दुःखलाई सेलेब्रेट गर्ने कवि

निर्भीकजङ्ग रायमाझी, अन्नपूर्णपोष्ट


मिथजस्तो बनिसकेको छ, कवि हरिभक्त कटुवालको नाम। कटुवालको निधन भएको ३८ वर्ष हुँदैछ। तर, उनको क्रेज दिनानुदिन बढिरहेको छ। उनीसँग तीसको दशकमा संगत गरेका तत्कालीन युवा कविले विभिन्न लेख–रचना एवं संस्मरणमार्फत उनलाई सम्झिरहेका छन्। यद्यपि धेरैजसो लेखमा उनको व्यक्तिगत जीवनका पाटाबारे बढी चर्चा केन्द्रित छ। उनको सर्जक व्यक्तित्वको र रचना–विधानको चर्चा कमै भएका छन्।
कटुवाल सर्वप्रथम जहाँ पनि कविकै रूपमा चिनिने बताउँछन्, कवि शैलेन्द्र साकार। साकारका अनुसार कविको परिचय पछाडि मात्र उनको नामसँग रक्सी जोडिएर आउने र रक्सीपछि सिर्जनासँग जोडिएर आउनुपर्छ। ‘तीसको दशकको सुरुआतमै काठमाडौंका आममानिसलाई कविहरू भनेकै रक्सी खानेहरू हुन् भन्ने भान परिसकेको थियो। यसको सुरुआत जसबाट भए पनि कटुवालको रक्सी किस्साहरूबाट भने यसले झनै बढी अफवाह फैलायो। ‘न्युरोड, असन, बागबजार, पुतलीसडक र कमलादीमा कविहरू भेला भई रक्सी खाने आआफ्नै समूह थियो, त्यति बेला। कटुवाल यी जुनसुकै समूहसँग पनि फिट हुन सक्थे’, कवि साकार बताउँछन्।

कटुवाल एकताका होटलमा भान्से पनि बनेका थिए। पुतलीसडकको एक होटलमा खाना पकाउने कामसमेत गरेका कटुवाल त्यही होटलमा बस्थे। एकपटक खाना खान भनी त्यहाँ पुग्दा साकारले कटुवाल सुत्ने ठाउँ पनि देखे। परालले बुनेको एउटा लामो सुकुलमा सुत्दा रहेछन्, उनी। साकारले यो देखेर सोधिहाले, ‘दाइ तपाईंलाई यस्तोमा सुत्दा अप्ठेरो हुँदैन ? ’ उनको जवाफ थियो, ‘हुँदैन भाइ, फेरि मेरो यो ढाड दुख्ने समस्या छ, यसले झनै ठीक पारिदिन्छ।’ यसैकारण साकार कवि कटुवाललाई अत्यन्त भावुक एव‌ं दुःखलाई पनि सेलिब्रेट गर्न सक्ने सामर्थ राख्ने कविको संज्ञा दिन्छन्।

कविता बर्बराएको रात

नेपालकै पहिलोपटक टिकटमा मुक्तक सुन्ने कार्यक्रम आयोजना भएको थियो पोखरामा, २०३५ साल माघ २० गते। सो कार्यक्रममा काठमाडौंबाट कवि कटुवाल, कणाद महर्षिलगायत करिब दुई दर्जन कवि गएका थिए। मुक्तक गोष्ठी भव्य रूपमा सम्पन्न भयो। त्यस दिन बेलुकीको खानापछि मदिरापान पनि चल्यो। आयोजकले नै त्यसको प्रबन्ध गरेका थिए। कटुवालले पिएर हाँस उठ्ने कुरा गर्दा साथीहरूको हाँसोको बाढी नै उर्लियो।

कविहरूलाई राति सुत्नका लागि पोखराकै एकजना स्थानीय साहित्यकारको घरमा लगियो। कणाद र कटुवाल सँगै सुते, भुइँमा। सुतेको केही समयपछि कणाद ब्यूँझिएर हेर्दा कटुवाल थिएनन्। शौचालय गए कि कता गए भनी एकछिन त उनले पनि वास्ता गरेनन्। तर, निकै बेरसम्म उनी नआएपछि उनले साथीहरूलाई पनि उठाए। सबैजना मिलेर त्यस घरको वरपर खोजे तर फेला पारेनन्। घरमूलीलाई लिएर उनीहरू कटुवालको खोजी गर्न निस्किए। अन्ततः उनी त्यसै टोलको एक रक्सी पसलको ढोकाअगाडि उभिएर ढोका ठटाइरहेका पो भेटिए।

कणादले यति राति कहाँ यहाँ आएको भनेर हप्काए पनि। तर, कटुवाललाई त्यसको परवाहै भएन। उल्टै आफूलाई रक्सी नपुगेको भन्दै थप गर्न आग्रह पो गरे। स्थानीयवासीले भनेपछि बल्लबल्ल पसल खुल्यो र उनलाई रक्सी थपियो।

यसपछि सबैजना मिलेर उनलाई समाएर सुताउन ल्याए। सुतेको केही समयमै कटुवाल मसिनो स्वरमा बर्बराउन थाले। कणाद ब्यूँझिएर कटुवालको कुरा ध्यान दिएर सुने। उनी त लयबद्ध कविता गुनगुनाइरहेका थिए। नयाँ कविता हो कि पुरानो कविता हो, कणादलाई छुट्याउन गाह्रो प¥यो। करिब आधा घन्टापछि कटुवाल निदाए र कणाद पनि सुते।

भोलिपल्ट बिहान चिया खाने समयमा कटुवाललाई उनले सोधे, ‘दाइ हिजो राति तपाईंले कविता भन्नुभएको याद छ ? ’ उनले याद नभएको बताए। बरु आफू परको पसलमा गएर बसेको र साथीहरू लिन आएपछि गएर सुतेकोसम्म जनाए।

कणादलाई लाग्यो, कटुवालले नयाँ कविता भनेका थिए। उनलाई राति उठेर कापीमा टिप्न पाएको भए हुने रहेछ भन्ने पछुतो भयो। उक्त गीतिकविता सार्न नसकेकोमा उनी अहिले पनि थकथक गरिरहन्छन्। पोखरा मुक्तक महोत्सवमा कणादले नै कटुवालको कविता वाचन गर्दै गरेको पूर्ण कदको तस्बिर खिचेका थिए। सम्झनाको चिनोस्वरूप अब उनीसँग यही तस्बिर बाँकी छ।

कणादले आफ्नो एउटा कवितासंग्रहको नाम नै कवि कटुवालकै स्मृतिमा समर्पित गरेका छन्। ‘घाउमा हरिभक्त कटुवाल’ नामक उक्त कवितासंग्रह साझाबाट प्रकाशित छ।

कार्यालयको कामले कणाद पोखराबाट कार्यक्रमको भोलिपल्ट एक्लै फर्किए। तर, कटुवाल र अरू कविहरू एकदुई दिन त्यहीँ बसे। फर्कंदा कवि विश्वविमोहन श्रेष्ठसँगै फर्किएका थिए, कटुवाल। पोखरा–काठमाडौंको एकदिने बाटो कटुवाल र विश्वले करिब एक हप्ता लगाए। यस क्रममा उनीहरूले कति होटल चहारे, कहाँ कहाँ घुम्न गए ? लेखाजोखा नै छैन।

वाकपटुताका नायक

कवि कटुवालको बाहिरी व्यक्तित्व त्यति आकर्षक नभए पनि उनमा अद्भुत वाकपटुता रहेको बताउँछन्, कवि अविनाश श्रेष्ठ। ‘आफूमा निहित वाकपटुताको शक्तिको दुरुपयोग अक्सर उनी युवतीहरूमाथि गर्थे’, कवि श्रेष्ठ भन्छन्, ‘कहिले त्यही वाकपटुताले उनलाई धोका पनि दिन्थ्यो।’

कवि एवं कथाकार श्रेष्ठले नै कटुवालको जीवनको अन्तिम अन्तर्वार्ता गरेका थिए आसाममा। कटुवालको निधन हुनुभन्दा दुई सातापहिले श्रेष्ठले अन्तर्वार्ता गरेका थिए। त्यस बेला पनि कटुवालले आफ्ना भनाइहरू अत्यन्त मार्मिक ढंगले अभिव्यक्त गरेका थिए। यसबाट के पुष्टि हुन्छ भने कटुवालले जुनसुकै अप्ठेरो परिस्थितिमा पनि आफ्नो अभिव्यक्ति कला र शब्दको गरिमालाई भुलेनन्।

तर, कटुवालले आफ्नो वाकपटुताको उपयोग गरेर कहिल्यै पनि लाभ धारण नगरेको स्मरण गर्छन् कवि एवं निबन्धकार रेशम विरही। भारतबाट नेपाल आएका अन्य कवि कलाकारले दरबार र तत्कालीन शक्तिको चाकरी गरेर नागरिकता तथा विभिन्न पदमा रोजगारी लिएका थिए। तर, कटुवाल कसैसँग पनि चाप्लुसी गर्न नजान्ने र गर्दा पनि नगर्ने भएकाले उनी अत्यन्त स्वाभिमानी रहेको बताउँछन्, कवि विरही।

‘एकथरी समूहले त कटुवाललाई पागल हो भन्ने बनाउन नै जोड गरे’, विरही पुराना दिन सम्झन्छन्, ‘उनको गरिबी र अभावलाई चित्रण गरेर उपहास गर्दै पागल भन्न खोज्नु सरासर गलत हो। गरिबीको मारमा परेपछि मानिस यसै पनि फ्रस्टेट हुन्छ।’

त्यति बेला विरही ‘आरन’ भन्ने पत्रिका चलाउँथे। विरहीसँग भेट भएका बखत एकचोटि कटुवालले आरन हेर्दै भनेका थिए, ‘तिमीले निकै राम्रो पत्रिका निकाल्यौ रेशम, बधाई छ। तर के गर्नु यो देशमा राम्रो गर्ने मानिसको कहिल्यै भलो हुन्न, अब तिम्रो पनि भलो हुन्न।’

सुन्दा मनमा चसक्क पर्ने यी कुराहरू वास्तवमा एकदमै सही थिए। यसबाट सामान्य परिस्थितिलाई पनि दूरदृष्टि राखी आफ्नो भनाइ राख्न सक्ने क्षमता कटुवालमा रहेको पुष्टि हुने विरहीलाई लाग्छ।

कटुवाल क्रेज

यो समयमा मुलुकको शासन व्यवस्थादेखि लिएर कला संस्कृति र प्रविधिमा अनेकौं फेरबदल आइसकेको छ। नेपाली कविता र गीतमा धेरै नयाँनयाँ सर्जकहरू स्थापित भएका छन्। यस्तो स्थितिमा पनि कवि कटुवालको क्रेज भने दिनदिनै बढ्दै गएको देखिन्छ। आफू बाँचेको समयमा उपेक्षित हुनु परे पनि आज उनीमाथि प्रेम र सद्भाव राख्ने जमात ठूलो छ। र त उनको नाममा हुने कार्यक्रमहरू बढिरहेका छन्। उनको कविताका पंक्तिहरू मानिसको हातमा खोपिएका छन्। उनलाई प्रेरणाको स्रोत मानेर कविता रचना गर्नेहरूको जमात पनि ठूलो छ। कटुवालकै प्रेरणाबाट लेखकहरू सरुभक्त, जगदीश घिमिरे आदिले नयाँ विधामा कला चलाएका थिए। कटुवालकै करले आफूले पहिलो उपन्यास लेखेको कुरा घिमिरे स्मरण गरिरहन्थे।

हो, व्यक्ति कटुवाल र सर्जक कटुवाललाई अलग गरेर हेर्न त मिल्दैन। तर, अनेकौं अफवाह र हाँसीमजाकका लागि बनाइएका किस्साहरूका बीच पनि आफ्नो युगान्तकारी रचनाकर्मका कारण कटुवालको क्रेज झन्झन् बढिरहेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares