जाति विरोधी काम गरेर विनय तामाङलाई जनताको मन जित्छु भन्ने कन्फिडेन्ट कहाँबाट आउँछ होला?

आलोचना

पुरण छेत्री


गोजमुमो अध्यक्ष बिमल गुरूङको साझा मञ्चको प्रस्तावलाई कटाक्ष गर्दै विनय तामाङले बिगतका सम्पूर्ण गल्तीहरू बिमल गुरूङमाथि थोपेर आफू पानीमाथिको ओभानो हुन खोजे पछि केही लेख्न करै लाग्यो।

विनयले प्रयोग गरेको, ‘सत्ता खोसिए पछि…….’ भन्ने वाक्यांशले उनको धुर्तताको पोल स्वात्तै खोलिदियो। जनतालाई रूञ्चे अनुहार लगाएर ‘मैले यो चौकी बाध्यतावस् पार्टी र जातिको लागि समाउन परेको हो’  भनेर हामीलाई छक्याएका रहेछन्। उनले त बिमल गुरूङको चौकी खोसेका रहेछन् भन्ने शङ्कालाई उनी आफैले प्रमाणित गरे।

विनय तामाङले जनतालाई लथालिङ्ग पारेर भागेका आरोप कति सजिलोसँग बिमललाई मात्र लगाएका छन्। १०४ दिनको आन्दोलनले ममता सरकार हल्लिसकेका थिए। ‘आउ टेबलमा कुरा गरौं’  भन्नेसम्म पुगिसकेका र कुरा पनि हुँदैगर्दा,  ममतासँग अन्दरूनी साँठगाँठ गरेर जनतालाई असमञ्जसको स्थितिमा पुर्‍याउने को हुन?

जनतासँग जनमत लिए  विनय तामाङको हार सुनिश्चित छ। राज्यले बिमलको आगमनमा रोक लगाउने वचन दिए पछि नै विनयले जीटीएको कुर्सी सुमसम्याएको बच्चा धरिलाई थाहा छ। बिमल आउने सुँइको पाएरै हुन सक्छ विनय तामाङ फेरि मदन तामाङ हत्याकाण्डको कुरा गरिरहेका छन्।

यो काण्डमा त विनयको पनि नाम छ। यस हिसाबले ‘बरू गोर्खाल्याण्ड नहोस् तर बिमल पहाड चढनु हुँदैन’ भन्ने उनको रोगी मानसिकता छर्लङ्ग भयो। मदन तामाङको हत्या गोर्खाको इतिहासमा अपुरणीय क्षति हो। अब फेरि बिमलको हत्या हुने कोशिश हुँदैछ। राजनीति स्वच्छ हुनुपर्छ हत्या, हिंसा र उच्छेदनको राजनीतिले आज जाति सङ्कटग्रस्त अवस्थामा उभिएको छ। विनयको  राजत्वमा बिमलको हत्या भए फेरि हाम्रो इतिहास धमिलिन्छ। हाम्रो इतिहास कायरताको स्याहिले लेखिनेछ।

 

कति खतरनाक छ

       छोरालाई पढाइरहनु

       टाउकोबिनाको कातर इतिहास

      

       कति खतरनाक छ

       हाम्रो निधारमा लागेको पुलिसको हरेक गोलीको दाम

       दुई लाख बोकेर सहिद गाउँ घर फर्किन्छ।

(विशाल राई/खतरनाक)

अचम्म लाग्दो कुरा के हो भने बिमल गुरुङले ‘साझा मञ्चको च्याप्टर क्लोज’ भन्दा विनय तामाङ बिमलकै अघिपछि थिए। विनय तामाङले जिएमसिसीमा खुट्टा हाल्न खोज्दा-खोज्दै निरज जिम्बाले उछिट्याएको हामी सबैले देखेकै हौँ। जम्माजम्मी एक साल भएको छैन तामाङले कुर्सी पाएको। एकैवर्षमा उनको दम्भ, घमण्ड र फुर्कैपन यति हुर्किएको देखियो, जो तामाङको असलियत पनि हो र पतनको सङ्केत पनि।

जोसित नेतृत्व क्षमता छैन र उ सरकारले मुद्दा दबाउन सिंहासनमा राखिएको पपेट हो भनेर यस्तै कामहरूबाट तामाङ आफैले साबित गरिरहेका छन्। जगजाहेर छ, विनय तामाङलाई ममता व्यानर्जीले प्रयोग गरेका हुन्। उनी आफ्नो क्षमताले, जनताले जिताएर पठाएका विओए होइनन्। मालिकले दोरी लगाएर नचाएपछि चुरीफुरी त बढ्ने नै हो पपेटको।

विनय तामाङले जातिलाई धोका दिएकै हुन्। स्पष्ट छ, जति दिन ममताको पुलिसले उनलाई सहयोग दिन्छ,  उनको राजनीति  त्यति दिन नै चल्छ। नत्र साझा मञ्च खडा गरोस्, गोर्खाल्याण्डको निम्ति आवाज उठावोस,  तामाङलाई किन आपत्ति?

आफैले गोर्खाल्याण्ड दिनु पर्ला जस्तो तामाङ किन अत्तालिएका?   किन केटा केटी जस्तो कुरा गरेका? सबैलाई थाहा छ, विनय तामाङको भिजन भनेको कुर्सी र पैसा हो। र त्यही नै उनको गोर्खाल्याण्ड पनि। गोर्खाल्याण्ड माग्नेलाई पुलिस लगाउनु, आमा र चेलीबेटी बलात्कार गर्छु भन्नेको पक्ष लिनु, बनबासीलाई उठिबास लाउनु, रोङ्गियाहरूको लागि आफ्नै दाज्यु-भाईलाई नचाँहिदो दुःख दिनु, शहिदहरूलाई श्रद्धाञ्जली नदिने फरमान जारी गर्नु, सरकारलाई भोटरलिस्टमा ‘गोर्खाको नाम नकाट’ भन्दा रिसाउनु, मिलेर गोर्खाल्याण्ड मागौं भन्दा अत्तालिनुले विनय तामाङ कत्ति सङ्कटमा छन्, त्यो स्पष्ट हुन्छ।

अचम्म लाग्छ, जाति बिरोधी काम गरेर उनलाई जनताको मन जित्छु भन्ने कन्फिडेन्ट कहाँबाट आउँछ होला?  जो गोर्खाल्याण्ड माग्न सक्दैनन्, अरूले माग्छन् भने किन रिसाउनु?

गोर्खाल्याण्ड माग्नेहरूकै रगत बेचेर लालकोठी छिरेका विनय तामाङ गोर्खाल्याण्डको शब्द उठ्नसाथ रिसाउनुले जनतालाई के सन्देस दिन्छ? जसले गोर्खाल्याण्ड माग्नेलाई गोली ठोक्यो, उसैको महिमामा जनतालाई ‘जय बङ्गाल’ भन्न लगाउनुले के साबित गर्छ?

विनय तामाङले जय बङ्गालको साटो जय सहिद भन्नु पर्थ्यो। तर विनय तामाङ त्यसो गर्न सक्दैनन्। किन भने उनी ममता व्यानर्जीको पपेट हुन्। विनय तामाङका जनसभाहरूले साबित गर्छ, पहाड शान्त छैन। शान्त हुनु हो भने जनसभामा त्यत्रो गाली अनिवार्य छैन। विनय तामाङ पनि शान्त छैनन्। उनलाई दिनोदिन डरले खान थालेको छ। उनको बोल्ने शैली, शब्द  जति पनि देखियो, सुनियो यी सबैको पछिल्तिर ठूलो प्रेसर छ। र त्यो प्रेसर जनतालाई पनि थाहा छ।

राज्ययसत्ता भनेकै यस्तो कुरा हो जसले बाघलाई कुकुर बनाइदिन्छ। तर राज्यसत्ताले बुझ्नुपर्छ-

 

ए…. राज्यसत्ता

       हाम्रो मुठ्ठीलाई आकार दिने

       हात अझ समर्पण गरेका छैनौं

       हाम्रो सपना बलिरहने

       एक जोड आँखाको आगो निभेको छैन

       पहाड हिँड्ने

       हाम्रो एक जोड खुट्टा थाकेको छैन

       युद्ध अझ बाँकी छ।

( विशाल राई /बाँकी छ)

विनय तामाङले आफैलाई अहिले महान ठान्न छोड्नुपर्छ। पुलिस खोसिएको दिन खोसेलाको पिरामा राखेर उनलाई राजनीति पढाउन सक्ने व्यक्तिहरू पनि छन् पहाडमा। गोर्खाल्याण्ड विनय तामाङको मुद्दा होइन, जसले माग्न सक्छ  उसैलाई छोडिदिए उत्तम हुन्छ। गोर्खाल्याण्ड भए विनय र उनको भावी सन्ततिको लागि पनि हुन्छ। आफूले गर्न नसके पनि गोर्खाल्याण्ड माग्ने दलहरूलाई भित्री रूपमा सहयोग गरेर तामाङलाई पाप पखाल्ने यो ठूलो मौका हो। उनले याद राख्नुपर्छ, सत्ताहिन भए पछि उनको चटक हेर्न कोही आउँने छैनन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares