श्रमिकहरूले गरे सह-श्रमायुक्त कार्यालय घेराउ : फोरमले भन्यो-‘गोजमुमोको श्रमिक सङ्गठन पनि सहभागी होस्’ : मोर्चा  श्रमिक सङ्गठनले भन्यो-‘पहाडमा बन्द स्वीकार्दैनौं’

दार्जीलिङ, 9 जुलाई।


6 वटा श्रमिक सङ्गठनले दार्जीलिङमा जुलूस निकाल्यो। न्यूनत्तम रोजी ऐन, राशिन, बन्द चियाबगान खोल्नुपर्ने अनि पर्जा-पट्टा दिनुपर्ने भन्दै श्रमिकहरूले सह-श्रमायुक्त कार्यालय घेराउ गरे।

उनीहरूले हिजो खरसाङका सह-श्रमायुक्तलाई ज्ञापन दिएलगत्तै आज दार्जीलिङका सह-श्रमायुक्त कार्यालय घेराउ गरेर ऐजन मागमा ज्ञापन दिएका हुन्। जुलुस र त्रापनपछि उनीहरूले पत्रकारहरूलाई सम्बोधन गरे।  ‘चियाश्रमिकहरूका विविध अधिकारको लागि हाल जोइण्ट फोरमले सम्पूर्ण उत्तर बङ्गालभरिकै चियाबगानमा आन्दोलन गरिरहेको छ। यसैअनुसार, जोइण्ट फोरम हिल सब्-कमिटीले पनि आफ्नो सुविधाअनुसार, पहाडमा आन्दोलन गरिरहेको हो,’ जोइन्ट फोरम हिल सब्-कमिटीका प्रवक्ता सुनिल राईले पत्रकारहरूसित कुराकानी गर्दै भने, ‘यसमा पहाडका 6 वटा श्रमिक सङ्गठनहरू छन्। तर यसमा गोजमुमोको श्रमिक सङ्गठनले अहिलेसम्म पनि भाग लिएको छैन। यसैले गोजमुमोको श्रमिक सङ्गठनलाई चियाश्रमिकहरूको हितको लागि भइरहेको यस आन्दोलनमा सहभागी बनिदिने हामी अपील गर्छौं।

यता गोजमुमोको श्रमिक सङ्गठन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियनका महासचिव भरत ठकुरीले डीटीडीपीएलयू अहिले पनि जोइण्ट फोरमकै एउटा हिस्सा रहेपनि यसले लिएको कतिपय कार्यक्रममा सहमति नभएको कारण सङ्गठन केही अलग भएको बताए।

‘गत वर्षको पहाड बन्दपछि दार्जीलिङ पहाड बल्ल सामान्य बनिरहेको छ, यसैमाथि पुनः बन्दको कार्यक्रमको घोषणा गरिएको कारणनै हामीले यस कार्यक्रमलाई साथ नदिएका हौं,’ उनले भने।  यसका साथै उनले गोरामुमोका कतिपय नेताहरूले आफूहरूमाथि व्यक्तिगतरूपमा मौखिक आक्रमण गर्न थालेको बताउँदै यसप्रकारको बयानबाजी रोक्नुपर्ने अपील गरे।

यसैबीच, जोइण्ट फोरमले एक पर्चा जारी गरेको छ। जहाँ लेखिएको छ-रूझ्दै-भिझ्दै दिनरात चियाकमानमा परिश्रम गरी विश्‍व प्रसिद्ध चिया उत्पादन गर्ने श्रमिकहरूको अवस्था दिन-प्रतिदिन जीर्ण हुँदै जाँदैछ। विश्‍व बजारमा चियाको मूल्य र चियाको उत्पादनमा जतिनै वृद्धि भए पनि चियापत्ती टिप्ने साधारण श्रमिकहरूले त्यसको सोझो लाभ कहिले पाउँदैनन् अनि पाएका छैनन्। श्रमिकहरूले त जीवन धान्न सक्नेसम्म रोज पनि पाउँदैनन्। केवल 132.50 (हाल 150 रूपियाँ) रूपियाँ दैनिक हाजिराले जीवन गुजारा गर्नुपर्ने बाध्यतामा बाँचिरहेछन्। विगत फरवरी 2016-देखि रोजको अंशको रूपमा पाउने कमानको राशिन खोसियो, अहिले कमानमा पाउने राशिन श्रमिकहरूले खाद्य सुरक्षा अधिनियम (एनएफएसए-2016) अनुसार पाउँदैनन्। कमानको राशिनको दैनिक हिसाबले एकजना श्रमिकको महीनामा 660 रूपियाँ हुन्छ। चियाबगान मालिकले न त राशिन दिन्छ, न त यो राशीनै दिन्छ। पुस्तौंदेखि रगत पसिनाले यस भूमिलाई सिञ्चित गरी चियाको निम्ति उर्वर भूमि तयार पार्ने श्रमिकहरूको न त आफ्नो जमीन छ, न आफ्नो घरै छ। यो कमानको जग्गा र घर दुवै कम्पनीको हो। अल्कामिस्ट, डङ्कन्सलगायत कतिपय कमानका मालिकहरूले चियाकमानहरू अचल राखेका छन्। न चलाउँछन्, न छोड़्छन्। श्रमिकहरूका करोडौं रूपियाँ पचाएर निर्धक्क घुमिरहेका छन्। सरकार श्रमिकहरूको पक्षमा भन्दा बड़ी मालिकको पक्षमा ढाल भएर उभिदिन्छ। गत 20 फरवरी 2015-मा सरकारले त्रिपक्षीय चुक्ति गरी निम्नतम ज्याला 6 महीनाभित्र लागू गर्ने घोषणा गरेको थियो, तर आजसम्म त्यो वास्तविक हुन सकेको छैन। निम्नतम रोज अधिनियम 1948-अनुसार निम्नतम रोज, राशिनको हक, जमीनको अधिकार र बन्द कमानहरू खोल्ने मागहरू लिएर अहिले सम्पूर्ण उत्तर बंगालका साढे चार लाख श्रमिकहरू आन्दोलनरत छन्। चियाश्रमिकहरू पनि समाजका अभिन्न अङ्ग हुन्। उनीहरू बजारको अर्थनीतिमा सक्रिय सहभागी छन्। त्यसैले यो आन्दोलन केवल चियाश्रमिकहरूको मात्र होइन। समाजका प्रत्येक वर्गको मानिसहरूको आन्दोलन हो।

फोरमले श्रमिकहरूको यस आन्दोलनलाई टेवा दिन अघि आइदिने पनि अपील गरेको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares