विनयले स्वीकारे विमलको च्यालेञ्जः भने- मलाई मानहानीको मुद्दा लगाउ, फेस टु फेस भेटौं, म कोर्टमा नै विमलका सारा काला कर्तुतको प्रमाण पेस गर्नेछु

कालेबुङ, 10 जुलाई


गोर्खा जनमुक्ति मोर्चाका भूमिगत अध्यक्ष विमल गुरुङको च्यालेञ्ज जिटिए बिओए विनय तामाङले स्वीकारेका छन्। जनसभाहरूमा विनय तामाङले विमल गुरुङले केही चेलीहरूमाथि अश्लिल दुर्व्यवहार गरेको गम्भीर आरोप लगाएका थिए। उनले गुरुङले एनएचपीसीबाट 30 करोड लिएकोलगायत अन्य धेरै आरोपहरू लगाएका छन्।

खबरम्यागजिनलाई पठाएको भोइजक्लिपमा विमल गुरुङले सबै आरोपहरू आधारहिन रहेको भन्दै विनय तामाङले माफ माग्नुपर्ने अनि माफ नमागे मानहानीको मुद्दा लगाउने घोषणा गरेका थिए। यसको जवाबमा बिओए विनय तामाङले भने, ‘विमल गुरुङको च्यालेञ्ज स्वीकार छ। विमल गुरुङले ममाथि मानहानीको मुद्दा लगाउन्। तर दिल्ली र काठमाडौंमा लुकेर होइन। मेरो शर्त छ, मुद्दा लगाएर पछि विमल गुरुङ न्यायालयमा उपस्थित हुनुपर्छ। लुकेर मुद्दा नलगाउन्। आमुनेसामुने बसौं। मैले लगाएका सारा आरोपहरूको प्रमाण म न्यायालयमा नै पेस गर्नेछु।’

तामाङले गुरुङमाथि आफूले लगाएका कुनै पनि आरोप आधारहिन नरहेको पनि बताएका छन्। ‘तीनजना पीडित चेलीहरूले मलाई विमलको कर्तुत सबै बताइसकेका छन्,’ तामाङले खबरम्यागजिनसित भने, ‘म विमललाई यस आरोपमा मुद्दा नै लगाउने तयारी गरिरहेको छु। म उनलाई मुद्दा लगाउने छु नै। विमल गुरुङले पनि मलाई हामहानीको मुद्दा लगाउन्, तब दुधको दुध पानीको पानी हुनेछ।’

तामाङले गुरुङविरुद्ध आफूसित पर्याप्त प्रमाण रहेको पनि खबरम्यागजिनसित दोहोऱ्याएका छन्। तर उनले स्पष्ट भनेका छन्, ‘गुरुङ न्यायालयमा वयान दिन र वयान सुन्न उपस्थित हुनुपर्ने मेरो शर्त छ। वकिल लगाएर काफरे शैलीमा मुद्दा नलगाउन्। दम छ भने न्यायालयमा उपस्थिति दिउन्। म उनैको सामुन्ने उनका सारा काला कर्तुतका प्रमाण न्यायालयमा पेस गर्नेछु।’

विमल गुरुङविरुद्ध सीआईडीमा अघिबाट नै भ्रष्टाचारको मुद्दा रहेको बताउँदै तामाङले भने, ‘सुप्रिम कोर्टमा नै मुद्दा हाले पनि स्वीकार्य छ। उनले गरेको भ्रष्टाचारको कालो पोको म न्यायालयमा नै खोल्नेछु। हेरौं कसकोमा कति दम रहेछ। अब विमल गुरुङले मलाई मानहानीको मुद्दा हाल्छ भन्ने कुरामा म विश्वस्त छु। अब सुप्रिम कोर्टमा फेस टु फेस भेटौंला।’

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares