किन फर्कायो त गोरामुमोले एचएडीसी?

खरसाङ, ३ जुलाई


गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) तीनधारे सुकना समष्टीको साङ्गठनिक सभा तीनधारेस्थित राजबारी जनसेवा सङ्घमा समष्टी सभापति जेबी गुरुङको अध्यक्षतामा सम्पन्न भयो। सभामा स्वागत वक्तव्य राख्दै समष्टीको महासचिव प्रमोद थापाले स्व सुवास घिसिङले गोरामुमोको सिध्दान्त हामीमाझ पैतृक सम्पत्तिको रुपमा छोडि राखेको कारण त्यही सिद्धान्तले नै पार्टीलाई दिशा निर्देशन गरिरहेको तथा यही सिद्धान्तले हाम्रो जातिको उत्थान हुन्छ भनी बताएका छन्।

सभामा गोरामुमो तीनधारे सुकना समष्टीको उपाध्यक्ष बिजय मगरले पार्टी अध्यक्ष मन घिसिङले जातिको हितमा एचएडीसी र मन्त्री पद राज्य सरकारलाई फिर्ता गरेको बताए। उनको यो निर्णय ऐतिहासिक रहेको पनि उनले बताए। उपाध्यक्ष बिजय मगरले गोरामुमो शीर्ष नेता पीसी अग्रवालको विषयमा बोल्दै गोरामुमो अध्यक्ष मन घिसिङले एचएडीसी र मन्त्री पद फिर्ता गरेर जनतामा प्रसिध्द हुने डरले बिनय- अनितले पीसी अग्रवालको विषयमा बढाई चढाई कुरा गरेको आरोप लगाए।

सभामा गोरामुमो समर्थित श्रमिक सङ्गठन एचपीडब्ल्युयु केन्द्रीय सदस्य एके देवानले पहाड तराईको चियाबारी श्रमिक सङ्गठनहरुको संयुक्त फोरम गठन भएको र यसले श्रमिकहरुको हक र अधिकारको लागि महत्वपूर्ण निर्णय लिएको बताए। उनले एचपीडब्ल्युयु ५ डेसिमल पर्जा पट्टाको विरोधमा रहेको बताए।

सभामा गोरामुमो पूर्व केन्द्रीय सदस्य एवं पूर्व पार्षद आइएन प्रधानले आफ्नो सम्बोधनमा पार्टीको संविधान अनुसार पार्टीको अग्रिम सङ्गठनहरु नभएको कारण गोरामुमो अध्यक्ष मन घिसिङले पार्टीको सबै भातृ सङ्गठनहरु विघटन गरेको बताएका छन्। उनले चाँढै सबै स्थानहरूमा संयोजक चयन गरी सबै अग्रिम पंक्तिका कमिटीहरु गरिने जानकारी गराए।

उनले सरकारले सही तरिकाले नदिएको कारण एचएडीसी सरकारलाई नै फिर्ता गर्न परेको पनि सभामा बताएका छन्। पूर्व पार्षद आइएन प्रधानले पर्जा पट्टाको मुद्दा गोजमुमोले २०१९ को चुनाउलाई हेरे उठान गरेको आरोप लगाए। सभामा सभाध्यक्ष जेबी गुरुङले गोरामुमो शीर्ष नेता पीसी अग्रवालको पक्षमा सम्पूर्ण गोरामुमो तीनधारे सुकना समष्टी रहेको जनाए। सभालाई भुषण थापा, अमीत प्रधानले पनि सम्बोधन गरेका थिए।

सभामा एचपीडब्ल्युयु युनिट कमिटीका सदस्यहरुमाझ अन्तर्क्रियात्मक कार्यक्रम पनि राखिएको थियो। सभामा गोरामुमो तीनधारे सुकना समष्टीको प्रचार प्रसार सचिव पूर्ण गुरुङ लगायत अन्य पदाधिकारीहरू पनि उपस्थित थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares