दुई महिनाभित्र लिम्बू तामाङलाई सीट

गान्तोक, 11 जुलाई


सत्तारूढ़ सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले दुई महिनाभित्र लिम्बू तामाङको सीट आरक्षण हुने आशा व्यक्त गरेको छ। एसडीएफ प्रवक्ता भीम दाहालले लिम्बू तामाङको सीट आरक्षणबारे सकारात्मक सोच लिएर काम गर्ने पार्टी केवल एसडीएफ रहेको दाबी गर्दै विपक्षीहरूले यस्तो सोच राख्न नसक्ने र ल्याउन पनि नसक्ने भनिरहेका छन्।

‘यदि यो सीट आरक्षणको विषय केन्द्रिय सूचीमा नभएर राज्य सूचीमा हुँदो हो त 2003 मै लिम्बू तामाङको सीट आरक्षण हुने​ थियो,’ दाहालले भने।  एसडीएफ सरकारले लिम्बू र तामाङ समुदायलाई पाँच सीट प्रदान गरेको र उनीहरूलाई मन्त्री समेत बनाएको उनले अवगत गराए।

जैविक अभियानबारे राखिएको प्रश्नको जवाफमा प्रवक्ता दाहालले सिक्किम धेरै उत्पादनहरूमा आत्मनिर्भर बन्ने लक्षण देखिएको बताए। विपक्षीहरूले जैविक अभियान सफल भएन भनी लगाइरहेको आरोप निरर्थक रहेको बताउॅंदै उनले ती आरोपहरू खारेज गरे।

उनले यो अभियान सफल रहेको र यो अभियान नयाँ आय अनि नयाँ निर्यातको साधन बन्ने देखिएको दाबी गरे। नवगठित राजनैतिक दल हाम्रो सिक्किम पार्टीतिर इशारा गर्दै प्रवक्ता दाहालले भने, ‘भर्खरै स्थापित भएको पार्टीको भाका र लय हेर्दा कुनै सृजनशीलता र जनताप्रति दायित्वशील छ जस्तो छैन।’

विपक्षीहरूले केवल मनगढन्त आरोपहरू मात्र लगाउने गरेको र यसमा कुनै सत्यता नरहेको उनले ठहर गरे। भाइचुङ भोटियाले एसडीएफ सरकारमा कृषि उत्पादन 60 प्रतिशत घटेको बयान दिएको जवाफमा भने, ‘उत्पादन 60 प्रतिशत घटेको छैन तर बढेको छ।  भोटियाको तथ्याङ्कको पृष्ठभूमि कहाँ हो?’

राज्यका शेर्पा समुदायको मागबारे प्रश्न राख्दा उनले भने, ‘रेभेन्यू अर्डर नम्बर वानले शेर्पा समुदायलाई कभर गर्दैन। यो पुरानो कानून भएकोले यसलाई अदल—बदल गर्ने शक्ति सिक्किम सरकारसित छैन। यो संसदले मात्र गर्न सक्छ। उनीहरू के आधारमा आक्रोसित हुँदैछन्!’

उनले ग्याजेटर अफ सिक्किम एउटा इतिहास पुस्तक मात्र रहेको पनि बताए। यसरी नै प्रवक्ता दाहालले राज्यका अनुसूचित जाति समुदायलाई प्रदान गरिएको आरक्षण राज्य सरकारको सामाजिक न्यायको पहल एवं न्यायसङ्गत रहेको बताए।

अन्य एक प्रश्नको जवाफमा सामाजिक सञ्जाल प्रभारी, दक्षिण जिल्ला अभिनाश याखाले केही दिन अघि गान्तोकमा जैविक साग सब्जीको मूल्यबारे टाँसिएको पोस्टर च्यातिदिएको विषयमा बोल्दै पोस्टर च्यात्नेहरू विरूद्ध कारवाही हुनुपर्ने बताए। उनले यसमा सम्बन्धित विभागको लापरवाही देखिएको बताए।

मूल्यलाई लिएर गान्तोकमा भएको विरोधमा कृषकहरूको नाममा विपक्षीहरूले आफ्नो दुनो सोझ्याउने काम गरेको आशय व्यक्त गरे। यस अघि एसडीएफ प्रचार प्रसार महासचिव कविता सुब्बाले एसडीएफ सरकारमा भएका विभिन्न कार्यहरूको जानकारी दिइन्।

उनले कुनै राजनैतिक दलको नाम नलिई विपक्षीहरूले एसडीएफ नारीहरूको निम्ति अभिषाप हो भन्ने बयान दिएकोमा खेद प्रकट गरिन्। उनले सिक्किममा नारीहरूले न्याय र सम्मान पाएको बताइन्। यस्तो शब्द बोल्नु अघि विपक्षीहरूले पहिला अभिषाप र वरदानको अर्थ बुझ्नु आवश्यक रहेको बताउॅंदै उनले उक्त आरोप प्रमाणित गर्नुपर्ने माग राखिन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares