने कुरो|

 

Fighting against liars and lies

Oh! What a world,             here money flies                                 and man dies

Between two persons,

Silver Coins are only the ties.

A well-dressed man with well pressed lies

Is accepted as wise.

 

अङ्ग्रेजी भाषामा कवि नेपालीको खुब पकड़ रहेको थियो| १९४३ -मा आफ्नो जन्मदिनमा कविगुरु रवीन्द्रनाथ ठाकुरले भारतका धुरन्धर कविहरूलाई शान्ति निकेतनमा निम्त्याएका थिए| त्यतिखेर उर्वशी नामक कविगुरुको बङ्गला कवितालाई तत्कालै अङ्ग्रेजीमा अनुवाद गरी पाठ गरेर गोपालसिंह नेपालीले सबैलाई मन्त्रमुग्ध बनाई चकित तुल्याइदिएका थिए| उनको यस अतुलनीय प्रतिभा देखेर बृद्धावस्थामा पुगेका रवीन्द्रनाथ ठाकुरले आफ्नो मन्तव्य व्यक्त गर्दै गोपालसिंह नेपालीको तुलना बङ्गला भाषाका प्रख्यात कवि माइकल मधुसुदन दत्तसित गरेका थिए|

कवि नेपालीका राष्ट्रभक्तिपूर्ण रचनाहरू र उनको काव्यकलाको कारण राष्ट्रिय कवि भनेर तत्कालीन राष्ट्रपति डा. राजेन्द्र प्रसादले स्वर्णपदक प्रदान गर्दै उनलाई बिहारको राजधानी पटनामा सम्मानित गरेको तथ्य सुन्दा आज हामीलाई लाग्छ यस्ता होनहार नेपाली कविको किन हामी चर्चा गर्दैनौँ? देशप्रेम र राष्ट्भक्तिको सन्देश भारतवासीहरूमा छर्ने यस्ता नेपालीभाषी कविलाई बिर्सिने यो नेपाली समाज कति कृतघ्न? यसै औसरमा कवि नेपालीलाई बिहारको बुलबुल र हिन्दुस्तानका वड्र्स्वर्थ भनेर आधिकारिक उपाधि पनि प्रदान गरिएको थियो| त्यस दिन उनले हिन्दी, उर्दू र अङ्ग्रेजीमा मात्रै होइन तर मातृभाषा नेपालीमा पनि स्वरचित कविता पाठ गरेका थिए|

कवि नेपालीको घनिष्टता भारतका तत्कालीन राष्ट्रपति डा. राजेन्द्र प्रसादसित थियो| डा. प्रसादले नै उनलाई बेतियाराज नामक प्रेसमा प्रबन्धकका रुपमा मनोनीत गरेका थिए|

बलिउडमा गोपालसिंह नेपाली 

कवि नेपालीले जब हिन्दी साहित्य संसारमा आफ्नो सुनाम फैलाउन थाले उनलाई हिन्दी चलचित्र जगत्मा पनि गीत लेख्ने सुझाउ र औसरहरू आउन थाल्यो| सन् १९४४ -मा उनले यो काम पनि सुरू गरे| आठ दिन, सफर, बेगम, लीला नामक फिल्ममा उनले गीतहरू लेखेर हिन्दी चलचित्रका सफल गीतकारहरूको सूचीमा आफ्नो नाम दर्ता गराए| मजदुर फिल्मको गीतका लागि उनलाई बङ्गाल फिल्म जर्नलिस्ट  एसोसिएसनले श्रेष्ठ गीतकार ठहर गर्दै स्वर्ण कमल पदक प्रदान गरेको थियो| जम्मा ४८ -वटा सिनेमामा उनले गीत लेखेका थिए| ती फिल्महरूमा अनुसूया, राजकन्या, नई राहें, तिलोत्तमा, गौरीपूजा, नाग पञ्चमी, तुलसीदास, कजेर, शिकार, जय भवानी, सती आदि मुख्य हुन्|

गोपालसिंह नेपालीले गीत रचना गर्ने समयको बलिउडमा धार्मिक वा पौराणिक फिल्महरूको निर्माण अधिक हुन्थ्यो| यसैले उनले भक्तिरसले भरिपूर्ण भजनकारका रुपमा पनि ख्याति आर्जन गरेका थिए| भर्खरै चर्चामा आएको फिल्म स्लमडग मिलेनियनेर -मा कवि नेपालीले रचेको भजनगीतलाई सही तरिकाले नदर्साइएको विषयमा उनका सुपुत्र र सो फिल्मका निर्माता डेनी बोएलमाझ कानुनी युद्ध चलेको घटना सारा संसारलाई थाहा छ| स्लमडगमा क्विजमास्टर अनील कपुरले दर्शन दो घनश्याम भजनका गायकको नाम सोद्धा हिरो जमालले सुरदासको नाम लिएर वाहवाही थापेको दृश्य सबैलाई थाहा छ| तर सो भजनका रचयिता सुरदास होइनन् गोपालसिंह नेपाली थिए| उनले रचेको यो गीत फिल्म नरसिंह भगत -को थियो|

कवि नेपालीले यसरी बलिउडमा पनि ख्याति आर्जन गर्नथालेपछि उनलाई नेपाली फिल्म निर्माण गर्ने शोक चलेको तथ्य पाइन्छ| उनले यस दिशामा काठमाण्डौँमा इन्दु शमसेर जङ्गबहादुर राणासित मिलेर मुम्बईमा नेपाली फिल्मको स्थापना गरेको थाहा लाग्दछ|

आजसम्म प्रथम नेपाली चलचित्रको नाममा नेपाली सिनेप्रेमीहरूले राजा हरिश्‍चन्द्रलाई मानिलिएका छौँ| तर एउटा खोजीको विषय के भएको छ भने नेपाली सिनेमाको इतिहास कोट्याउँदा कवि नेपालीले मुम्बईमा स्थापना गरेको कम्पनी र त्यसको ब्यानरमा निर्माण हुनथालेको सनसनी नामक सिनेमाको चर्चा भएको थाहा लाग्दैन| त्यतिखेरका प्रख्यात सिने कलाकारहरू भरत भूषण, देवानन्द अनि नायिकाहरू कृष्णकुमारी, निलोफर, मनमोहनी आदिले अभिनय गरेको सो फिल्मको सुटिङ पनि भएको थियो| नेपाली फिल्मको इतिहासमा रुची राख्ने सिनेप्रेमीहरूका लागि यो एउटा नयॉं अनि खोजको विषय हो|

कवि नेपालीले यसरी हिन्दी मात्रै होइन उर्दू अनि मातृभाषा नेपालीमा पनि पुर्‍याएको योगदानबाट भारतीय साहित्यका अध्येयताहरू अवगत भए तापनि आफ्नै जातिभित्र भने उनी अल्पपरिचित वा अपरिचित नै छन्| जब हामी सुन्छौँ केही वर्षअघि मात्र उनको जन्म शतवार्षिकी बिहारको राजधानी पटनामा धुमधुमका साथ पालन भएको तथ्य तब त हामी अझै छक्कै पर्छौँ यसबारे|

हामीले आफ्ना जातीय गौरव कवि नेपालीलाई भुल्नु त हुँदैन नै तर यति मात्रै होइन उनले राष्ट्रिय भाषामा पुर्‍याएको योगादनको उल्लेख गरेर अनेपालीभाषीहरूसित हामी साहित्यिक सम्पर्क गॉंस्न सक्षम बन्नसक्छौँ जसको सोझो फाइदा हामीलाई अवश्यै पुग्नेछ| हेरूँ अब यस दिशामा हामी साहित्यिकहरूले कत्ति काम गर्दा रहेछौँ|

(यो रचना तयार गर्नका लागि साहित्य अकादमीद्वारा प्रकाशित गोपालसिंह नेपालीमाथिको पुस्तकको भरपुर सहयोग लिइएको छ| त्यसका लेखक टिकाराम उपाध्याय निर्भिक-प्रति हार्दिक कृतज्ञता प्रकट गर्दै सो पुस्तकबाट गोपालसिंह नेपालीबारे अझ धेर जानकारी लिन सकिन्छ भन्ने जनाउन चाहन्छु|)

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया