‘यदि गणेश छेत्रीले अवैद्धरूपमा सिभिक पुलिसको फारम बेचेको प्रमाणित भए…..’

दार्जीलिङ, 2 जुलाई।


दार्जीलिङ हिल तृणमूल कङ्ग्रेसका प्रतिनिधिहरूले आज पार्टीको दार्जीलिङ टाउन कमिटीका अध्यक्ष गणेश छेत्रीको पक्राउ सम्बन्धमा दार्जीलिङका पुलिस अधीक्षकसित भेट गरे। यसपछि पत्रकारहरूलाई सम्बोघन गर्दै दार्जीलिङ हिल तृणमूल कङ्ग्रेस प्रभारी शारदा राई सुब्बाले गणेश छेत्री तृणमूल कङ्ग्रेसको दार्जीलिङ टाउन कमिटीका अध्यक्ष रहेको अनि छेत्रीलाई सिभिक पुलिसमा भर्नाको फर्म अवैधरूपले बेचेको आरोपमा दार्जीलिङ पुलिसले पक्राउ गरेको बताए।

‘तर उनीमाथि केवल आरोप मात्रै लागेको छ, दोष प्रमाणित भइहालेको छैन। यसैले उनलाई पार्टीले उनको पद वा पार्टीका सदस्यताबाट अहिलेनै हटाउने कुनै निर्णय लिएको छैन। तरै पनि उनीमाथि लागेको आरोपले पार्टीलाई असहज स्थितिमा पुऱ्याएको छ,’  उनले भनिन्,  ‘यसैले यस घट्नामा जो पनि सामेल छन् अनि यस्तो फर्म कहाँबाट आयो भन्नेबारे पुलिसले विस्तृतरूपमा जाँच गर्नुपर्छ अनि यसमा संलग्नहरूलाई सजाय दिनुपर्छ।’

अर्कोतिर हिल तृणमूल युवा कङ्ग्रेस अध्यक्ष विष्णु गोलेले यस्तो काण्डमा पार्टीका कुनै पनि सदस्य सामेल भएको भेटिए उनीहरू विरूद्ध ठोस प्रमाणसित पार्टी कार्यालयमा आएर उजुरी गरिदिने आह्वान गरेका छन्।

‘यदि गणेश छेत्री यस काण्डमा पक्कै सामेल छन् भन्ने प्रमाणित भए पार्टीले आगामी दिनमा उनी विरूद्ध उचित कार्वाही गर्नेछ,’ उनले भने। उनले हाल राज्य सरकारले दार्जीलिङ पहाडमा सिभिक पुलिसको भर्ना गर्ने कुनै योजना नबनाएको खुलाए। गणेश छेत्रीको विषय लिएर पुलिस अधीक्षकसित भेट गर्न जाने प्रतिनिधिहरूमा क्रमैले शारदा राई सुब्बा, तृणमूल युवा कङ्ग्रेस अध्यक्ष विष्णु गोले, मिलन डुक्पा, नगरपार्षद चुनचुन भोटिया सामेल थिए।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया