विमल गुरुङले दिए विनय तामाङलाई जवाब : भने- ‘मलाई लगाएका आरोपहरू प्रमाणित गर, नत्र मानहानीको मुद्दा लगाउँछु’ (अडियोसहित)

कालेबुङ, 10 जुलाई।


जिटिए विओए विनय तामाङले विभिन्न जनसभामार्फत मोर्चा अध्यक्ष विमल गुरुङलाई विभिन्न गम्भीर आरोपहरू लगाउँदै आइरहेका छन्। विमल गुरुङले महिलामाथि शिरिरिक दुर्व्यवहार गरेको आरोप तामाङले लगाइरहेकाछन्। यसबाहेक एनएचपीसीबाट 30 करोड रुपियाँ लिएको, ठेकेदारहरूबाट 5 प्रतिशत कमिशन खाएको, सिन्कोना बगानको पैसा खाएको, विमल गुरुङले पोखरालगायत वभिन्न ठाउँमा बिल्डिङ होटल बनाएको र महङ्गा गाडीहरू किनेको विनय तामाङका आरोपहरू हुन्।

खरसाङ र कालेबुङको जनसभामा विनय तामाङले यी आरोपहरू दोहोऱ्याए। यी आरोपहरूबारे विमल गुरुङको प्रतिक्रिया अहिलेसम्म आएको थिएन तर खबरम्यागजिनलाई भोइज क्लिप उपलब्ध गराउँदै आज विमल गुरुङले आफ्नो स्पष्टिकरण मात्र दिएका छैनन्, विनय तामाङलाई कानूनी कार्वाही गर्ने घोषणा समेत गरेका छन्।

‘म जहाँ छु, जस्तो छु, त्यो मेरो कुरा हो। जनतालाई थाहा छ, म कसको कारण भूमिगत छु, यसबारे मैले केही बताउन पर्दैन,’ खबरम्यागजिनलाई पठाएको भोइज क्लिपमा गुरुङले भनेका छन्, ‘ममाथि अहिलेसम्म जेजति आरोपहरू लगाएका छन्, त्यसलाई विनय तामाङले प्रमाणित नगरे म उनी विरुद्ध मानहानीको मुद्दा लगाउने छु।’

गुरुङले आफूमाथि लगाएका जम्मै आरोप आधारहिन रहेको बताउँदै स्पष्टरूपले भनेका छन्, ‘जिटिएमा बस्ने मानिसले यति तल झरेर जुन जुन आरोप लगाउँदैछ, ती सबै आधारहिन कुरा हुन्। विनय तामाङले जनतासामु माफ माग्नुपर्छ। माफ मागेन भने म उनलाई न्यायालयमा घिस्याउनेछु।’

विनय तामाङलाई डरले यति तल्लोस्तरमा झारेको भन्दै गुरुङले भनेका छन्, ‘विनय तामाङलाई म फर्किने डरले सताउन थालेको छ। दिनोदिन आफूहरू जोखिममा पर्दै गएपछि मलाई बद्नाम गरेर राजनैतिक गोटी सेक्ने तल्लोस्तरको राजनीति गरिरहेका छन्। मैले केही भन्नुपर्दैन, जनता सचेत छन्, उनको चलखेल सबैले बुझिरहेकै छन्।’

विनय तामाङले जाति र मुद्दालाई बेचेको अनि आफू अहिलेसम्म जाति र मुद्दाको निम्ति लडिरहेको देखेर भयभित रहेको भन्दै विनय तामाङ जतिनै तल्लोस्तरमा झरे पनि आफूले पर्वाह नगर्ने बताएका छन्। ‘विनय तामाङले गर्ने भनेकै त्यति नै हो। विनय तामाङको क्षमता त्यति नै हो। मलाई त उनको भाषण सुनेर घिन लाग्यो, लाज लाग्यो। कालेबुङजस्तो बौद्धिक, सभ्य मानिस भएको ठाउँमा उनले यस्तो बोल्नु भनेको जिटिएको लागि अभिशाप हो। यस्तो मानिसको पछि हिँडेर मेरो जनताले केही पाउँदैनन्, म चिन्तित छु।’

विनय तामाङले कालेबुङमा 30 लाखको स्टेज बनाएर विकास योजनाको कुरा नगरेको पनि उनले बताएका छन्। ‘यत्रो पैसा मलाई आधारहिन आरोप लगाउन र गाली गर्न खर्चिए। यसबाट को चोर रहेछन्, त्यो साबित हुन्छ। मलाई गाली गर्न यत्रो पैसा विनय तामाङलाई कसले दिँदैछ? किन दिँदैछ? जनताले बुझ्छन्,’ गुरुङले भनेका छन्, ‘विनय तामाङको यो घिन लाग्दो राजनीतिको जवाब कालेबुङको जनताले हिजै दिइसकेका छन्। मलाई बदनाम गर्ने जुन काम गरे त्यो बङ्गालले सिकाएको कुरा हो। म कानूनी कार्वाही गर्छु। म हार्नेवाला छैन। जति नै लाञ्छना लगाओस् म पर्वाह गर्दिन। जातिको लागि जन्मिएँ, जातिकै लागि मर्छु।’

यता छिररिङ दाहालले जुन बम बोकेर दिल्ली जाने भाषण गरिन्, त्यसबारे पनि गुरुङले प्रतिक्रिया गरेका छन्। ‘दार्जीलिङमा अहिलेसम्म जति बम पड्कियो, त्यो यिनीहरूले नै पड्काएका रहेछन् भन्ने पनि प्रमाण हो यो भाषण। देशको प्रधानमन्त्रीलाई बमले उडाउँछु भन्नुले यही कुरा इङ्गित गर्छ।’

अर्कोतिर विमल गुरुङ, रोशन गिरीहरूको नाम भोटरलिष्टबाट काटेकोमा आवाज उठाइदिने सबै दललाई उनले आभार पनि प्रकट गरेका छन्। ‘विमल गुरुङ, रोशन गिरी नभनेर, पार्टी नहेरेर जाति र गोर्खालाई हेरेर उनीहरूले जुन विरोध गरिदिए त्यसको लागि म आभार व्यक्त गर्दछु।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares