घेरिन थाले विनय तामाङ :  मैले 15 लाख मागेको तीनदिनमा प्रमाणित नगरे मानहानीको मुद्दा लगाउँछु : लीलाकुमार गुरुङ

कालेबुङ, 10 जुलाई


गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरुङले पनि जिटिए विओए विनय तामाङलाई मानहानीको मुद्दा लगाउने भएका छन्। अर्कोतिर हिमालयन फरेस्ट भिलेजर्स अर्गनाइजेशनका सचिव लीलाकुमार गुरुङले पनि विनय तामाङलाई मानहानीको मुद्दा लगाउने भएका छन्।

विनय तामाङले धेरै आक्रोस व्यक्त गर्दै लीलाकुमार गुरुङले आफूलाई बसन्त तामाङमार्फत 15 लाख रुपियाँ मागेको आरोप लगाएका थिए। यसको प्रत्युत्तर दिँदै लीलाकुमार गुरुङले भने, ‘विनय तामाङले मैले 15 लाख रुपियाँ मागेको तीनदिनभित्रमा प्रमाणित नगरे म मानहानीको मुद्दा लगाउन बाध्य हुनेछु। यो नितान्तै आधारहिन आरोप हो। कि त उनले मैले ‘झुट बोलें’ भनेर माफी मागुन्। यो केवल लीला गुरुङलाई लगाइएको आक्षेप होइन, यो त सारा बनबस्तीबासीलाई लगाएको हो। विनय तामाङ किन निरन्तर गलत बाटो हिँडिरहेका छन्, उनलाई त्यस्तो के बाध्यता छ, मलाई अचम्म लागेको छ।’

दुःख निवारक सम्मेलनमा अर्गनाइजेशनका दार्जीलिङ, खरसाङ, मिरिक, कालेबुङ र तराई डुवर्सका कार्यकर्ताहरूले पत्रकार सम्मेलन गरे। यसैलाई सम्बोधन गर्दै गुरुङले तामाङलाई मानहानीको मुद्दा लगाउने घोषणा गरेका हुन्।

‘विनय तामाङलाई बनाधिकार ऐनबारे नै थाहा छैन। उनी पञ्चायत र ग्रामसभालाई एकै ठाउँ मुछ्दैछन्। जब कि ग्रामसभासित पञ्चायतको कुनै सम्बन्ध नै छैन,’ चिफ कन्भेनर (कालेबुङ जिल्ला कमिटी) शरण राईले पनि भने, ‘यदि पञ्चायत नभएकोले बनबस्तीबासीले पर्जापट्टा नपाएको हो भने विनय तामाङले पञ्चायत चुनाउ गराउन् र बनबस्तीबासीलाई पर्जापट्टा दिलाउन्। गाली गरेर मात्र ठूलो मानिस बनिँदैन भन्ने कुरा उनलाई थाहा हुनुपर्छ। नत्र उल्टापाल्टा कुरा गरेर जनताको नजरमा एकछिन हिरो बन्ने उनको स्टन्टले उनैलाई हानी पुऱ्याउनेछ। विनय तामाङले विषयबारे ज्ञान लिउन् र बोलुन्।’

कोर कमिटी संयोजक बबित गुरुङले पनि भने, ‘विनय तामाङले लीलाकुमार गुरुङलाई तार्गेट गर्दैछन् तर अर्गनाइजेशन लीलाकुमार गुरुङको मात्र होइन। अर्गनाइजेशनमा हजारौं लीला गुरुङहरू छन्। जुन भाषामा गुरुङमाथि आरोप लगाए त्यसले समग्र  बनबासीलाई चोट पुगेको छ।’

खरसाङका राजकुमार रिजालले त विनय तामाङलाई आफ्नो क्षमतासमेत थाहा नभएको भन्दै आश्चर्य प्रकट गरे। ‘केन्द्र सरकारले हामीलाई जमिनको मालिकाना हक दिइसकेको छ। विनय तामाङले त त्यो हक दिलाउन राज्य सरकारसित कुरा गर्न सक्छन्। ग्याजेट नोटिफिकेशन निकाल्न सक्छन्,’ उनले भने, ‘प्रक्रिया अनुसार बनबस्तीबासीलाई मालिकाना हक दिलाउन सक्छन् तर उनी त बनबस्तीबासीको अधिकारको लडाईँमा नै बाधा गर्दैछन्। उनी कसको जनप्रतिनिधि, कस्तो जनप्रतिनिधि?’

फुर्वा छिरिङ शेर्पा, निरकुमार मगर, निमा शेर्पाले जिटिएलाई बारम्बार बनबस्तीबासीको समस्याबारे बुझाउँदा बुझाउँदै पनि नबुझेर उल्टो अधिकार मिच्ने काम गरिरहेको आरोप लगाए। ‘हामीले त 168 वटा बनबस्तीको सूची दिइसकेका छौँ। सरकारी सूचीमा 19 वटा बनबस्ती छैन रे, ठिक छ, तर लिस्टमा गाभ्ने काम चाँही किन नगरेका त?,’ उनीहरूले भने, ‘2006 को बनाधिकार ऐन विनय तामाङले जान्नेलाई पढ्न लगाएर भए पनि बुझुन्, बनबस्तीबासीहरू कसरी ऐनअनुसार स्वतस्फुर्त बनबस्तीबासी भएका छन्, थाहा पाउने छन्।’

अर्गनाइजेशनका अध्यक्ष पासाङ छिरिङ शेर्पाले लीला कुमार गुरुङलाई जिटिएले तार्गेट गर्नु दुर्भाग्यको कुरा बताए। ‘यति शिक्षित विनय तामाङले यहाँसम्म झरेर आरोप नलगाउनुपर्ने थियो,’ उनले भने, ‘उनलाई याद हुनुपर्छ बनबस्तीबासीको मुद्दा जति दबाउन खोज्यो उती नै उनलाई हानी हुनेछ।’

यता लीलाकुमार गुरुङलाई उनलाई प्रताडना दिन उनको स्कूलबाट उनलाई जिटिएले सरुवा गर्छ भन्ने चलिरहेको हल्लाबारे प्रश्न गर्दा भने, ‘अहिलेसम्म त मैले पनि हल्ला नै सुनिरहेको छु। जुन नियत विनय तामाङहरूको छ, यसो गर्न बेर छैन। गऱ्यो भने उनीहरूको चरित्र जनतामा उदाङ्गो बन्नेछ।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares