दार्जीलिङ पहाड़मा शान्तिपूर्ण मतदान

मोहन लामा दार्जीलिङ, 14 मई।


दार्जीलिङमा मोठ 59.9 प्रतिशत, खरसाङमा 71.8 प्रतिशत, मिरिकमा 77.9 प्रतिशत र कालेबुङमा 65.16 प्रतिशत मतदान भयो।


दार्जीलिङ पहाड़का चारवटा नगरपालिकामा आज पूर्णरूपले शान्तिसित मतदान भयो। जसअनुसार, बिहान 7 बजीदेखि साँझ 5 बजीसम्म दार्जीलिङमा मोठ 59.9 प्रतिशत, खरसाङमा 71.8 प्रतिशत, मिरिकमा 77.9 प्रतिशत र कालेबुङमा 65.16 प्रतिशत मतदान भयो। आज बिहान 7 बजीदेखि शुरू भएको यस मतदान अवधिभरि दार्जीलिङ जिल्लाका कुनै पनि स्थानबाट कुनै अप्रिय घट्ना भएको समाचार पाइएन।

तर दार्जीलिङ पहाड़सँगै राज्यका समतूल इलाकाका तीनवटा नगरपालिका क्षेत्रमा भएको चुनाउ अवधि व्यापक हिंसा भएकोमाथि गोजमुमोले गतिलो कटाक्ष प्रहार गरेको छ। यसबारे गोजमुमो महासचिव रोशन गिरीले भने-तृणमूल कंग्रेसको वर्चस्व रहेका स्थानहरुमा कति अशान्ति अनि आतंकको माहौल छ, त्यो आजको चुनाउबाट स्पष्ट भएको छ। तर तृणमूल कंग्रेसले दार्जीलिङलाई अशान्ति देखेको आरोप लगाइरहन्छ।

आज मतदानको अवधि समाप्त हुनसाथ गोजमुमो महासचिव रोशन गिरीले यहाँ एक पत्रकार सम्मेलनको आयोजना गरेर समतलका दोमकल, पुजाली अनि रायगञ्जमा मतदानको समय भएको हिंसामाथि यस्तो प्रतिक्रिया दिएका हुन्। उनले भने-तृणमूल कंग्रेसले दार्जीलिङलाई अशान्ति छ भन्ने आरोप लगाइरहन्छ अनि दार्जीलिङलाई जङ्गल-महलसित जोड़्ने प्रयास गरेर दार्जीलिङलाई बद्नाम गर्ने कार्य गर्दै आइरहेको छ। तर तृणमूल कंग्रेसकै सत्ता रहेको समतलका दोमकल, पुजाली अनि रायगञ्जमा आज मतदानको समय कस्तो हिंसा भयो, बमबाजी भयो, यो सम्पूर्ण देशकै मानिसहरुले विभिन्न सञ्चार माध्यमबाट देखे।

यदि दार्जीलिङ पहाड़मा पनि तृणमूल कंग्रेसकै सत्ता आए पहाड़ पनि आगामी दिनमा अशान्ति बन्ने भयले पनि आज दार्जीलिङ पहाड़का चारैवटा नगरपालिका क्षेत्रका जनताले गोजमुमोको पक्षमानै मतदान गरेका छन् अनि पहाड़का 84 वटै वार्डमा गोजमुमोका प्रार्थीको विजय हुनेछ र यी चारैवटा नगरपालिकामा पुनः गोजमुमोकोनै बोर्ड गठन हुनेछ। स्मरण गराइन्छ, आज दार्जीलिङ पहाड़का चारवटा नगरपालिकासँगै समतलका 3 वटा गरेर राज्यमा 7 वटा नगरपालिकाको चुनाउ भएको थियो।

यसैबीच, गिरीले पहाड़का चारैवटा नगरपालिका क्षेत्रका मतदाताहरुलाई यस चुनाउमा सहभागिता जनाएका धन्यवाद दिंदै यस चुनाउलाई शान्तिपूर्ण बनाइदिएकोमा पुलिस प्रशासनलाई पनि धन्यवाद छ भने। उनले भने-तृणमूल कंग्रेस जहाँ छ, त्यहाँ अशान्ति हुन्छ भन्ने पहाड़का जनताले बुझेका छन् अनि यस चुनाउमा गोजमुमोको पक्षमा मतदान गरेर दार्जीलिङलाई यस्तै शान्ति राख्न चाहने जनतालाई पार्टीको तर्फबाट धेरै-धेरै धन्यवाद छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन