विश्वकप फुटबल : त्यो अतित, यो वर्त्तमान

 

एन्टप हिल, मुम्बई-37

पहाड़मा विश्वकप

आधुनिक तकनिकी प्रगति नै धेर तुलनात्मक विषय देखिन्छ विश्वकप फुटबलको क्रमलाई सम्झँदा। सामाजिक प्रगतिलाई हेर्दै जाँदा हाम्रो पहाड़को विकास वा संवृद्धिलाई यो विश्वकपको विकाससित दाँज्नसकिन्छ कि?

हामीले (मैले) जान्दा पहाड़मा विश्वकपले लोकप्रियता कमाउन थालेको हो सन् 1982 -देखि। सन् 1980 -मा सानु खालको श्याम-श्वेत पोर्टेबल टिभी एकदुइजना हुनेखानेहरूको घरमा भित्रिएको हो। त्यो भित्रिनुको पछि पनि खेल जगतकै भूमिका छ। यसै साल भारतमा दोस्रो पल्ट एसियाली खेल सम्पन्न भएको हुनाले काङ्ग्रेस सरकारकी प्रधानमन्त्री इन्दिरा गान्धी, सायद आफैले सूचना अनि प्रसारण मन्त्रालय पनि सम्हालेकी थिइन्, -ले आम मानिसहरूले पनि यो खेलको आनन्द लुट्न सकून् भन्ने उद्देश्यले टिभी -लाई घरघरमा पुऱ्याउने योजना बनाएकी थिइन्। तर सप्पै घरमा पुग्नसकेन। किनभने महँगो अनि त्यतिखेर उपग्रहहरू धेरै मात्रामा स्थापित भएका पनि थिएनन् अनि अन्य कारण पनि केही थिए हुनन्।

यद्यपि भाग्यमानीहरूले दिल्लीमा आयोजित एसियाली खेललाई आफ्नो घरका टिभीमा दुइतीन दिनपछि नै भए पनि हेर्ने मौका पाएका थिए। कालेबुङमा त्यतिखेर पाँच-दस घरमा टिभी थियो होला। त्यसबेला घरको छानुमा रेलको लिकजस्तो गतिलो एन्टिना झुन्याउनु धनाढ्यको प्रतीक हुन्थ्यो। हुनेखानेहरूले दिनैपिच्छे आफ्नु घरको एन्टिनालाई टिलिक्क टल्काएर, सफा बनाएर सजाउँथे अनि बाटामा हिँड़्नेहरू ती घरका अघिल्तिर पुगेपछि एकपल्ट अवस्यै छानुतिर हेरेर छक्क पर्थे। ऐलेको जमाना भए सायद सेल्फी खिच्थे होलान्।

त्यसपछि बिस्तारी-बिस्तारी मध्यम वर्गमा यो टिभी पस्न थाल्यो। कालोसेतो औतारमै। पं. सुदामा र ओमकारको दोकानमा पाइन थाल्यो। अलिक साइज पनि ठुलो खालको आयो। यसरी सन् 1982 -को 13 -औँ विश्वकप फुटबल आयो। जसलाई धेरै कम्ती कालेबुङवासीहरूले हेरे। यो खेलमा इताली विजयी भएको थियो।

यौटा कुरा स्मरण गर्नुपर्ने के छ भने त्यतिखेर टिभीको प्रसारण सम्पूर्णतया सरकारको अधीनमा हुन्थ्यो अनि दूरदर्शन मात्र सरकारी च्यानल थियो। निजी च्यानलहरू त 90 -को सुरूआतदेखि मात्रै आएका हुन्। सरकारको अधीनको दूरदर्शनका सबै कार्यक्रमहरू समयतालिकाभित्र बाँधिएका हुन्थे। सुरूमा केवल साँझदेखि मात्रै देखाइन्थ्यो भने पछिपछि गएर बिहानको कार्यक्रम पनि थपिएका थिए अनि अझै पछि गएर दिउँसो पनि केही समयका लागि कार्यक्रमहरू देखाइन्थे।

यतिन्जेल पनि पहाड़मा आधुनिक सुबिधाहरू जस्तै टेलिफोन, जेरक्स, भिडियो आदि भित्रिहालेको थिएन। एकाध घरदोकान र अफिसमा ल्यान्डलाइन हुन्थ्यो। अँ, रेडियो भने घरघरको सामान्य सामान भइसकेको थियो किनभने यतिन्जेल सरकारले रेडियो बजाउनेहरूलाई लाइसिनमुक्त गरिदिएको थियो। उल्लेखनीय छ, यसअघि रेडियो बजाउनका लागि लाइसिन बनाउनुपर्थ्यो अनि त्यसको कर स्थानीय डाकघरमा गएर तिर्नुपर्थ्यो।

त्यतिखेर समाजमा भित्रिँदै गरेका तकनिकी सामानहरूमा टु-इन-वन रेडियो भन्थे कतिले, कतिले टेप रिकार्ड भन्थे, कतिले क्यासेट प्लेयर भन्थे। ग्रामोफोनको प्रथालाई तोड़्दै क्यासेटको दौड़ सुरू हुँदैथ्यो। घरको सिटिङ रुममा क्यासेट सजाउनेहरूलाई अलि हुनेखाने मानिन्थ्यो त्यतिखेर।

युवाहरूमा क्यासेट साटासाट हुन्थ्यो। हिन्दी गीत, जोनी लिभरका हास्यहरू, गुलशन कुमारको टि सिरिजका भजनहरू अनुप जलोटाले गाएका, गुलाम अली, जगजीत र पङ्कज उधासका गजलहरू, पश्चिमे गीत मन पराउनेहरूका लागि अब्बा, इगल, बिटल्स, बे किटी रोलर्स, स्करपियोन्स, डायर स्ट्रेट्स आदि सङ्गीतप्रेमीहरूले खुब सुन्थे क्यासेट प्लेयर घन्काईघन्काई। यसैबेला ट्याक्सी गाड़ीतिर पनि स्टेरियो पसेको थियो र यात्रुहरू पनि गीत सुन्न पाइने वाहन नै धेर छान्थे। यति मात्रै हैन आफ्नो स्वरमा गीत गाउन पनि सकिइने हुनाले टेप गर्ने चल्न पनि चल्दैथियो त्यतिखेर। हाम्रो सङ्गीत जगतमा पनि ड्रम, हार्मोनियम, भायलिनजस्ता पारम्परिक बाजागाजाहरूको सट्टा केसियो बज्न थालिसकेको थियो। यौटै बाजामा एकसय वाद्ययन्त्रका धुनहरू सुन्न पाइने यन्त्रले साङ्गीतिक कार्यक्रमतिर सबैको ध्यान आकर्षण गर्थ्यो।

आन्दोलन र फुटबल

यसै समय राजनीतिक परिवर्तन पनि आउन थालेको थियो पहाड़मा। राजनीतिमा रुची राख्ने खुबै कम मानिसहरू हुन्थे। आम मानिसको यतातिर चासै हुँदैनथ्यो। कताकता नेपाली भाषा मान्यताको आन्दोलनमा आम मानिसहरू केही तातिन्थे तर फेरि सक्रियहरूबाहेक अरू चुप भइहाल्थे। भोट हुन्थ्यो। हलोजुवा, गाईबाछी, दुइ पात इत्यादिका चिनोहरू टाँसिन्थे। यसो गर्दैगर्दै सन् 1986 आयो। यो सालले दुइवटा मुख्य कुरा ल्यायो पहाड़मा। एक त गोर्खाल्यान्डको सक्रिय आन्दोलन अनि दोस्रो चाहिँ 14 -औँ विश्वकप फुटबल।

आन्दोलन पनि चल्दैछ, फुटबल पनि चल्दैछ। एकातिर कर्फ्यु लागिरहेको छ, अर्कोतिर फुटबलको ज्वरोले समाजको एक तप्कालाई तताइरहेको छ। यतिन्जेल धेरैवटा घरका सिटिङ रुममा चारपाटे बक्साभित्र कालोसेतै भए पनि टिभी भित्रिसकेको थियो। हुनेखानेहरूकहाँ त रङ्गीन पनि आइसकेथ्यो सायद। यसपालिको फुटबल धेरैले हेरे। म्याराडोना भन्ने खेलाड़ी सबैभन्दा धेर लोकप्रिय थिए यो समय। उनकै दल अर्जेन्टिनाले जर्मनीलाई जितेर विश्वकप हत्याएको थियो यो साल। म्याराडोनाले हातले हालेको सिमी फाइनलको गोल खुबै विवादास्पद बनेको थियो। तर रि-प्लेको प्रथा नरहेको कारण, आजजस्तो भीएआर-को अनुपस्थितिमा रेफरीले नदेखेको चोर बाबुसमान मान्नुपरेको थियो।

यी खेलहरू दूरदर्शन र बङ्गलादेश टिभी-मार्फत् हेर्नुपर्थ्यो त्यतिखेर। हावा-पानी चल्यो कि एन्टिना हल्लिने, चरा बसिदियो कि एन्टिना हल्लिने अनि टिभीको मनिटर नै भुइँचालो आएजस्तो हुने।

फुटबल नोस्टाल्जिया

यसपछि तकनिकी प्रगति निक्कै अघि बढ्नथाल्यो। जस्तै – जेरक्स मसिन, मारुती गाड़ी, रङ्गीन टिभी, दूरदर्शनको कार्यक्रमको अवधि विस्तार, हुनेखानेहरूको पाकेटमा वल्कमेन र हेडफोन, टेलिफोन, बाहिरी देशका निजी च्यानलहरू जस्तै सीएनएन, बीबीसी, स्टार वर्ल्ड, एमटिभी आदि। यस कालमा फेरि सम्पन्न भयो फिफाको अर्को 15 -औँ म्याच सन् 1990 -मा। अब घरघरमा रङ्गीन अनि ठुलो आकारको टिभी पसिसकेको थियो। 86 -मा हेर्नेहरू सिनियर दर्शक भए। ऐलेका धेरै खेलप्रेमीहरूका लागि, जो त्यतिखेर पूर्ण यौवनत्वमा थिए, -का लागि 15 -औँ म्याच नै फिफाको पहिलो दर्शन थियो।

1982 -मा कालो-सेतो अनि सानु आकारमा हेरेको फुटबल 1986 -मा ठुलो आकारमा पुगेको थियो भने 1990- मा चाहिँ यो पूर्णतया रङ्गीन भइसकेको थियो। यतिखेर लाइभ नै भनिन्थ्यो तर वास्तवमा डिलेड लाइभ हुन्थ्यो। रेकर्डिङ गरेर केही समयपछि देखाइन्थ्यो। सञ्चारको व्यवधानको कारण अनभिज्ञ साधारण दर्शकहरूलाई यस्तो कुराको ज्ञान हुँदैनथ्यो। 1990 -को खेल पनि दूरदर्शनमै हेरेका हुन् दर्शकहरूले। यसपालिको खेलमा भने अर्जेन्टिनालाई जर्मनीले मात दिएर अघिल्लो फाइनलको बदला चुकाएको थियो।

यसपालि विश्व च्याम्पियन ब्राजिललाई पहिलोपटक देखा पर्ने क्यामारुनले सुरूआती खेलमै जितेको थियो।

90 -को अघि नै मनोरञ्जनप्रेमी दर्शकहरूका लागि भिडियो सुरू भइसकेको कुरा यहाँ भुल्नुहुँदैन। सन् 1983-84 -तिर समाजमा भिडियोको मनोरञ्जनले जरा गाढ़्नथालेको थियो। गाउँघर, गल्लीगल्लीमा भिडियो पार्लरहरू सुरू भएपछि चल्दै गरेका सिनेमा हलहरूलाई धेरै धक्का लाग्नथालेको थियो। 5 रुपियाँ तिरेपछि डबल एट्रेक्सन अथवा दुइवटा सिनेमा हेर्न पाइने छुटले त झन् युवाहरूको मन पुरै जितेको थियो मात्रै हैन बुढ़ीबुढ़ीहरू पनि चम्कीचम्की रातब्याल नभनी फिल्म हेर्न तम्सेर लाइन लाग्थे।

कालेबुङमा यतिखेरका जग्गु भिडियो, सिन्कु भिडियो आदिको धार्मिक पुजास्थलभन्दा कम मान्यता थिएन।

देसी च्यानलको मजा

90 -को दशकपछि भने घरघरमा टेलिफोन पस्यो ल्यान्डलाइनको रुपमा। टिभी -मा रामायरण, महाभारत, चन्द्रकान्ताजस्ता धारावाहिकहरूले इतिहास रचे। त्यसपछि 94 –को 16 -औँ विश्वकप सम्पन्न हुँदा नहुँदा भारतकै निजी च्यानलहरू र क्याबल टिभीको परम्परा बनि बस्न थालेको थियो। आम मानिसहरू अब दूरदर्शनको भरमा नपरेर निजी टिभी च्यानलहरू पनि हेर्नथालिसकेका थिए।

पहिलो देसी हिन्दी च्यानल थियो जिटीभी। सन् 1992 -को गान्धी जयन्तीको दिनदेखि यसको सुरुआत भएजस्तो लाग्छ। त्यसपछि दूरदर्शन र निजी च्यानलहरूमाझ पेसागत प्रतिस्पर्धा सुरू हुँदा सरकारले पनि नियम कानुन लचिलो गरी प्रसार-भारती बिल ल्याउन बाध्य हुनुपरेको थियो।

किनभने डा. मनमोहन सिँह भारतका वित्त मन्त्री रहँदा नै आर्थिक उदारीकरण सुरू भएको थियो जसअन्तर्गत बाहिरी निवेशको प्रारम्भ भएको थियो। निजी व्यवसायीहरूसित जुझ्नका लागि दूरदर्शनले पनि आफ्ना कार्यक्रमहरूमा व्यापक फेरबदल ल्याउन बाध्य भएर कतिपय भारतीय निजी कम्पनीहरूसित मिलेर आकर्षक कार्यक्रमहरू थालेको थियो जसमा प्रमुख थिए – द वर्ल्ड दिस विक, आजतक, सुरभि इत्यादि।

विश्वकप र आरसी पौड्याल

यही सन् 1994 -को विश्वकप सम्पन्न भएको बेला दार्जीलिङ-सिक्किममा यौटा ठुलो होलल्लाले मानिसहरू आतङ्कित बनेका थिए जसलाई भनिन्छ आरसी पौड्यालको भविष्यवाणी।

उनले गरेको भविष्यवाणीमाथि भर परेर धेरै आम अनि अचेत मानिसहरूले आफ्नो घरबार-जग्गा-जमिन-सम्पत्ती बेचेका थिए। यतिखेर टिभी पनि धेरैजनाले कम्ती दाममा बिक्री गर्दा तल्लो स्तरको परिवारमा पनि यो तकनिकी सामग्री पसेको थियो। पौ

ड्यालले सायद मई 16 तारिखका दिन महाप्रलय हुने दाबी गरेका थिए अनि यसै समय विश्वकप फुटबल पनि सुरू हुनलागेको थियो। रोजर मिल्लाजस्ता खेलाड़ीको उदय भएको साल थियो यो अनि कोलम्बियाका खेलाड़ीले आत्मघाती गोल गरेबापत् उनको हत्या भएको साल पनि थियो।

यसै खेलको अवधिमा म्याराडोनामाथि लागु पदार्थको मुद्दा दायर गरिएको थियो अनि उनलाई रहल खेल खेल्नबाट वञ्चित गरिएको थियो।

यतिखेर तकनिकी प्रगतिले उस्तो खासै प्रभाव पारिरहेको थिएन समाजमा। ल्यान्डलाइन भने घरघरमा पस्दैथ्यो अनि गोलका स्कोरहरू साथीभाइलाई आफ्नो टेलिफोनबाटै सुनाउने कामहरू हुन्थ्यो। एसटिडी बुथहरू गाउँघरमा निक्कै स्थापित भइसकेका थिए।

कम्प्युटरमा विश्वकप

त्यसपछि सन् 1998 -मा 17-औँ विश्वकप सुरू भएको थियो। समाजमा कम्प्युटरले आफ्नो प्रवेश लिइसकेको थियो। तर प्रायः नै डस मोडमा चल्थे। आधुनिक भर्सनको विन्डो 95 कम्ती कम्प्युटरमा पाइन्थ्यो। सहरबजारमा कम्प्युटरका तालिम केन्द्रहरू स्थापित हुनथालेका थिए। क्यासेटको बजारलाई सिडी -ले ढाक्नथालेको थियो।

सिनेमा हललाई बन्द गर्ने भिडियो पार्लरहरू पनि बन्द हुनथालेका थिए किनभने अब आम मानिसहरूले घरघरमै सिनेमा हेर्ने उपायहरू पाइसकेका थिए। सिडी प्लेयरमा पनि हेर्थे अनि कम्प्युटरमा पनि।

यो सालको विश्वकप म्याचको फाइनलमा घरपटी फ्रान्सले विश्व विजेता ब्राजिललाई शून्यको विरुद्ध 3 गोल दिएर भविष्यवक्ताहरूलाई आश्चर्यचकित पारिदिएको थियो।

2002 -को विश्वकप आउँदा नआउँदा प्रायः सबै घरका छानुहरूमा रहेका एन्टिना इतिहास बन्नलागेका थिए। क्याबल र टेलिफोनको तार मनिप्लान्टका लहराजस्तै सिटिङरुमभित्र लत्रिएका देखिन्थे।

निजी च्यानलहरूको भिड़ बढ़िसकेको थियो भने लोक्कल टिभीले पनि आफ्नो प्रवेश लिइसकेको थियो। इन्टरनेट भन्ने सञ्चारको नयाँ माध्यमले पनि बिस्तारै आफ्नो हुकुमत सुरू गरिसकेको थियो। यति मात्रै हैन, मोबाइल फोन पनि यदाकदा देखिन थालिसकेका थिए। अब दूरदर्शनलाई बाईबाई गरेर मानिसहरू ईएसपीएन र स्टार स्पोर्ट्सतिर पुगिसकेका थिए। एसियामा पहिलोपल्ट आयोजना भएको यो वर्षको फुटबल म्याचको फाइनलमा ब्राजिलले जर्मनीलाई जितेको थियो।

यसरी नै 2006 -को फुटबल खेलको समयमा मोबाइल फोनले साधारण परिवारतिर पनि आफ्नो प्रवेश लिइसकेको थियो भने इन्टरनेट धेरै नै लोकप्रिय बनिसकेको थियो। फुटबलप्रेमीहरूले फिफा कपलाई आफ्नो टिभीमा मात्रै हैन, कम्प्युटरमा पनि लाइभ हेर्नथालेका थिए अनि स्कोरहरू मोबाइलबाट पनि एसएमएस -को माध्यमद्वारा प्राप्त गर्नथालेका थिए। यसपालिको खेलको विजेता बनेको थियो इताली।

 हत्केलामा विश्वकप

सन् 1982 -अघि एकाध खेलप्रेमीहरूले रेडियो वा संवादपत्रहरूमार्फत् समाचारको माध्यमद्वारा मात्र विश्वकप फुटबलबारे जान्ने गरेको नतिजा अब 2010 -को खेलमा आम मानिसले आफ्नै हत्केलामा पाउन थालिसकेका थिए। यतिन्जेल हरेक हातमा मोबाइल फोन पुगिसकेको थियो भने पीसीओ बुथहरूले यति चाँड़ै विदावारी लिने मानिसहरूले सपना पनि देखेका थिएनन्।

तकनिकी प्रगतिको दौड़मा यतिखेर डिजिटल क्यामेरा, भिडियो क्यामेरा, हातहातमा पेन ड्राइभ, चिप्स आदि पुगिसकेको पनि धेरै भइसकेको थियो। यति मात्रै होइन आफ्नै गाउँघरका कार्यक्रमहरू पनि मानिसहरूले घरमै बसेर टिभीमा लाइभ हेर्ने गरेको निक्कै वर्ष पुगिसकेको थियो।

सन् 2014 –को त के कुरो गर्नु र हिजोअस्ति त हो। फेसबुकले समाजमा प्रवेश गरेपछि विश्वकप फुटबल पनि यस सामाजिक सञ्जालबाट अछुत रहन सकेन। मानिसहरूले यो खेलको जानकारी फेसबुकबाट पनि लिन थालिसकेका थिए यतिन्जेल।

अनि यसपालि सन् 2018 -को खेल आफु जुन ठाउँमा छ त्यही ठाउँमा हेर्न सक्षम बनेका छन् दर्शकहरू। तकनिकी जादु अथवा इन्टरनेटको माध्यमद्वारा हत्केलामै सम्पूर्ण खेल हेरेर आनन्द लुटिरहेका छन् खेलप्रेमी दर्शकहरूले यसपालि थ्रीजी आनि फोरजी –को प्रगतिको कारण। अब आउने वर्ष 2022 -मा कतारमा सम्पन्न हुने विश्वकपमा कस्तो किसिमको तकनिकी विकास देख्न पाइने हो? त्यो भविष्यले नै बताउला……

चरित्र फेर्दैफेर्दै विश्वकप

सुरुमा हुनेखानेहरूको घरमा सीमित मानिसहरूले हेर्ने विश्वकप बिस्तारै छरछिमेकको घरमा गएर हेर्नसकिने भयो। हेर्दाहेर्दै यो खेल गाउँघरमा कसैको घरमा थुप्रिएर राती गफ गर्दै हेर्ने भएर टेलिभिजन आफ्नोआफ्नो घरमा भित्रिएपछि परिवारले मात्रै हेर्दा पनि हुने भयो अनि त्यसपछि बिस्तारै बिस्तारै यो खेल एक्लैले हेर्नसकिने, जता बसेर पनि हेर्न सकिने भयो।

यसरी तकनिकी प्रगति हुँदै जाँदा समाजमा पनि जीवनशैली धेरै परिवर्तन हुँदै गएको छ। आज हामी देख्छौं विश्वकप खेलको हरेक पलको विवरण सामाजिक सञ्जालहरू फेसबुक, इन्स्टाग्राम, ट्विटर आदितिर आइरहेका छन्। फेसबुकमा साथीभाइमाझ यो खेलालाई लिएर विवादहरू चर्किरहेका छन्। यसरी 36 बर्खाको अवधिमा विश्वकप फुटबल खेलको प्रगतिसँगसँगै समाजमा पनि परिवर्तन आइरहेको छ।

1982 –मा विश्वकप हेर्ने दर्शकहरू आज कति छन्, कति छैनन्। धेरैजना आफ्ना नाति-पनातिहरूसित हेरिरहेका होलान्। त्यतिखेर प्रचार-प्रसारको अभावमा खेलप्रेमी दर्शकहरूले विश्वकपलाई केवल खेलकै रुपमा लिन्थे भने आज यो खेलदेखि केही हटेर रमाइलो उन्मादको माध्यम पनि बनेको छ। यसमाथि गीतहरू रचिएका छन्, भिजुअल बनिएका छन्। आफ्नो प्रिय दलको जर्सी लगाएर, झन्डा फहराएर प्रशंसकहरू रमाइलो गर्नथालेका छन्। मानिसहरूको आनन्द र उत्साहलाई उजागर गर्ने माध्यमको रुपमा पनि विश्वकप फुटबल खुबै लोकप्रिय बनेको छ आज।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares