अजैविक सब्जी बन्दको तीन महिना पूरा, सिम्फेडको नयाँ दरले हच्कियो बस्तीवाला

गान्तोक, 01 जुलाई।


राज्य सरकारको महत्वकांक्षी जैविक क्रान्तिको दोस्रो चरणको अभियानअन्तर्गत सिक्किम राज्य बाहिरको सब्जीहरू आयातमा लगाइएको प्रतिबन्ध तीन महिना पूरा भएको छ। तीन महिनाको अन्तरालमा अजैविक र जैविकको द्वन्दात्मक प्रतिक्रिया यद्यपि जारी रहेको छ। अधिकांश हुनेखानेहरू जैविक सब्जीलाई स्वास्थ्यकर मान्दै सही र लाभदायक निर्णय रहेको बताउॅंछन्। अर्कोतिर हुँदा खानेहरूको निम्न वित्त वर्गका उपभोक्ताहरू भने आफ्नो गच्छे अनुसार राज्य बाहिरकै अजैविक सब्जी नै किन्न पाए हुन्थ्यो भन्ने प्रतिक्रिया व्यक्त गर्छन्।

तीन महिना पूरा भएको अवसरमा मीडिया कर्मीहरूले राजधानी गान्तोकको चर्चित तीनवटा मार्केट किसान बजार, अर्गेनिक भेजिटेबल मार्केट र लाल बजारका व्यापारी, उपभोक्तासित प्रतिक्रिया माग्दा मिस्रित प्रतिक्रिया आएको भए पनि आजदेखि सिम्फेडले जैविक सब्जीहरूको नयाँ दर तोकेको विषयमा भने जैविक सब्जी बिक्रेताहरूले ठाडै असन्तुष्टि व्यक्त गरेका छन्।

गाउॅंबाट जैविक सब्जी सङ्कलन गरेर राजधानीमा बेच्न आउने जैविक सब्जी व्यापारीहरूले भोलीदेखि लागू हुने भनिएको सिम्फेडको सरकारी दर अस्वीकार गर्दै आफूहरूले तोकिएको मूल्यमा बेच्न नपाए सब्जी लिएर आउन नमिल्ने दाबी गरेका छन्। सिम्फेडले जारी गरेको नयॉं दर अत्यन्तै कम्ती भएको र आफूहरूले त्यो दरमा बेच्न नसक्ने तथा आफूहरूको कुनै नाफा नै नबस्ने भएकोले यो दरमा पुन:विचार गरिनुपर्ने माग गाउॅंले बिक्रेताहरूले राखे।

अर्कोतिर, राजधानीका मुख्य बजारमा सब्जीको भाउ मनपरी भएको तथा नियन्त्रित ढङ्गमा नतोकिएको कारण जनतालाई मार परिरहेको आम उपभोक्ताले बताएका छन् भने सरकारद्वारा दर नियन्त्रित गर्नुपर्ने माग गरेका छन्। तर जैविक सब्जी ल्याउनेहरू भने किसानहरूबाटै महङ्गो दाममा ल्याउनुपर्ने भएकोले गर्दा सरकारले किसानहरूलाई समर्थन राशि प्रदान गरेर हुन्छ या कसरी हुन्छ सुफद मूल्यमा गाउॅंमा सब्जी उपलब्ध गराएको खण्डमा मात्र अहिले सरकारले तोकेको दरमा सब्जी बेच्न सक्ने बताउॅंछन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया