24-25 जुलाई अर्थात चौकबजारमा श्रमिक

दार्जीलिङ, 7 जुलाई।


चियाश्रमिकहरूका लागि न्यूनत्तम रोजी ऐन लागू गर्नुपर्ने मूल माग लिएर आगामी 24 र 25 मईका दिन गोजमुमोबाहेक पहाडका अन्य सबै राजनैतिक पार्टीहरूका श्रमिक संगठनका केन्द्रिय नेतृत्वहरूले यहाँको चौकबजारमा धरना प्रदर्शन गर्ने निर्णय लिएका छन्।

यसै माग लिएर 23 देखि 25 जुलाईसम्म तराई र डुवर्सका चियाबगानहरूमा बन्द पालन गरिने भएको छ भने 25 जुलाईको दिन आम हड्ताल गर्ने पनि जोइण्ट फोरमले निर्णय लिइसकेको छ। यद्यपि, जोइण्ट फोरमले पहाडका चियाबगानहरूमा बन्द नगर्ने साथै यहाँ आम हड्तालमा पनि छूट दिएको छ।

यसै विषय लिएर जोइण्ट फोरमसित जडित दार्जीलिङ पहाडका श्रमिक संगठनहरूले आज यहाँ एक सभाको आयोजना गरे, जसमा गोजमुमोको श्रमिक संगठनले भाग लिएन। गोरामुमो, क्रामाकपा, गोर्खालीग, जाप, कंग्रेस र माकपाका श्रमिक नेताहरू सामेल रहेको यस सभाबीचै आगामी 16 जुलाईको दिन दार्जीलिङमा चियाश्रमिकहरूका विविध समस्या वा माग विषय लिएर एक संगोष्ठीको आयोजना गरिने पनि तय गरियो।

यसका साथै आज पहाडका 6 वटा श्रमिक संगठनहरूलाई लिएर जोइण्ट फोरम हिल सब्-कमिटीको पनि गठन गरियो, जसमा संयोजक जेबी तामाङ र प्रवक्ता सुनिल राईलाई चयन गरियो। विशेष हाल जोइण्ट फोरमद्वारा चलिरहेको गेटसभा सम्बन्धमा जोइण्ट फोरमका घटक दलहरूले अलग-अलगनै प्रेस बयान जारी गरिरहेको विषयलाई रोक्न वा जोइण्ट फोरमको एउटै बयान हुनपर्छ भन्ने विषयका साथै अन्य कतिपय समस्यालाई लिएरनै हिल सब्-कमिटीको गठन गरिएको जोइण्ट फोरम नेता समन पाठकले बताए।

जोइण्ट फोरमको यस सभापछि पत्रकारहरूलाई सम्बोधन गर्दै जोइण्ट फोरम हिल सब्-कमिटीका संयोजक जेबी तामाङले गोजमुमोको श्रमिक संगठन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियनलाई पनि जोइण्ट फोरममा सक्रियतासित अंशग्रहण गर्ने अपील गरे। उनले भने-हाल गोजमुमोको श्रमिक संगठनका नेताहरूको मत वा बयान चियाबगान मालिकवर्गको पक्षतिर देखिन्दैछ। यसैले गोजमुमोको श्रमिक संगठनले चियाबगान मालिकहरूको हितमा होइन, चियाश्रमिकहरूको हितमा बोलेको उचित हुनेछ।

यसबाहेक जोइण्ट फोरम हिल सब्-कमिटीले न्यूनत्तम रोजी ऐन लागू गर्नुपर्ने, पर्जा-पट्टा, राशिनका साथै बन्द चियाबगानहरू खोल्नुपर्ने विषयलाई लिएर आगामी 9 जुलाई खरसाङका सह-श्रमायुक्त र 10 जुलाई दार्जीलिङका सह-श्रमायुक्त कार्यालय घेराउ अनि ज्ञापन दिने, 16 जुलाई दार्जीलिङमा एक संगोष्टीको आयोजना गरिने र 17 जुलाईको दिन उत्तरकन्यामा हुने त्रिपक्षीय वार्ताको परिणामपछि भावी आन्दोलनको रूपरेखा तय गर्ने पनि फोरमले निर्णय लिएको छ।

यति मात्रै होइन, फोरमको हिल सब्-कमिटीले 23 देखि 25 जुलाईसम्म पहाडका चियाबगानहरूबाट पक्का चिया बाहिर लान नदिने पनि निर्णय लिएको छ साथै गत 2 जुलाईदेखि भएको गेटसभालाई बाधा दिइएका चियाबगानहरूमा 11 जुलाईदेखि पुनः जोइण्ट फोरमका केन्द्रिय नेताहरूको उपस्थितिमा गर्ने पनि आजको सभाले निर्णय लिएको छ। आजको यस सभामा जेबी तामाङ, केबी सुब्बा, सुनिल राई, दावा नर्बुला, अमर लामा, लक्ष्मण प्रधानलगायत अन्य सामेल थिए।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares